फाल्गुन ११, २०७२- क्रिस्टियानो रोनाल्डो पेनाल्टीबाट गोल गर्न चुकेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार मालागासँग १–१ को बराबरी खेल्यो । यसले रियलको बार्सिलोनासँगको दूरी कम गर्ने अभियानमा थप धक्का पुगेको छ । रियल बार्सिलोनाभन्दा नौ अंकले पछाडि छ र लिगमा १३ चरणका खेल बाँकी छन् । रोनाल्डोले रियललाई अग्रता दिलाएयता राउल एलबेन्टोसाले मालागाका लागि बराबरी गोल फर्काए ।

अर्को खेलमा एट्लेटिको म्याड्रिड पनि जित निकाल्न असफल रह्यो र घरमा भिल्लारियलको हातबाट गोलरहित बराबरीमा रोकियो । यो नतिजाले पनि बार्सिलोनालाई अझ सजिलो भएको छ । तर भ्यालेन्सिया प्रशिक्षकका रूपमा ग्यारी नेभिलको भाग्यमानी प्रदर्शन कायम रह्यो । एकै सातामा तेस्रो जित आत्मसात् गर्न भ्यालेन्सियाले ग्रेनेडालाई २–१ ले पराजित गर्न सफल रह्यो ।

जिनेदिन जिदानको क्लबका लागि रोनाल्डोले दुई गोलको अग्रता दिलाउन सक्ने स्थितिमा रोनाल्डो पेनाल्टीबाट चुकेका हुन् । तीनपल्टका विश्व वर्ष खेलाडीको प्रहारलाई प्रतिद्वन्द्वी गोलरक्षक कार्लोस कमेनीले सही अनुमान लगाउँदै बायाँतर्फ डाइभ गरेर बचाएका थिए ।

‘हामीले सबै तीन अंक बटुल्न सकेनौं, त्यसैले हामीलाई अझ गाह्रो हुने तय छ । तर यसको अर्थ हामीले हार खाएका छैनौं,’ जिदानले प्रतिक्रिया दिए ।

इटाली
मिलान– मोहमद सलाह र एडिन जेकोले दोस्रो हाफमा दुई/दुई गोल गरेपछि इटालीको सिरी ‘ए’ मा एएस रोमाले पार्लेमोलाई आइतबार राति ५–० ले हरायो ।

लुसियानो स्पालेटीको आगमनयता रोमा लगातार विजयी रहेको यो पाँचौं खेल हो । यो नतिजाले रोमा इन्टर मिलानलाई उछिनेर चौथो स्थानमा उक्लेको छ । रोमा शीर्ष स्थानमा रहेको युभेन्ट्सभन्दा आठ अंकले पछाडि छ ।

इंग्ल्यान्ड
लन्डन– लन्डनका दुई क्लब चेल्सी र वेस्ट ह्यामले आइतबार राति एफए कपको क्वाटरफाइनल यात्रा तय गरेका छन् । तर अर्को लन्डन क्लब टोटेनहम भने भाग्यमानी रहेन र उसलाई लन्डनकै क्रिस्टल प्यालेसले प्रतियोगिता बाहिरको ढोका देखायो । मार्टिन केलीले हाइट हार्ट लेगमा गोल गरेपछि दक्षिणी लन्डन क्लब अर्को चरण पुगेको हो । अब प्यालेसले क्वाटरफाइनलमा दोस्रो डिभिजनको रिडिङको सामना गर्नेछ ।

चेल्सीले भने दोस्रो रोजाइका खेलाडीले भरिएको म्यानचेस्टर सिटीलाई स्टायनफोर्ड ब्रिजमा ५–१ ले हरायो । अब चेल्सीले एभरटनको सामना गर्नेछ । दिनको पहिलो खेलमा भने वेस्ट ह्यामले दोस्रो डिभिजनको ब्ल्याकबर्नलाई ५–१ ले पराजित गरेको थियो । वेस्ट ह्यामको प्रतिद्वन्द्वी भने तय हुन बाँकी छ । तेस्रो डिभिजनको सुब्ररी र संघर्षरत म्यानचेस्टर युनाइटेडबीचको खेलको विजेताले वेस्ट
ह्यामसँग खेल्नेछ ।