• टंक सम्बाहाम्फे

म जीवन अझै
बुझ्न चाहन्छु
जान्न चाहन्छु
सिक्न चाहन्छु
किनकि जीवन अहिलेसम्म भोग्दै आएको छु
जन्मेदेखि यहाँसम्म
अब यहाँबाट उत्ता जीवन रहुन्जेलसम्म
त्यसैले त जीवन म हरेक ढंगले
हेर्न चाहन्छु
लेख्न चाहन्छु
देख्न चाहन्छु
हरेक मानिसले आफ्नो जीवनलाई
आफ्नै तरिकाले छामेका हुन्छन
जुन अरुसंग भिन्न हुन्छ
किनभने हरेकले भोगेको जीवन
अनुभूतिमा उस्तै लागे पनि त्यो भिन्न नै हो

त्यसकारण जीवन अनेक प्रकारले
बाडिएको छ
चुडिएको छ
झुण्ड झुण्डमा समूह समुहमा
अथवा एक्ला एक्लै
आफु खुशी आफ्नो मनमर्जी
ब्रम्हाण्डको अनेकौ भागहरुमा
जीवन बिस्तार गरिरहेका छन्
जहाँ अनेकौ बाधा छन्
जहाँ अनेकौ ब्यावाधन छन्
जहाँ अनेकौ चुनौतिहरु छन्
हुनु पर्ने सबै सबै कुराहरु छन्
हुनु पर्ने सबै सबै बिषयहरु छन्
तर पनि जीवन अपूर्ण छ
केहि पुगेर पनि नपुगेको जस्तो
केहि भएर पनि नभए जस्तो
मानौ हुनुहरुको बिचमा पनि
उ असन्तुष्ट जीएको छ
सायद त्यसैले होला
हरेक जीवनले हरेक बाटो पछ्याई रहेको हुन्छ
चाहे भीरको बाटो होस्
चाहे सम्म मैदानको बाटो होस्
त्यसमा कुनै आपति छैन
केवल पछ्याउनु जीवन भएको छ

सबैले यहि सोची रहेका हुन्छौ
कि जीवन बाचेपछि
कि जीवन हासेपछी
सपनाहरु बाचेका हुन्छन
यात्राहरु नाचेका हुन्छन
गन्तव्यहरु ब्युझेका हुन्छन
यिनै शब्दहरुको पछि लगेर
जीवन खतरा मोली रहेको हुन्छ
आकाश छाम्न खोजि रहेको हुन्छ
माथि माथि ग्रह उपग्रह छुन खोजि रहेको हुन्छ
तल पाताल छेड्न खोजि रहेको हुन्छ
कुनै न कुनै कार्यको सुभारम्भमा
कुनै न कुनै कार्यको सम्पादनमा
कुनै न कुनै कार्यको अन्तमा
जीवन जुटी रहेकै हुन्छ
यसो गर्नुको मतलब जीवन हुनु रहेछ
अस्तित्वको बोध हुनु रहेछ
नहुनु बिचको अलिकति हुनु रहेछ
यहि अलिकति हुनु भएकोले नै
जीवनको अर्थ खुलेको छ

जीवन जगतसंग बाधिएको छ
त्यसैले त जगतमा हामी जीवन बाचेर
अनेकौ खेल प्रदर्शन गरीरहेका हुन्छौ
हामी खेली रहेका हुन्छौ
जगतको छातीमा टेकेर
जीवन खेलाई रहेका हुन्छौ
कहिले नाच्नुसंग जोडेर
कहिले बाच्नुसंग जोडेर
कहिले रुनुसंग जोडेर
मानौ हामीले सबै सबै विषयसंग जोडेर
जीन्दगीको खेलमा सामेल भएका हुन्छौ
जीवन ब्याख्यामा जोडिएको छ
जीवन विश्लेषणमा मोडिएको छ
किनकि जीवनलाई यहाँ
कुन अर्थले
कुन परिभाषाले
समेट्न खोज्नु हुन्छ
त्यो त्यही जीवनको मस्तिष्कमा निर्भर हुन्छ

जीवन बोध हो
जीवन खोज हो
किनभने कतिले जीवन बोध गरीरहेका हुन्छौ
किनभने कतिले जीवन खोज गरीरहेका हुन्छौ
अथवा अरु अरु पनि हुन सक्छ
त्यो बोध र खोजमा अन्तर्निहित हुन्छ
प्रक्रियाले जीवनको रंग छुट्याउछ
कालो रातो सेतो
वा अनेकौ रंगमा
किनकि आजको जीवन त्यहि रंगमा छुट्टिएको छ
कदमा
अनुहारको प्रकृतिमा
भाषाहरुमा
संस्कृतिहरुमा
संस्कारहरुमा
जीवन भिन्नताको प्रमाण पेश गर्दछ
सायद त्यसैले होला
जीवन एक भएर पनि अनेक भएको छ
कहिले अनेक भए पनि एक भएको छ
आखिर यी सबै सबै समयको प्रारुप जस्तै
जीवनका प्रारुपहरु हुन्
जीवनका प्रक्रियाहरु हुन्
जो कति हामीले चाहेका हुन्छौ
जो कति हामीले चाहेका हुदैनौ
जे भएपनि चाहनु र नचाहनुको बिच मै
जीवन चलेको छ
जीवन चलीरहेकोछ
बाचुन्जेल यसरि नै जीवन चलिरहन्छ ।