चैत्र १२, २०७२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनमा उठेका जायज मागलाई सम्बोधन गरेर समस्याको हल निकाल्नुपर्नेमा जोड दिएका छन् । दोस्रो वीरगन्ज महत्सव व्यापार मेला उदघाटन गर्न शुक्रबार वीरगन्ज आएका उनले मोर्चाले पेश गरेको ११ बुँदे मध्येका जायज माग पुरा गरिने बताए ।
सीमांकनको मुद्दा राजनीतिक सहमतिमा पूरा गरिने जिकिर गरे ।

मेला उदघाटन कार्यक्रममा दाहाल आउने खबर फैलिनासाथ मधेसी मोर्चाका कार्यकर्ताले बिहीबारदेखि बिरोध प्रदर्शन गरेका थिए ।
शुक्रबार विहानैदेखि सहरको विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरे । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको स्वागतमा निर्माण गरिएका स्वागत गेटमा तोडफोड गरेका थिए । त्यसक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह सहित १७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । सहरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । ‘मेरो वीरगन्ज आगमनको विरोध गर्नुको कुनै औचित्य छैन्,’ उनले भने, ‘मधेसको समस्या र मुल मुद्दालाई प्राथमिकताका साथ उठाउने म नै हु, मेरो विरोध गर्नु भनेको मधेसको विरोध गर्नु हो ।’

अपराह्न वीरगन्ज आएका प्रचण्डलाई मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । आफू मधेसको हक हितका लागि लड्नेलाई विरोध गर्नुको कारण नबुझेको पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका थिए । मधेसी, जनजाति लगायत उत्पीडनमा परेका जनताको मागका बारेमा आफू गम्भीर भएर लागेको र संविधानमा सच्चयाउनु पर्ने बुँदामा संशोधन गराउन मूख्य भूमिका खेलेकाले मेरो विरोध गर्नु आफै बुझ्न सकेको छैन्,’ उनले भने, ‘म मधेसको समृद्धिका लागि लड्ने व्यक्ति हुँ ।’

सरकारको काम निकै सुस्त रहेको टिप्पणी गरेपनि हाल सरकार ढाल्ने समय नरहेका प्रस्ट पार्दै उनले भने, ‘अहिले पुनर्निर्माण र संविधान कार्यान्वयन गर्ने बेला हो ।’ चिनसँग भएको सम्झौताले मुलुकमा दूरगामी महत्व राख्ने बताए । मेला उद्घाटन गर्ने क्रममा उनले राजनीतिक संक्रमण पछि अब आर्थिक विकास तर्फ लाग्ने बेला आएको बताएका थिए । लामो मधेस बन्दले थलिएको वीरगन्जको अर्थतन्त्र उकास्न सरकार र नीजि क्षेत्रले मद्दत गर्नुपर्ने उनको भनाई थियो । मेलाले यस क्ष्ाेत्रको उद्योग, व्यापार प्रर्वद्धनमा मद्दत पुर्‍याउने बताए ।