(क्वान्टम कविता)
-मधु माधुर्य
… … आफूलाई छोप्न बिर्सेर कोहि नांगै हिंडिरहेका छन्
कोहि आफूलाई नचिनिने गरी छोपेर जसोतसो हिंडिरहेका छन्
कोहि रुँदै हिंडिरहेका छन्
कोहि हाँस्दै हिंडिरहेका छन्
“इम्प्रोभिजेशन !” आ-आफ्नै तालमा …
संसारमा –
हजार थरिका अनुहार भेटिसकेपछि
हजार थरिका अवस्था भोगिसकेपछि
वृतान्त पोख्न –
मसँग
शव्द छैन
विचार छैन !
मनस्थिति छैन
मात्र दृश्य छ !
र दृश्य बदलिनकोलागि –
पर्दा खुल्नु पनि पर्दैन
पर्दा बन्द हुनु पनि पर्दैन
घामको बत्ति बल्नु पनि पर्दैन
घामको बत्ति निभ्नु पनि पर्दैन
स्वचालित रोबोटजस्ता मानव कलाकारहरु
आ-आफ्नै भूमिकामा –
रमाइरहेका हुन्छन्
तड्पिरहेका हुन्छन्
उफ्रिरहेका हुन्छन्
कराईरहेका हुन्छन्’
म हिमालको उचाइबाट धेरै दृश्यहरु हेरिरहेछु :
न्युयोर्कको आकासमा सेप्टेम्बर ११को विभत्स टाटु देखिरहेछु
एकहूल लडाकु विमानहरू उड़दा –
केहि देशहरु आगो र खरानीको क्यानभास बन्दछन्
सुन्दर हिमाल, पहरा र माटो जल्दछन्
केहि हूल बन्दुकधारीहरु बाहिर निस्कँदा –
केहि मानिसहरु आर्तनादमा सकिन्छन्
जताततै मृत्युको छायाँहरु सल्बलाउँछन् / सल्बलाई रहेछन् –
प्रेम त
यो सभ्यताकोलागि
काकाकुलको “मिराज” गीत बनिरहेछ
यहा प्रेमले भिजेर प्रेम मै जलेर मर्नु परेको छ
मनका भाका बिर्सेका मानिसहरु –
तिर्सना र भोकको शव्द अलापेर
सिर्फ पेटको भाषा बोलिरहेका छन्
यो “रंगहीन वियोगान्त नाटक” मानिसहरुको
युग-युगान्तर चलिरहेछ —
हिमालको एउटा ओढारबाट
“म”
यी क्रमभंग नाटकहरु हेरिरहेको छु
हुन्हुनाउन्दै बतासले कानेखुसी गर्यो :
“यो नाटक हेर्ने
के तिमी दर्शक हौ ?
आउटसाइडर हौ ?
अवलोकनकर्ता हौ ?
को हौ तिमि ???…”
“म –
दर्शक होइन,
आउटसाइडर होइन,
अवलोकनकर्ता पनि होइन
म को हुँ बुझ्न
यो एकान्तमा समाधिस्थ एउटा आत्मा हुँ !”
मेरो मौनता
बताससँग वार्तालाप गर्दै
समयलाई स्पष्टिकरण दिईरहेछ …