— पञ्च विस्मृत

भखर्रै मात्र रेखा कवि टङक सुब्बाले हङकङबाट नेपाल फर्केर रेखा साहित्यमाथि ‘विमर्श’चलाएका छन् । र, नेपालका केही राष्ट्रिय पत्रिकाहरुले यसलाई महत्त्वका साथ चर्चा समेत गरेका छन् । यससँगै एउटा नौलो आयाम बोकेर उदाएको रेखा साहित्य लेखनमाथि नेपाली कविहरुले फेरि एक पटक आँखा तानेका छन् र कान ठाडो पारेका छन् । वस्तुतः  हत्याहिंसाले आक्रान्त भएको आजको विश्वमा रेखा साहित्य लेखनलाई समयको मागको रुपमा लिन सकिन्छ ।

विश्व साहित्यमाझैँ नेपाली साहित्यको इतिहासमा पनि विभिन्न मान्यता, सिद्धान्त, वाद र आन्दोलनहरु सतहमा आउदै निश्चित समयसम्म पानीको फोकाझैँ देखिएर पट्ट फुटेर विलाएका देखिन्छन् । र,तिनले स्वाभावतः समयले स्वीकारुञ्जेल सतहमा देखिने र समयको परिर्वतनसँगै परिवर्तित चेतनाले खण्डन गर्न थालेपछि इतिहासको सुरक्षित स्थानमा लुक्न जाने प्रवृत्ति पनि विश्व साहित्यमाझैँ नेपाली साहित्यमा सधैँ देख्नु परेको छ । मानव सभ्यताको यो बदलिँदो रुपका कारण मानिसलाई वस्तुलाई हेर्ने एउटा दृष्टिले पुगेको छैन । एक पछि अर्को नयाँ दृष्टिकोणको जन्मलाई समयले पनि सहजताकासाथ अनुमोदन गर्दै आएको छ । त्यही कारण आजसम्म कसैेले पनि दर्शनमा अन्तिम सत्य पत्ता लगाउन सकेका छैनन्, न त अन्तिम उत्कृष्ट लेखनसिद्धान्तको नै । रेखा साहित्य सामान्य अर्थमा त्यस्तै एक अन्तिम सत्य र अन्तिम उत्कृष्ट लेखन सिद्धान्त पत्ता लागाउन निक्लेको एउटा चिन्तन हो ।

रेखा साहित्यको प्रारम्भ देश सुब्बाको ‘सीमा अधीनस्थ गर्दछु’शीर्षकको कविताबाट भएको हो, जुन कविता प्रथमपल्ट सन् २०१० को सेप्टेम्बर १२ तारिखका दिन सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको थियो । र, सो कवितालाई रेखा भनेर नामाकरण गर्ने सर्जक चाहीँ प्रदिप मेन्याङ्बो हुन् ।

रेखा साहित्यको चिन्तनमाथि उभिएर हरेक विधामा लेख्न सकिन्छ, शुरुवात कविताबाट भएको छ । रेखा कविताको इतिहास छोटो भए पनि यसमाथि उल्लेख्य कविता लेखिसकिएका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त रेखा साहित्यकै नाममा कवि अतीत मुखियाले एउटा खण्डकाव्य समेत प्रकाशित गरिसकेको अवस्था छ ।

रेखा कवि तथा भयवादका प्रवर्तक देश सुब्बाका अनुसार प्रथम रेखा साहित्यको पुस्तकको रुपमा अतीत मुखियाको खण्डकाव्य ‘अचानो आहत’ प्रकाशित भएको छ भने दोस्रो कृतिको रुपमा कविता सङ्ग्रह अन्तर अवलोकन प्रकाशनको तैयारीमा रहेको छ । अर्कातिर लोक सिंगक रेखा कविताको बारेमा अंग्रेजीमा पुस्तक लेखिरहेका छन् ।

रेखा कविहरुका बारेमा उनी भन्छन्— “एक समय विश्वभरिका १२ जना कविहरू रेखा कविता लेख्थे । अहिले टंक सम्बाहाम्फे, अतीत मुखिया र देश सुब्बा निरन्तर लेखिरहेका छन् ।”

को को हुन् त ती १२ कवि ? टङ्क सुब्बाले तैयार पारेको एउटा सूचि यस्तो छः १, देश सुब्बा (हङकङ) २, बिमल राई (हङकङ) ३, टङ्क सम्बाहाम्फे (हङकङ) ४, डी. बी. पालुङ्वा (हङकङ) ५,मनोज बोगटी (दार्जिलिङ, भारत) ६, अतीत मुखिया (नेपाल) ७, लोक सिङ्गक (नेपाल) ८, हिमाल सुब्बा (नेपाल) ९, केदार सङ्केत (अफगानिस्तान) १०, टङ्क वनेम (बेलायत) ११, खेरेस देबेन्द्र (बेलायत) १२,अर्जुन प्रधान (अमेरिका)

त्यसो भए के हो त रेखा साहित्य ?

हङकङमा प्रथाम पल्ट रेखा कविता लेखिएको चार वर्ष पश्चात अमेरिकाबासी कवि तथा हाइकुकार नारायण अधिकारीले लेखेछन् त्यस्तै रेखा कविता । रेखा कविता लेखनको जन्मप्रति अनभिज्ञ सर्जक नारायण अधिकारीले जब टङ्क सुब्बाले नेपालमा चलाएको विर्मशको बारेमा समाचार पढे, उनी छक्क परे । र,सोध्न पुगे के हो यो ? त्यसरी नै देश सुब्बाले पनि मलाई नै यसको बारेमा सम्पर्क गरे । यसको कारण म रेखा कवि अथवा रेखा साहित्य लेखनको विज्ञ भएर चाही हैन । शायद यी दुवै सर्जकको कविता अङ्ग्रेजीमा अनुवाद गरेर ‘पोयम्स फ्रम हिमालायस्’मा राखेको कारण हुन सक्छ ।

कुरा यहाँसम्म पुग्दा रेखा साहित्यको बारेमा नारायण अधिकारीमा भएको द्विविधा त हट्यो नै,यता म आश्चार्यमा परेँ । किनभने देश सुब्बा र नारायण अधिकारीको रेखा सम्बन्धि विश्लेषण धेरै मिल्दोजुल्दो देखिन्छ ।

वास्तवमै के हो त रेखासाहित्य लेखन ?

“रेखा भन्नाले एउटा विन्दुबाट शुरु भएर निरन्तर लम्बिरहने अथवा अर्को विन्दुसम्मको दूरीलाई बुझ्नु पर्दछ । रेखा कवितामा प्रस्थान विन्दु र अन्त आपसमा भेटिँदैनन् । त्यसैले नथाकुञ्जेल र लम्ब्याउन सकेजति लम्ब्याउने हो ।”— भन्ने मान्यतामा रहेर नारायण अधिकारीले सन् २०१४ को पूर्वाद्र्धमा रेखा कविता लेखेका थिए । सर्जक देश सुब्बाको रेखा विश्लेषण पनि यही नै हो । रेखालाई जति लम्ब्यायो त्यति नै लम्बिन सक्छ । त्यसलाई घुमाएर जोडे त्यो रेखा रेखा नभएर एउटा बृत्त बन्न पुग्दछ । यसमा देश सुब्बाको आयामिक मन्यता चाही केहो भने उनी रेखा साहित्यमा सिर्फ सरल रेखाको कुरा गर्दैनन्, रेखा साहित्यको धरातलमा उभिएर उनी रेखाबाट बन्ने विभिन्न कोणहरुलाई समेत देख्छन्, केर्छन् र लेखनमा तानेर ल्याउछन् । देश सुब्बा र नारायण अधिकारी बीच रहेको रेखा चिन्तनमा फरक पनि यही नै हो । जे भएपनि दुवैले कुरा गरेको आधारभूत रुपमा रेखा नै हो । र, रेखाको कोणबाट जीवन र जगतलाई हेर्ने दृटिकोणबाट नै रेखा साहित्य लेखनको जन्म भएको हो ।

रेखा साहित्यको सृजना गर्दा जम्मा छ बुँदाहरुमाथि ध्यान दिनु पर्ने हुन्छ । जस्तोः १, समानताः सहअस्तित्वलाई मूल मन्त्र बनाएर के महिला, के पुरुष, के उच्च, के निच्च, सबैलाई समान रुपले हेर्ने दृष्टिकोण समानताको रेखाबाट पहिल्याउन सकिन्छ । समानताको रेखालाई दुई अतिवादी रेखाहरुको मध्यस्थकर्ता रेखाको रुपमा पनि व्याख्या गर्छन् टङ्क सुब्बा २, क्षेत्रताः विश्व अहिले एउटा सानो गाउँमा रुपान्तरित भएको अवस्थामा आफूले जुन देश या क्षेत्रमा बसेको छ त्यहीको विचार र अनुभूतिहरुको रेखीय लेखन क्षेत्रता हो । ३,सामयिकताः धेरै कुराहरु समयानुसार सापेक्ष बन्ने गर्दछन् । समयसापेक्षतः परिवर्तीत सोच, विचार या चिन्तनको लेखन यस रेखामा पर्दछन् । ४, सहनशीलताः कसैको हीत हुन्छ भने आफ्ना सानोतिनो क्षति सहनु पनि पर्छ भन्ने चिन्तन यस रेखाले बोकेको छ । ५, अलङ्कारिताः यसले सृजनाको भित्री र बाहिरी सौन्दर्य खोज्दछ । ६, रेखीय प्रस्तुतिः रेखाको मूल प्रवृत्तिलाई बुझेर आफ्नो लेखनलाई रेखाको ढाँचा या शैलीमा ढालेर लेख्नु रेखीय प्रस्तुती हो ।

यति भएपछि रेखा साहित्यको जन्मदेखि मूल उद्धेश्य र मर्मसम्म प्रष्ट भयो । यसलाई लिएर अब साहित्य लेखनको विश्वतिर फर्केर र्हेर्दा वादको चौघेरोमा बाँधिन नचाहने म जस्तैहरुको जमात ठूलो देखिन्छ । वस्तुतः आजका कसैले पनि एउटा दर्शन, वाद, चिन्तन अथवा एउटै बाटोमा सङ्कुचित भएर लेख्न असम्भव छ, जिउन पनि असम्भव छ । रेखो— दर्शन, वाद, तिन्तन अथवा बाटो सबै हो । त्यसोभए सम्भावनाहीनताको बोध हुँदाहुँदै रेखा कविता लेखनको चर्चा किन चलाइन्छ ?

यस सवालको जवाफ छ । त्यो के हो भने, संसारमा वाद, र्दशन र लेखन शैली धेरै आएका छन् । ती सबै जीवन र जगतलाई हेर्ने मान्छेका आँखाहरु हुन् । मेरो विचारमा कसैले ईश्वर र इतिहासको मृत्युको घोषणा गर्दछ त्यो सही नै हो, कसैले वस्तुताले जीवन र जगतलाई र्हेनु पर्छ भन्छ त्यो पनि ठीकै हो । लेखकको मृत्यु, महाआख्यानको मृत्यु सबै ठीक हुन् । भयवादीय दृष्टिकोण पनि ठीक हो र रेखीय दृष्टिकोण पनि सही नै हो । मेरा लागि यी सबै बजारमा पाइने विभिन रङ्गका सनग्लासेस हुन् । कालो लगाउदा सबैतिर कालै देखिन्छ,पहेँलो लगाउदा सबैतिर पहेँलै । तर तिनबाट जे देखिन्छ त्यो दृश्य झूठ हैन । सन ग्लासेस फरक भए पनि वस्तु त एकै रहन्छ । जब वस्तु, स्थान र समय बद्लिन्छ, स्वाभाविक रुपमा सनग्लासेस पनि बदलिन्छ । अर्थात् वस्तुलाई हेर्ने दर्शन, वाद, चिन्तन अथवा बाटो बदलिन्छ ।

त्यसैले सबै लेखकले हरेक स्थान र समयमा सधैँ एउटै सनग्लासेस लगाउनु पर्छ भन्ने हुन्न । यदि कोही त्यसो भन्छ भने त्यो दर्शनको तानाशाह हो । अहिलेका कलमजीविले रेखा–रङ्गको सनग्लासेस लगाएर जीवन र जगतलाई हेर्ने समय आएको छ ।

त्यसो भए रेखाको वास्तविक रङ्ग चाही के हो त ? अथवा रेखा साहित्यको अनुहार कसरी ठम्याउने ? जसरी गजल, कविता, मुक्तक या विभन्नि छन्दमा कविताको अनुहार प्रष्ट ठम्याउन सकिन्छ । रेखा साहित्य लेखनको नाममा दिइएका छ बुँदा त सामान्यतया हरेक सृजनामा हुन सक्छ नि १ कवि, हाइकुकार नारायण अधिकारीले यो सवाल एक लामो इ–पत्रको रुपमा मलाई पठाउनु भएको छ । जसको जवाफ म स्वयम् दिन असमर्थ छु ।

धेरै अगाडि मैले पनि यही सवाललाई लिएर केही नयाँ, पुराना दर्शनका व्याख्याताहरुलाई सम्पर्क गरेको थिएँ । उनीहरुको कुरा बुझ्दा यो वास्तवमा संरचनाको सवाल हैन । गजल, कविता, मुक्तक या छन्द, यी सबै सृजनाका संरचनागत कुरा भए । र, यिनले कुनै दर्शनको मसाल पनि त बोक्दैनन् । लीला लेखन होस् चाहे क्वान्टम कविता, अथवा बहुरङ्गवाद, सृजनशील अराजकतावाद, यी सबै वादको चौघेरोमा बाँधिएका सृजनाहरुको दोहोरो पहिचान दिइएको हुन्छ । अझ भनौँ सिर्फ कविता नभनेर क्वान्टम कविता, सिर्फ कविता नभनेर रेखा कविता भनिनु नै दोहोरो पहिचान दिनु हो । त्यसैले ती कविताहरुले सम्बन्धित वाद या दर्शनको मूल विषय या मर्मलाई छोएका छन् कि छैन् भन्ने कुरा तपसिलका कुरा हुन जान्छन्— बाहिरी रुपलाई र्हेने हो भने । तर तिनको अन्र्तवस्तुले भने सम्बन्धित वाद या दर्शनलाई छोएकै हुनु पर्छ यसमा कुनै द्विविधा छैन ।

देश सुब्बाको भनाइ पनि यही छ— “एक पल्ट आइडेन्टिटी दिइसकेपछि त्यसको संरचना महत्त्वपूर्ण कुरा भएन ।” हुन पनि, यदि कवितालाई हेर्ने हो भने हरेक कविताको संरचना, शैली आदिमा एकरुपता छ । भाव त केलाउने कुरा भयो । यसको लागि देश सुब्बा तेस्रो आयामको जगमा लेखिएको वैरागी काइँलाको‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ कविताको उदाहरण पेश गर्छन् । जुन एक अत्यन्तै चर्चित कालजयी कविता पनि हो ।        नेपालमा उल्लेख्य दर्शनहरु आइसकेका छन् । पुराना पुस्ता र नयाँ पुस्ताबीच नयाँ नयाँ दर्शनको खोजि गर्ने एउटा होड नै चलेको हो कि लाग्छ । जसले जुन रुपमा जीवन र जगतलाई अथ्र्याए पनि तिनले मानवतावादको सीमा नाँघेका छैनन् । मानवतावादको विरोध गर्न सकेका छैनन् । मानवतावादको पक्षमा बरु पत्थर झैँ कठोर भएर उभिएका देखिन्छन् बरु, जुन सकरात्मक कुरा भयो ।

यो अस्तव्यस्त विश्वमा रेखा  साहित्यले जीवन र जगतलाई समानताको दृष्टिले र्हेन प्रेरित गर्दै,हाम्रा क्षेत्रिय सोचहरुलाई सामयिकताको तराजुमा तौलन वाध्य बनाउदै, अलङ्कारिताको शोरुमबाट सौन्दर्य खरिद गरेर रेखीय प्रस्तुतीमा शब्द खेती गर्न सिकाउने छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । यही नै समयको माग पनि हो ।

१९, जुलाइ, २०१४ दम्माम केएसए

प्रकाशित –

: नेपाल पृष्ठभूमि साप्ताहिक, अगष्ट २ २०१४

:द गोर्खाज साप्ताहिक, अगष्ट २ २०१४