• विक्रम सुब्बा

के हो साँस्कृतिक साम्राज्यवाद?: यसलाई ‘साम्राज्यवादी (ऐतिहासिक रुपमा स्पेनिस, पोर्तुगीज, फ्रान्सेली, हलेण्डी, बेलायती र हाल अमेरिकी)’ हरुको साँस्कृतिक पक्ष भनिन्छ । साम्राज्यवाद भन्नाले, यहाँ, सभ्यताहरु मध्ये शक्तीशालीलाई ‘काखा’ कमजोरलाई ‘पाखा’ गरिने भेदभावपूर्ण व्यबहार हो भनेर बुझ्नु पर्दछ । साँस्कृतिक साम्राज्यवाद अनेक रुपमा उजागर हुन्छ । जस्तै: अवधारणामा (अरु मुलुकलाई थिचोमिचो गरेर भएपनि उनको मुलुकमा भएका प्राकृतिक स्रोतहरू कब्जा गर्ने विचार), सरकारी नीतिहरूमा (अरु मुलुकलाई आक्रमण गरेर भएपनि उनको मुलुकमा भएका प्राकृतिक स्रोतहरू कब्जा गर्ने सरकारी नीति नै बनाउँने, त्यसै अनुसार सरकारी कार्यक्रम र बजेट निर्धारण गर्ने ।), शैनिक कार्यबाही (अरु मुलुकसँग कुनै न कुनै निहुँ खोजेर शैनिक युद्ध सन्चालन गर्ने ।) आदिमा जसले साँस्कृतिक हैकमलाई बल पुर्‍याउँने काम गरिरन्छ त्यसैलाई ‘साँस्कृतिक साम्राज्यवाद’ भनिन्छ । जस्तै: छापा-रेडियो-टिभी वा संचार सन्जालहरूमा साम्राज्यवादीहरूले सोचेको विचार, नीति, कारबाहीहरू ठीक छन् भनि खबर, लेख, गीत, कथा, निवन्ध, नाटक, काव्य, उपन्यास, सिनेमा लेख्नु-निर्माण गर्नु र तिनको (छापा-रेडियो-टिभी वा सन्चार सन्जालहरू मार्फत) प्रसार गरेर सम्राज्यवादीहरूको पक्षमा जनधारणा निर्माण गर्न वकालत गर्नु ।

 

कसरी यो सुरु भयो?: सन् १९६० तिर यो शब्द सुरु भएको मानिन्छ जुन १९७० देखि अनुसन्धाताहरूको निम्ती आकर्षक हुन थाल्यो  । साँस्कृतिक साम्राज्यवादलाई जनाउँने नयाँ शब्दहरूको पनि जन्म भयो । जस्तै: “संचार साम्राज्यवाद”, “संरचनागत साम्राज्यवाद”, “एलेक्ट्रोनिक साम्राज्यवाद”, “वैचारिक साम्राज्यवाद”, र, “आर्थिक साम्राज्यवाद”, आदि । यी शव्दहरू फरक-फरक लागेपनि यिनका भित्री आशय “साँस्कृतिक साम्राज्यवाद” नै हुन् जसले साम्राज्यवादी-शासक पक्षमै काम गर्ने सँस्था, संरचना, प्रणाली, मुल्य-मान्यताहरूलाई आधार मानेर काम गर्ने गर्दछन् । यसको, अहिलेको सन्सारमा, बलियो उदाहरण ‘मिडिया’लाई लिन सकिन्छ जसले साम्राज्यवादी वा शक्तीसाली शासकहरूकै सँस्था, संरचना, प्रणाली, मुल्य-मान्यताहरू ठिक हुन् भन्ने आधारभूत अवधारणामा टेकेर दिन-रात-हरपल काम गरिरहन्छ ।

 

“एलेक्ट्रोनिक उपनिवेशवाद”ले अहिलेको सन्सारमा ‘साम्राज्यवादी’ मुलुकका मुल्य-मान्यताहरु अविकसित, अल्पविकसित वा विकासशील मुलुकहरूका लाद्ने काम युद्दस्तरमा गरिरहेकोछ जसले रैथाने सँस्कृतीहरुलाई वा विचार वा सोचहरूलाई दिनदिनै ध्वस्त गरिरहेछ । “सन्चार साम्राज्यवाद”ले अनेक ‘हार्डवेयर’ र ‘सफ्टवेयर’हरूको माध्यमबाट हरेक सूचनालाई आफ्नो नियन्त्रणमा लिँदै उसैले प्रचार गरेको आधारमा धेरै राजनीतिक पार्टीका मानिसको सोचाई निर्माण भईरहेको दिनै देखिन्छ । भनिन्छ अमेरिका सन्सारको जुनसुकै देशमा पुगेपछि सबैभन्दा पहिले ‘सन्चार’लाई आफ्नो पक्षमा लिन्छ । उसले सन्चारका मानिसहरूलाई अमेरिकामा तालिम दिन्छ र ती सन्चार कर्मीको दिमागलाई नै अमेरिकाको उपनिवेश बनाईदिन्छ जुन तालिमले जीवनभर अमेरिकाको हरेक कुरा राम्रो हो भन्ने सफ्टवेयरको काम गरिरहन्छ ।

 

सैद्धान्तिक र व्यवहारिक पक्ष: ऐतिहासिक रुपमा उपनिवेशवादीहरू पछि हटेपछि साँस्कृतिक साम्राज्यवाद अघि आएको अवधारणा हो । यसलाई सैद्धान्तिकीकरण गर्नेहरूले ‘साँस्कृतिक साम्राज्यवाद भनेको पाश्चात्य प्रभुत्ववादको निरन्तरताको स्वरुप हो जुन बलियो प्रणालीका रुपमा दुनियाका थुप्रै मुलुकहरूमा अहिले पनि सन्चालित छन्’ भनेकाछन् ।

साँस्कृतिक साम्राज्यवादका दुई १) आयातकर्ता, र २) निर्यातकर्ता पक्ष हुन्छन् । जस्तै:

  • पाश्चात्य संगीत कसैले नेपालमा निर्यात गर्छ भने नेपालका साँस्कृतिक कर्मीले आयात गर्छन् । यो आयात र निर्यात गर्ने क्रममा दुबै पक्षले आफु अरुभन्दा सभ्य र आधुनिक भएको अवधारणा दिमागमा राखेर काम गरिरहेका हुन्छन् । जसले गर्दा यसलाई दुबै पक्षले जोरजुलुम लगाएर फैलाउँने काम गरिरहेका हुन्छन् र नेपालका रैथाले सँस्कृतीहरूलाई पेलेर सखाप पार्ने काम गरिरहेको भन्ने कुरा उनीहरूलाई नै पनि कहिले काहीँ थाहा हुन्न ।
  • अर्को उदाहरण – नेपालमा थुप्रै रैथाने गीत संगीत थिए र छन् । तर अहिले चलेको ‘आधुनिक संगीत’ भारतको शास्त्रीय संगीतमा आधारति छ । जसलाई भारतमै संगीतबारे तालिम लिनेले सबैभन्दा पहिले “भजन” गाउँने थालो – मन्दिरहरूमा आयात तथा भारतबाट निर्यात भयो । कालान्तरमा जब रेडियो खुल्यो, गीत-संगीतको बजार ठूलो भयो तब तिनै भजन गायकहरूले नेपालको आधुनिक संगितज्ञ र गायकका रुपमा (भारतीय संगीतका प्रतिनिधीका रुपमा) काम गर्न थाले र त्यही परम्परा अहिले पनि कायम छ । यो साँस्कृतिक साम्राज्यवाद हो । जसमा हत्यारोलाई पनि म हत्या गरिरहेछु भन्ने कुरा थाहा छैन तर नेपालका रैथाने गीत-संगीतको परम्परालाई दिनदिनै मार्ने काम गरिरहेछ ।
  • तेस्तै गरेर नेपालमा लबेदा सुरुवाल लगाउँने चलन थियो जसलाई सुट-टाईले विस्थापित गरेर अचेल काठमान्डुको कुनै पनि विवाहमा ‘सुट-टाई’ नै ‘ईज्जतिलो पहिरन’को रुपमा आयात भएर साम्राज्य फैलाईरहेछ । अचेल लबेदा सुरुवाल लगाउँने मानिसलाई ‘पाखे’ वा ‘मोडल’ भनिन्छ ।
  • हामी नेपालमा आ-आफ्नै मातृभाषा र खस कुरा बोलथ्यौँ । हिजो आज अंग्रेजी, जर्मन, फ्रेन्च, हिब्रु, कोरियन, चिनीया भाषा सिक्ने नेपालीको संख्या लाखौँ नाँघिसकेकोछ । अर्थात, विदेशी भाषाले नेपाली भाषालाई, खस भाषाले नेपालका जनजातिका भाषालाई ध्वस्त गर्ने काम दिनदिनै-हरक्षण गरिरहेछन् । भाषा शास्त्रीहरू अंग्रेजीलाई (सन्सारमा) Killer language भन्छन् भने भारतको छेउछाउमा हिन्दी भाषालाई Killer language र नेपालभित्र जनजातिका भाषाहरूको हकमा खसभाषालाई Killer language हो भन्छन् । अर्थात जसले ‘हुकुमी हैकम चलाएर अरुलाई नष्ट गर्ने काम गर्छ’ त्यही नै साँस्कृतिक साम्राज्यवाद हो ।
  • अहिले गुगल, माइक्रोसफ्ट र फेसबुकले उनीहरूको सफ्टवेयर अनुसारकै Frame मा मानिसहरूलाई सोच्ने बनाईसक्यो । जसलाई “ईन्टरनेट साम्राज्यवाद” पनि भनिन्छ । यसले अनेकौँ मुलुकका रैथाने ज्ञान-विज्ञान प्रणालीलाई दिनै ध्वस्त गरिरहेछ । अहिलेको युवा पुस्तालाई विदेशी खाना, विदेशी भाषा, विदेशी पहिरन, विदेशी गीत-संगीत, विदेशी सिद्धान्त र जीवन शैली आधुनिक लाग्छ र आफ्नो सँस्कृतीले दिएको खानाको परिकार, भाषा, पहिरन, गीत-संगीत, सिद्धान्त र जीवन शैली असभ्य र पछ्यौटे लाग्छ । यसरी साँस्कृतिक साम्राज्यवादले सन्सारका मानिसको सोचाईदेखि हरेकको दैनिक जीवनका गरिविधीहरूमा कब्जा गरेकोछ ।

अर्थात, उपनिवेशवादी युगमा सेना, बन्दुक लिएर भौतिक रुपमा नै मुलुकहरूलाई आक्रमण गरिन्थ्यो-कब्जा गरिन्थ्यो भने अचेल अनेकौँ (अमेरिकी, बेलायती, रुसी) विश्वविद्यालयमा अन्य मुलुकका विद्यार्थीलाई छात्रवृत्ति दिएर उनको दिमागलाई कब्जा गरेर उनले चाहेको काम गर्ने बनाएर साम्राज्यवादीका बन्दुक बिनाका खतरनाक सेनाका रुपमा सन्सारभरि पठाइन्छ । अहिले कुनै पनि बाबु-आमा र विद्यार्थी आफै पनि अमेरिकी वा बेलायती विश्वविद्यालयको डिग्री हासिल गर्दा दंग पर्छन् वा पर्छौँ । तर हाम्रो विद्यार्थीको दिमागलाई साम्राज्यवादीले उनिहरूले चाहेजस्तो काम गरिरहने “सफ्टवेयर” बनाईदिएको थाहा पाउँदैनौँ ।

आलोचना: साँस्कृतिक साम्राज्यवादका आलोचकहरूले साँस्कृतिक साम्राज्यवाद ‘जताततै छलफल गर्न सकिने विषय मात्र हो ।’ भनेर कुरा सुरु गर्छन् । उनीहरू तर्क गर्छन् कि १) यो ग्लोबलाईजेशनको युग हो । यहाँ जसले राम्रो प्रडक्ट उत्पादन गर्छ उसैले बजार कब्जा गर्छ । २) कुनै पनि प्रोडक्ट एउटा मुलुकमा सुरु भए पनि अर्को मुलुकमा त्यहीँको मुलुक सुहाउँदो किसिमले विकसित पनि गरिन्छ । जस्तै: जापानको टोयोट गाडीले अमेरिका, बेलायत र भारतमा केही न केही हाईब्रिडको रुप लिईरहेको हुन्छ । ३) साँस्कृतिक साम्राज्यवादलाई उपनिवेसवादको निरन्तरता हो भनेर ठ्याक्कै Measure गर्ने सकिन्न । ४) अमेरिका, यूरोप, भारत, दक्षिण अफ्रिका, क्यानाडा जस्ता भाषिक र साँस्कृतिक विविधता भएका मुलुकहरुमा समाज र राज्य सन्चालनको कस्तो मोडल उचित हुन्छ? ठ्याक्कै भन्नै गारो हुन्छ । अर्थात, जुन जुन प्रणालीले काम गर्छ त्यो कुनै पनि समाज(हरू)ले बिस्तारै ग्रहण गर्छन् नै । यसमा ‘साम्राज्यवाद’को कुरा कहाँबाट आयो?

 

सबाल्टर्न: उपनिवेशहरू मुक्त हुँदै गएपछि सामाजिक, आर्थिक र भौगोलिक रुपले अपहेलनामा पारिएका तथा थिचोमिचोमा परेका महिला, पुरुष तथा समूहलाई “सबाल्टर्न” भनेर पुन: परिभाषित गर्ने प्रयास पनि गरिएकोछ । यस नयाँ विचारका प्रवर्तक एन्टोनियो ग्राम्सी (Antonio Gramsci, 22 January 1891 – 27 April 1937 an Italian Marxist theoretician and politician) हुन् । ग्राम्सीको यो विचारलाई गायत्री स्पीभक (Gayatri Chakravorty Spivak (February 24, 1942) is a University Professor at Columbia University, where she is a founding member of the school’s Institute for Comparative Literature and Society) ले सबाल्टर्न भन्नाले ‘कुनै पनि किसिमको भेदभावमा पारिएको महिला, पुरुष वा समुह हो ।’ भनेर पुन: परिभाषित गरिन् । उनको तर्क – ‘विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूमा पनि विभेद हुने गरेकाछन् । एउटा साँस्कृतीकाले अर्को सँस्कृतीका मानिसलाई निम्नकोटीको शिक्षक वा विद्यार्थी ठान्ने गरेकाछन् । तेसैले यो आर्थिक, समाजिक र राजनैतिक कुरा मात्र होइन’ भन्ने छ ।

 

निचोड: सर्वहारा भनेपनि, उपनिवेश भने पनि, सबाल्टर्न भनेपनि मानव सभ्यतामा जहिले पनि एउटा पक्षले अर्को पक्षलाई हेला गरेर, दबाएर, शोषण गरेर राख्दै आएकोछ । यसरी दबाउँन वा हेप्न सफल हुनेको रणनीति कहिले बन्दुक चलाएर हुने गर्छ भने कहिले व्यापार हुन्छ, कहिले शिक्षा मार्फत हुन्छ, कहिले साहित्य-गीत-संगीत मार्फत हुन्छ । यो प्रकृयामा सो दमन वा साम्राज्य फैलाउँने शक्तीका पक्षमा बोल्ने, लेख्ने, गाउँने मानिस सृजना गरेर मुलुकहरु कब्जा गर्नु साँस्कृतिक साम्राज्यवाद हो । यही साँस्कृतिक साम्राज्यवादलाई नेल्शन मन्डेलाले – ‘गोराहरू हाम्रो मुलुकमा आए । उनीहरूले हामीलाई बाईबल दिए । हामीले आँखा चिमलेर थाप्यौँ । आँखा खोलेर हेर्दा बाईबल हाम्रो हातमा र हाम्रो मुलुकको जमीन सबै गोराहरूको हातमा थियो’ भनेर लेखेकाछन् ।