चैत्र ३, २०७२- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को भोलि (बिहीबार) हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सार्क राष्ट्रका विदेशमन्त्रीहरु पोखरा आइपुगेका छन् ।

चैत १ देखि ४ गतेसम्म जारी मिनी सार्क शिखर सम्मेलनको अन्तिम दिन विदेश मन्त्री स्तरीय बैठक हुन लागेको हो । सचिवस्तरीय बैठक भने आज सकिदैंछ ।

सम्मेलनमा भाग लिन पोखरा आइपुग्ने पहिलो विशिष्ठ पाहुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज हुन् । उनी बुधबार अपरान्ह गोरखपुरबाट सिधा पोखरा आएकी हुन् । अन्यदेशका मन्त्रीहरु भने काठमाडौं हुँदै आएका छन् । सबै पाहुनाको उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले स्वागत गरेका छन् ।

पोखरेलीहरुले समेत विदेशीको पाहुनाको पोखरा विमानस्थलदेखि मुस्ताङ चोकसम्म बाजागाजा सहित भव्य स्वागत  गरेका छन् । एयरपोर्टबाट बैठकस्थलसम्मको करीब २ किलोमिटर बाटोको दाँया भागमा बिभिन्न जातजातिका संगठनहरूले आफ्ना परम्परागत पोशाक लगाएर बाजा बजाए ।

एयरपोर्टदेखि नै पाहुनाको स्वागतका लागि जातीय पहिरनमा बाटोभरि भीड रह्यो । बाटाको बाँयातर्फ कलशमा फूलपात राखेर सजाइएको छ । विरौटाको तहु ह्युल चोकमा सहभागीका फोटासहित बिभिन्न देशका झण्डा राखेर सजाइएको छ । विदेशी पाहुनालाई एयरपोर्टमै पुगेर यहाँका कवि, कलाकार, होटलव्यसायी लगायत बिभिन्न संस्थाका अगुवाले स्वागत गरे ।

सम्मेलनस्थल ग्रान्ड होटलमै पाहुनाहरुको बासको व्यवस्था मिलाइएको छ । उनीहरु अहिले अनौपचारिक भेटवार्तामा व्यवस्त छन् । परराष्ट्रमन्त्री थापाले उनीहरुको सम्मानमा रात्रि भोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले भोलि बैठकको उदघाटन गर्ने कार्यक्रम छ । बैठकमा सार्क क्षेत्रबाट आतंकवाद र उग्रवादलाई निर्मुल पार्न प्रभावकारी संयन्त्र बनाएर अघ बढ्ने सहमति हुने छ । साथै १८ औं शिखर सम्मेलनले गरेका निर्णय र प्रतिवद्धताहरुलाई कार्यान्वयनमा ल्याउन बैठकले जोड गर्नेछ ।

बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुँदैछन् । अफगानिस्तानका उपविदेशमन्त्री कार्जार्इ सचिव स्तरीय बैठकमा पनि सहभागी भएकाले उनी मंगलबार नै पाेखरा अाएका हुन् ।