८ वैशाख, काठमाडौं । प्रधानमन्त्रीले माफी नमागेसम्म प्रस्तावित न्यायाधीश र राजदूतको संसदीय सुनुवाई नहुने नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् ।

संसदीय सुनवाई समिति कायमै छ भनेर आत्मलोचनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु पर्ने उनले बताए । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले भने, ‘ प्रधानमन्त्रीले नै संसदीय सुनवाई समिति छैन भनेर न्यायपरिषदको सदस्यमा सिफारिस रामप्रसाद सिटौलाको नाम फिर्ता लिनु भएको हो । अब कसले सुनवाइ गर्ने । उहाँले त्यसलाई सच्याएर संसदीय समिति कायमै छ भनि आत्मलोचना नगरेसम्म संसदीय सुनवाई हुन सक्दैन ।’

न्याय परिषद् सदस्यमा रामप्रसाद सिटौलाको नाम ल्याएपछि मात्रै सुनवाई हुने उनले बताए । अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म सिफारिस गरिएका न्यायाधीश र राजदूतहरुले पर्खिएर बस्नु पर्ने उनको तर्क छ ।

पौडलेले भने, ‘हामी संविधान संशोधन गरेर सुनवाई समिति गठन गर्ने पक्षमा छैनौं । कि पुरानै सुनवाई समितिले सुनवाई गर्नु पर्यो, नभए नयाँ बनेपछि मात्रै हुन्छ ।’

पौडेलले राजदुत नियुक्तिमा कांग्रेससँग सैले सल्लाह पनि नगरेकोर नियुक्तिमा मनपरी गरेको आरोप लगाए । कांग्रेस संसद बोलाउन आग्रह गरिसकेको भन्दै उनले अब चुप लागेर नबस्ने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा सरकार ढाल्ने रणनीति बनाउन नयाँ दिल्ली गएको भनि सोधिएको प्रश्नमा उनले भने, ‘उहाँ श्रीमतीको उपचार गर्न जानु भएको हो । श्रीमतीको उपचार गर्न पनि जान नपाउने ? अनावश्यक शंका नगर्नुस् ।’