लगभग पाँच महिनाको काराबासपछि ०४६ को दशैंअघि नै म रिहाइ भएर बाहिर आउँदा भारतले लगाएको नाकाबन्दी हटेको थिएन । त्यसबेला विद्यार्थी संगठनहरूको क्यालेन्डरमा आन्दोलनबाहेक अरू कुरा केही हुँदैनथ्यो । आन्दोलन गर्ने, जेल पर्ने, छुट्ने, फेरि आन्दोलन गर्ने यही क्रम दोहोरिरहन्थ्यो । आन्दोलनका पनि अनेक रूप हुन्थे । त्यसमध्ये संयुक्त आन्दोलन एउटा प्रभावकारी आन्दोलनको रूप थियो । हरेक शैक्षिक आन्दोलनमा संगठन स्वतन्त्रता, मौलिक अधिकारको ग्यारेन्टीजस्ता बुँदा छुट्दैनथे ।

नाकाबन्दीका कारण भएको मट्टीतेल -त्यसबेला बढी मात्रामा खाना पकाउन प्रयोग गरिन्थ्यो) को अभावले गर्दा त्रिवि र महेन्द्र संस्कृत विश्वविद्यालयले अनिश्चित कालका लागि बन्द गर्ने घोषणापछि उठेको स्वस्र्फूत आन्दोलनमाथि भएको दमनले सरकार झनै नांगियो ।०४४/४५ सालदेखि भने पञ्चायतको अन्त्य र प्रजातन्त्रको बहालीको सवाल जोडदार रूपले उठ्न थाल्यो । नाकाबन्दीका बेला आन्दोलन कसका विरुद्ध केन्दि्रत गर्ने भन्ने सवालमा ‘इतर’ (त्यसबेला पञ्चायतविरोधी शक्तिले प्राप्त गरेको संज्ञा) शक्तिबीच नै विवाद देखियो । चौम र दुई मशाल सम्बद्ध विद्यार्थी संगठनहरूले बनाएको कोअर्डिनेसन केन्द्रले नाकाबन्दीलगत्तै त्यसको विरोधमा सभा र विरोध प्रदर्शन गरिसकेको थियो ।