सिन्धुपाल्चोक- वैशाख १२ को विनाशकारी भूकम्पले खासामा रोकिएका सामान छुटाउन चिनियाँ भन्सारले प्रक्रिया अघि बढाएको छ। व्यवसायीको आग्रह र तातोपानी भन्सारको पहलमा झन्डै एक वर्षपछि चिनियाँ पक्ष सामान छुटाउने तयारीमा जुटेको हो।
नेपाली व्यवसायीका झन्डै तीन सय कन्टेनर सामान भूकम्पपछि खासास्थित गोदाममा रोकिएको छ। व्यवसायीको अर्डरपछि ती सामान अघिल्लो वर्षको चैतमा आइपुगेका थिए। उक्त सामान छुटाउन खासा भन्सारका प्रमुखसहित १३ कर्मचारी त्यहाँ आइपुगेका छन्। मितेरी पुल हुँदै बुधबारसम्म झन्डै ७० कन्टेनर खासामा छन्।

चिनियाँ र तातोपानीका भन्सार अधिकारीबीच दुई चरणमा भएको वार्तापछि उक्त सामान नेपाल पठाउने तयारी थालिएको हो। दुई भन्सार अधिकारीबीच पछिल्लोपटक यसै साता खासामा छलफल भएको थियो। छलफलमा सामान छोड्न सकारात्मक रहेको प्रतिक्रिया दिँदै खासा फर्केर चिनियाँ अधिकारीले तयारी थाले पनि स्थानीयले कन्टेनर खासा प्रवेश गर्न दिएनन्। सधैंका लागि नाका खुल्ने सुनिश्चितता माग्दै उनीहरु आन्दोलित भएका थिए। तत्काल नाका खोल्न माग गर्दै उनीहरुले नाकामा धर्ना दिँदै नाराबाजीसमेत गरे।

स्थायी रुपमा नाका खुलाउन साझा संकल्पका साथ सबै क्षेत्र अघि बढ्ने सहमति जुटेपछि स्थानीयले आन्दोलन स्थगन गरेका छन्। सामान लोड गर्न मंगलबार ३० कन्टेनरले खासा प्रवेश पाएकोमा बुधबार थप ४० कन्टेनर छिरे। ‘चिनियाँ पक्षले रोकिएका सामान छोड्न भन्सार प्रक्रिया थालेको जानकारीमा आएको छ,’ तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले नागरिकसँग भने, ‘भौतिक र मानसिक रुपमा काम गर्ने तयारीका साथ हामी असोज १७ देखि नाकामा तैनाथ छौं।’

खासामा जाँचपास लगायत भन्सार प्रक्रिया पूरा गरेपछि सामान लिएर कन्टेनर तातोपानी झर्न थाल्ने उनले बताए। पोखरेलले थपे, ‘हाम्रोतिर समस्या छैन। जाँचपास गरेर दैनिक १०–१५ कन्टेनर काठमाडौं पठाउँछौं।’ आयात–निर्यात चक्र बन्द भएकाले सामान लोड गरेर कन्टेनर तातोपानी फर्कन भने समय लाग्छ। सामान छोड्न चिनियाँ अधिकारी सहमत भएपछि यताबाट तातोपानी भन्सार, अध्यागमन र सुरक्षा अधिकारी खासाको गोदाम पुगेर सामानको अवस्था हेरेका थिए। खासाकै ठूलो मुसा ट्रान्सपोर्टको गोदाममा मात्रै एक सय ८० कन्टेनर सामान छन्।

यसअघि दुई चरणमा गरेर सवा चार सय कन्टेनर सामान भिœयाइएको थियो। जेठ पहिलो साता अवरुद्ध अरनिको राजमार्ग खुलाउँदै ८० कन्टेनर भिœयाइएकोमा असोज अन्तिम साता थप तीन सय ३१ मालबाहक कन्टेनर ल्याइएको थियो। सरकारले समयमै कूटनीतिक पहल नगर्दा अहिलेसम्म यो नाका सञ्चालनमा आउन सकेको छैन। कहिले नाका नियमित सञ्चालनमा आउँछ भनेर चीनले स्पष्ट जवाफ दिएको छैन। नेपालले भने प्रभावकारी पहल गरेको छैन।

मुलुककै ठूला भन्सारमा गनिने तातोपानीबाट वार्षिक झन्डै १५–१८ अर्बको आयात र तीन अर्बको निर्यात हुँदै आएको थियो। यसबाट राज्यले वार्षिक पाँच अर्ब रुपैयाँ राजस्व संकलन गर्थ्यो। भारतीय नाकाबन्दीपछि मात्र तातोपानी सरकारी चासोमा परेको थियो। यही कारण अवरुद्ध राजमार्ग खुलाउँदै असोज दोस्रो साता सडकले नाका जोडिएको थियो। यसअघि खुलाउन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले खासै चासो दिएको थिएन।

सडकले नाका जोडिएसँगै भन्सार, अध्यागमन, क्वारेन्टाइन र सुरक्षाकर्मी तातोपानीमा तैनाथ छन्। भारतीय नाका खकुलो भएसँगै तातोपानी फेरि सरकारको चासोबाट बाहिरिएको छ। प्रधानमन्त्रीले चीन भ्रमणमा १२ बुँदे सहमति गर्दा तातोपानी परेन। प्रधानमन्त्रीले तातोपानी खुलाउन अनुरोध गरे पनि चीनले त्यत्ति चासो दिएन। प्रधानमन्त्रीले ‘कन्भिन्स’ गर्न नसक्दा तातोपानीलाई चीनले प्राथमिकतामा नराखेको अर्थ तथा वाणिज्य मन्त्रालयका उच्च अधिकारीको भनाइ छ।

भूकम्पपछि चीनले रसुवागढी–केरुङ नाकालाई उच्च प्राथमिकतामा राख्दै आएको छ। यही कारण उक्त नाका कात्तिकदेखि सञ्चालनमा छ। खासा–तातोपानीबाट हुने चीनविरोधी तिब्बती गतिविधिका कारण यो नाका खुलाउन चासो नदिएको धेरैको बुझाइ छ। अधिकारीहरु भने केरुङलाई खासाकै तुलनामा पुर्या उन चीनले उपयुक्त समय पाएको बताउँछन्।

भूकम्पपछि खासाबजार खाली छ। त्यहाँ भन्सार, अध्यागमनका तल्लास्तरका कर्मचारी र सुरक्षाकर्मीमात्र छन्। खासाबासीलाई सिगात्से सारिएको छ। वाणिज्य अधिकारीले खासाबाट २४ किलोमिटर परको कुती (नेलाम)बाट सामान छाड्न आग्रह गर्दै आए पनि चीनले अझै प्रस्ट जवाफ दिएको छैन। ‘तातोपानीमा काम गर्ने वातावरण छ,’ भन्सार प्रमुख पोखरेलले भने।

व्यापारिक गतिविधि सुरु नहुँदा तातोपानी सुनसान छ। खासगरी यहाँका मुख्य बजार कोदारी र लिपिङ मानवविहीन जस्तै छन्। सडकले नाका जोडिएपछि कारोबार सुरु हुने विश्वासमा स्थानीय फर्किएका थिए। त्यसो हुन नसक्दा उनीहरु फेरि काठमाडौं लागेका छन्। धार्मिक पर्यटकीयस्थल मानसरोबर ओहोर–दोहोर गर्ने, तातोपानी धारा नुहाउने, किनमेल गर्न खासा पुग्ने र अध्ययन, अवलोकन भ्रमणमा आउने सयौं बाह्य तथा आन्तरिक पर्यटकले नाका खचाखच हुन्थ्यो। वार्षिक डेढ लाखसम्म पर्यटक नाकामा आउँथे। तर भूकम्पपछि नाकाको पर्यटकीय गतिविधि ठप्पप्रायः छ।