(रसियामा बसोबास गर्दै आउनु भएका साहित्यकार डा.मधु माधुर्यसंग एभरेष्ट साप्ताहिक हंगकंग र नया समय डटकमको लागि लिईएको साहित्य बार्ता प्रस्तुत छ ।)

१.रुसमा रहेर नेपाली साहित्यमा कलम चलाउनु भएको धेरै भयो हाल के गर्दै हुनुहुन्छ ?

रुस स्वतन्त्र हुनु अघिको सोभियत संघमा प्रवेश गरेदेखि आजको मितिसम्म साहित्य सिर्जनामा समर्पित छु, हाल आफ्नो कृति र रचनाहरुको अन्य भाषामा अनुवाद गराउने काममा व्यस्त छु र साहित्यमा केहि नयाँ प्रयोगहरु गर्दै छु |

२.प्राज्ञीक जगतमा पनि राजनितिकरण भैसक्यो तसर्थ प्राज्ञ हुनको लागि पनि पार्टी नपछ्याई नहुने भो ।यस्तो हुँदा साहित्यको बिकास होला ?

हो त्यस्तो छ, त्यसो हुनुलाइ राम्रो मान्न सकिन्न |जेमा पनि राजनीति गर्ने हाम्रो संस्कार रगतमा गैसक्यो | नयाँ पुस्तामा नयाँ समयले नयाँ परिवर्तन ल्याउला भनी सोचिरहेछु |

३.नयाँ योजना अन्तर्गत के ल्याउदै हुनुहुन्छ ?क्वान्टम थ्योरी बारे बताई दिनुहोस न ?

क्वान्टम साहित्य विमर्श लेख्दै छु | भौतिक विज्ञानमा कुनै पनि प्रतिक्रियामा भागलिने तत्वको सबैभन्दा सुक्ष्म इकाइलाइ क्वान्टम भनिन्छ |साहित्यमा त्यसको बेग्लै प्रयोग छ | क्वान्टम साहित्य जीवन र जगतलाई हेर्ने बहुआयामिक र वैज्ञानिक दृष्टिकोण हो, साहित्यमा नूतन प्रयोग र प्रस्ताव हो | यसमा केन्द्रविन्दु मानिने चेतनशील मानिसलाइ व्यापक सम्भावनाको रुपमा हेरिन्छ , विचार वा भावनाको तरंगले कुनै न कुनै फेनोमेनन (घटना) प्रक्रिया र परिणाममा परिवर्तन ल्याउन सक्छ भन्ने मान्यता राख्दै कुनै पनि रचनालाई कालखण्डको एक क्वान्टम (न्युनतम हिस्सा / परिमाण) अभिव्यक्ति मात्र मानिन्छ, किनकि त्यो भन्दा अगाडी पनि केहि थियो र त्यसपछि पनि केहि निरन्तररुपमा विचार-तरंगको विचरण हुनेछ |

४.नेपालमा अहिले आएर कस्ता साहित्य लेखिदैछन र कस्तो लेखिन जरुरी छ त्यस बारे तपाईको सुझाव ?

राम्रा राम्रा कृतिहरु प्रकाशन गरेर नेपालका साहित्यकारहरु अहिले आख्यान र गजलमै रमाइरहेका छन् | सबै विधाहरुलाई उन्नत बनाउन जरुरि देख्छु |

५.अहिले नेपाली साहित्य लेखनमा थुप्रै धारहरु आईसकेका छन ।अब हामीले कुन धार पछ्याउने र कस्तो धार पछ्याउदा उचित होला ?

कुनै धार, वाद वा सिद्धान्त पछ्याउन आबश्यक छैन | मस्तिष्कले मनभित्र समयको स्पन्दन सुनोस् अनि असल र नयाँ साहित्यको सृजना सम्भव हुन्छ |

६.अहिले बिश्वभरी नेपाली साहित्य लेखिदै छापिदै छ तर त्यसको ब्यावसायिकता अन्य मुलुकको जस्तो देखिन्न ।अझै सौख पूरा गर्न मात्र छाप्नु उचित होला ?

मेरो मनको कुरा बोलिदिनु भयो, जीवन र जगतलाई हेर्ने नयाँ दृष्टिकोण, बहुआयमिक अध्ययन आदिको कमीले त्यो परिवेश सृजना भयो – त्यसको परिवर्तन हामीबाट नै शुरु होस् …

७.तपाईले कस्तो प्रकारको साहित्य लख्दै हुनुहुन्छ ? किन र कस्को लागि लेख्दै हुनुहुन्छ ?

भौतिक विज्ञान, मनोविज्ञान, अध्यात्म विज्ञान आदि र जीवनले सिकाएको पाठको आधारमा मैले नयाँ खालको साहित्य लेख्दैछु – आफ्नोलागि, पाठककोलागि, समाजकोलागि, संसारकोलागि र आउँदो समयकोलागि …! साहित्य साधनाको रुची-जागरणले चुपलागेर बस्न दिएको छैन |

८.नेपाली साहित्य अंग्रेजी अनुबाद नहुँदा विश्व बजारमा नपुगेको कुरा व्यापक उठेको छ तपाईंको बिचार के छ यस बारे ?

यो सत्य कुरा हो तर त्यसकोलागि कृतिहरु विषयवस्तुमाथि बहुआयमिक अध्ययन गरेर लेखिएको र स्तरीय पनि हुन् आभास्यक छ |

९.जति पनि पुरस्कार छ्न नेपालमा दिईने त्यसलाई कसरी हेर्नू भएको छ ?तपाईं पुरस्कार र सम्मानको लागि लेख्नु हुन्छ कि साहित्य समृद्धिको लागि ?

नेपालमा पुरस्कार दिने प्रवृत्ति र संस्कारको कुरा सम्झन पनि मन लाग्दैन, यसबारे कति बोल्नु ? राम्रा लेखकहरु ती सबैकुरा बिर्सेर सिर्जनामा साधनारत हुन्छन् | मैले पुरस्कार र सम्मानकोलागि कहिलेपनि लेखिनँ र लेख्दिन |

१०.साहित्य के हो ? किन कसरी र केका लागि लेख्ने ?

अनुभूतिजन्य मूर्त / अमूर्त भावना र विचारलाई उपयुक्त शव्द र शैलीमा अभिव्यक्त गर्ने मध्यम नै साहित्य हो – त्यो समाजको दर्पण हो, समयको दस्तावेज हो | अक्सार त्यो रुची वा प्रेरणाको आधारमा लेखिन्छ समय समयमा मानिसकोलागि |

११.तपाईलाई लागेको बिचार सल्लाह सुझाव पाठकहरुलाई राखी दिनुहोस न ?

अन्तर्वार्ताको अवसर जुटाइदिनु भएकोमा सर्वप्रथम गीतकार साहित्यकार टंकजीलाई साधुवाद र अमुल्य समय खर्च गरेर पढिदिनु भएकोमा पाठवर्गलाई धन्यवाद दिन चाहन्छु | असल साहित्यको निर्माण पाठक र समालोचकबिना सम्भव हुँदैन | साहित्य सभ्यताको भाषा हो, अभिव्यक्ति हो | यसको विकास गरौँ , जोह गरौँ |