भारतबाट आयात बढ्दा पनि वितरण प्रभावकारी नभएको गुनासो आएपछि आयल निगमले क्षेत्रीय डिपोहरुबाट काठमाडौंमा पेट्रोल र डिजेलको आपूर्ति बढाउन लागेको हो । यसका लागि निगमले बिराटनगर, भैरहवा र नेपालगञ्ज डिपोलाई कोटा नै ताक्ने तयारी गरेको छ ।

आयल निगमका अनुसार काठमाडौंमा समान्य अवस्थामा ४ लाख लिटर पेट्रोलको माछ । तर, अहिले अभावका कारण माग उच्च छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार गरेको कार्यक्रममा आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले क्षेत्रीय डिपोहरुले काठमाडौंको थानकोट डिपोलाई दिनुपर्ने तेलको कोटा नै तोकेको जानकारी दिए ।

अब बिराटनगर डिपोले दैनिक रुपमा १ लाख र भैरहवाको भलबारी डिपोले १ लाख ५० हजार लिटर पेट्रोल काठमाडौं पठाउन भनिएको छ ।

यसैगरी नेपालगञ्ज डिपोलाई दैनिक ५० हजार लिटर पेट्रोल काठमाडौं पठाउन परिपत्र गरिएको प्रवक्ता घिमिरेले बताए । ‘यसअघि आयात भएकोमध्ये ६० प्रतिशत पेट्रोल काठमाडौं पठाउन भनिएको थियो । अब भने कोटा नै तोकिदिएका छौं’ प्रवक्ता घिमिरेले भने-‘काठमाडौंमा दैनक ३ लाख लिटर पेट्रोल आयो भने निजी सवारीलाई पेट्रोल दिन सहज हुनेछ ।’

काठमाडौंमा तेलको मौज्दात कति ?

अहिले निजी सवारीले ६० दिनमा एकपटक तेल भर्न पाएको बताउँदै घिमिरेले आपूर्ति बढाउन सकिए सकेसम्म छोटो अवधिमै वितरण गर्न सकिने बताए ।

थानकोट डिपोमा अहिले १५ लाख ७१ हजार लिटर पेट्रोल र २७ लाख २२ हजार लिटर डिजेल मौज्दात छ । काठमाडौंमा निगमको डिपोमा २६ लाख लिटर हवाइ इन्धन पनि स्टक छ ।

आयल निगमले काठमाडौंमा डिजेलको आपूर्ति बढाउन दैनिक ५ लाख लिटर डिजेल पठाउन मातहतका तीनवटा डिपोलाई निर्देशन दिएको छ । प्रवक्ता घिमिरेका अनुसार अब बिराटनगरबाट ३ लाख, भैरहवाबाट २ लाख र नेपालगञ्जबाट दैनिक ५० हजार लिटर डिजेल ल्याउने व्यवस्था मिलाउन लासिगएको छ ।

आयल निगमका प्रवक्ता घिमिरेले भने-‘अब डिपोहरुले आफुले तेल ल्याउने भारतीय आयल कर्पोरेशनको डिपोहरुमा पहल गर्नेछन् । त्यसका लागि डिपोहरुलाई थप अधिकार पनि दिइएको छ ।’