वैशाख ५, २०७३- नामिबियालाई ५ विकेटले हराउँदै शनिबार नेपालले विश्व क्रिकेट लिग च्याम्पिनसिपमा पहिलोपल्ट जितको रेकर्ड त राख्यो नै, ब्याट्सम्यान शरद भेषवाकरले पनि आफूलाई च्याम्पियन प्रमाणित गरे । निकै कठिन स्थितिमा पुगेको अवस्थामा एकल प्रयासमा नेपाललाई जिताएपछि शरद ‘फिनिसर’ को भूमिकामा स्थापित हुन पुगे ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार तेस्रो नम्बरमा ब्याटिङ गरेका शरदले नटआउट ५० रन बनाउँदै नेपाललाई ५ विकेटको विजय दिलाए । च्याम्पियनसिपमा नेपालको यो पहिलो विजय हो । २०१९ को विश्वकप छनोटको आधार पनि रहेको च्याम्पियनसिपमा यसअघि नेपाल पछिल्ला चारै खेलमा पराजित भएको थियो ।

नेपाल कठिन स्थितिमा पुगेको अवस्थामा शरदले विनोद भण्डारीसँग ८४ रनको अविजित साझेदारी गरेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले जित हात पारेको हो । शरदले विजयी चौका प्रहार गरेपछि नामिबियाले छाडेको १ सय ९६ रनको लक्ष्य नेपालले १७ बल अगाडि १ सय ९७ रन बनाउँदै पूरा गरेको थियो ।

‘विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हामीले पहिलो विजय हात पार्‍यौं, कसले राम्रो खेल्यो भन्दा सामूहिक प्रयासले गर्दा जितियो, सबैले राम्रो खेल्यौं, मलाई लाग्छ त्यो महत्त्वपूर्ण हो,’ म्यान अफ द म्याच इनिङ्स खेलेका शरदले भने, ‘केही विकेट गुमाउँदा नेपाल सुरुवातमा दबाबमा आएको थियो । तर टिकेर खेल्ने हो भने जितिन्छ भन्ने थियो, टिम रणनीतिअनुसार त्यसरी नै खेल्यौं ।’

उनले विकेटमा बढी समय दिएर खेल्नुको पनि कारण थियो । ‘यो विकेटमा ठूलो शट खेल्न त्यत्ति सजिलो थियो जस्तो मलाई लाग्दैन, त्यस्तो खेल्नु मौका लिएको जस्तो मात्र हो,’ ७४ बल खेलेपछि आफ्नो दुई मध्येको पहिलो चौका प्रहार गरेका शरदले भने, ‘हाम्रो योजना विकेट रह्यो भने थोरै ओभरमा पनि धेरै रन बनाउन सकिन्छ भन्ने थियो । त्यही अनुरूप मैले सुरक्षित भएर खेलेको हुँ ।’

लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा शरदको यो तेस्रो अर्धशतक हो । कप्तान पारस खडकाको नाममा पनि नेपालबाट यसमा सर्वाधिक तीन अर्धशतक बनाउने कीर्तिमान छ । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका शरदले २ वर्ष अगाडि विश्वकप छनोटमा यूएईविरुद्व ५४ र नोभेम्बरमा पपुवा न्युगिनीविरुद्ध च्याम्पियनसिपमा यूएईमा ७८ रन बनाएका थिए ।

‘मेरो दिमागमा यसरी खेल्छु वा त्यसरी खेल्छु भन्ने हुँदैन । टिमलाई यस्तो अवस्थामा मेरो भूमिका कस्तो चाहिएको छ भन्नेमा केन्द्रित हुन्छु,’ टिममा भूमिका बुझेर खेल्ने खेलाडीमा गनिने शरदले भने, ‘आजको अवस्था अलिक बचेर खेल्नुपर्ने थियो, मैले त्यसरी नै खेलेको हुँ ।’ कीर्तिपुरमा भरिभराउ दर्शकको समर्थनले पनि आफूलाई ऊर्जा बढाएको उनले बताए ।

शरद अन्तर्राष्ट्रिय क्रिकेटमा सुरुवातताका तेस्रो नम्बरमा ब्याटिङ गर्थे । पछिल्लो समय मध्यपंक्तिमा पाँचौं–छैटौं नम्बरमा ब्याटिङ गर्थे । तीन दिनअघि सागर पुन घाइते भएपछि उनलाई पुन तेस्रो नम्बरमा खेलाउन तयार गरिएको थियो । ‘सागर घाइते भएपछि २–३ दिन अघिबाट मैले तेस्रो नम्बरमा ब्याटिङ तयारी गरेको थिएँ । मलाई पनि खेल्न सक्छु जस्तो लाग्यो, धेरैपछि तेस्रो नम्बरमा खेल्न पाएँ, खुसी लाग्यो,’ उनले भने ।

जुनै स्थानमा ब्याटिङ गरे पनि शरदले आफूलाई ‘फिनिसर’ को रूपमै उभ्याए । उनी यसलाई खासै फरक मान्दैनन् । ‘मेरो दिमागमा जहिले पनि अन्तिमसम्म ब्याटिङ गर्नुपर्छ भन्ने हुन्छ, भूमिका जुनै होस्,’ शरद यसको कारण दिन्छन्, ‘मुख्य ब्याट्सम्यानले फिनिसिङ गर्नुपर्छ जस्तो मलाई लाग्छ । भूमिका फरक गरे पनि आज मैले सेट भएपछि विकेट फाल्दिनँ भन्ने थियो ।’ विनोदले तीन छक्का प्रहार गरी नटआउट ४० रन बनाएपछि टिमको दबाब कम गराई आफूलाई खेल्न सजिलो भएको उनले खुलाए ।

उनले विजयी चौका हान्दै अर्धशतक पूरा गरे । वेस्ट इन्डिजले दुई साताअगाडि विश्व टवान्टी–२० जित्दा ‘च्याम्पियन’ को जस्तो शैलीमा उनले नेपालको विजयको खुसी मनाए । शरदले पनि नेपाललाई विजय दिलाउँदा ‘च्याम्पियन’ इनिङ्स खेलेका थिए । भलै खेल्ने शैली फरक होस् ।