भारतीय नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएपछि सरकारले ७ दशमलव १ किलोमात्रै ग्यास भएको सिलिन्डर बिक्री गर्ने निर्णय गरे पनि यसलाई साविककै १४ किलो बनाउनुपर्ने दबाब पनि बढ्न थालेको छ । नाकाबन्दीले ग्यास अभावमा सर्वसाधारणलाई सास्ती भएपछि साविकको तौलमा आधा घटाई बढी सिलिन्डर बेच्न पाउने निर्णय गरिएको थियो । निर्णयपछि यसअघिको एउटा सिलिन्डरले दुईजनाको अभाव टार्न सक्ने बुझाइ भएपछि अहिले सरोकारवालाबीच विवाद हुन थालेको छ ।
आपूर्ति सहज नभएको भन्दै आयल निगमले ७ किलो मात्रै भएको ग्यास वितरण गर्नुपर्ने पक्षमा छ भने वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग १४ दशमलव २ किलोको पक्षमा छ । यस्तै, उपत्यका केन्द्रित उद्योगहरू ७ दशमलव १ किलोकै पक्षमा छन् भने तराई केन्द्रित उद्योग १४ किलोको पक्षमा छन् ।