चैत्र १३, २०७२- मुलुकको विद्यमान समस्या समाधानको लागि राष्ट्रिय एकता र सहमतिको सरकार आवश्यक रहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । राष्ट्रिय सहमति, विकास निर्माण, स्थिरता र शान्तिका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको उनले बताए ।

जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षणको लागि शनिबार दमौली आएका दाहालले क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटको क्रममा मुलुकमा देखिएको अस्थिरता समाधान गर्न  राष्ट्रिय एकताको सरकार आवश्यक भएको बताएका हुन् ।

‘भुकम्प गएदेखि नै मैले राष्ट्रिय एकताको सरकारको कुरा गर्दै आएको हुँ,’ उनले भने, ‘अब राष्ट्रिय सरकार बनाएर मुलुकको विकासका लागि जुट्नु आवश्यक छ । भूकम्प गए लगत्तै मैले कुकुर र बिरालो जस्तो हुनु हुँदैन पुननिर्माणमा जुट्नु पर्छ भनेर सुशीलजीलाई भनेको थिएँ ।’

आफू राष्ट्रपति वा प्रधानमन्त्री कुनै पनि पदको चाहनाबाट प्रेरित नभएको उनले बताए । भुकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको विकास र समृद्वि नै आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए ।

नेपाली जनताबाट आफूलाई २०/२५ बर्षसम्म पनि राजनितिको केन्द्रमा रही रहने गौरवप्राप्त भएकोले त्यो गरिमा बचाई राख्न सके आफूलाई पुग्ने समेत उनले बताए ।

‘मेरो अहिले व्यक्तिगत चाहना केही छैन । विगतमा केही तितामिठा अनुभव भए,’ उनले भने, ‘त्यसैबाट शिक्षा लिएर अघि बढेको छु । मेरो अभिव्यक्तिबाट मानिसले त्यो कल्पना गर्छन् । तर मेरो चाहना प्रधानमन्त्री वा राष्ट्रपति कुनै पनि छैन ।’

चीनबाट प्रधानमन्त्री फर्किए लगत्तै मधेस मागको समाधान गर्न छलफलमा जुट्ने उनले बताए । मधेसको मागलाई तीन महिनाभित्र सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
‘प्रधानमन्त्री चीनबाट आए लगत्तै मधेसको मागलाई उठाउने छु,’ उनले भने, ‘मधेसको मागलाई तीन महिनाभित्र सम्बोधन गर्नु पर्छ ।’

प्रधानमन्त्री ओलीले चीनसँग गरेको सम्झौताबाट आफू अत्यन्त खुशी भएको उनले बताए । रेल वे विस्तार र त्रिदेशीय विकास साझेदारीको विषयमा आफू प्रधानमन्त्री भई चीन भ्रमणमा जाँदा समेत कुरा उठाएको उनले बताए ।

मुलुकको विकास र समृद्विको लागि आफ्नो विचारका कारण तेस्रो पार्टी भएर पनि एमाओवादी पहिलो नम्बरको चर्चामा रहेको उनले बताए । एमाओवादीबाट अलग भएकाहरु छिट्टै संगठित हुने गरी गृहकार्य अघि बढी रहेका उनले बताए । उनी आउने खबरपछि प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुवँरले शनिबार समेत कार्यालय प्रमुखलाई अनिवार्य उपस्थित हुनु पर्ने भन्दै पत्राचार गरेका थिए ।

जिल्लाका कार्यालय प्रमुख तथा प्रतिनिधिलाई प्रचण्डले नागरिकको सेवा र विकासका लागि साझेदार भई अघि बढ्न आग्रह गरे ।  उनलाई सहायक प्रजिअ किशोरकुमार चौधरी, स्थानीय विकास अधिकारी उदय रानामगर लगायतका कर्मचारीले समेत स्वागत गरेका थिए ।