वैशाख १४, २०७३- साताव्यापी मधेस दौडाहाबाट राजधानी फर्केका नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालीको पुनर्परिभाषा हुनुपर्ने बताएका छन् । राजधानीस्थित दलको मुख्यालयमा मंगलबार मधेसी अधिकारकर्मी, बुद्धिजीवी र कानुन व्यवसायीसँग भेट्तै भट्टराईले ३ हजार वर्ष लामो इतिहास पन्छाउँदै अघि बढाउन खोजिएको २ सय ५० वर्षको खस जाति र समुदायकेन्द्रित अन्धराष्ट्रवादले समग्र नेपालको पहिचान बोक्न नसक्ने भन्दै नेपालीको पुनर्परिभाषाका लागि जागरण फैलाउन आग्रह गरे ।

‘प्रधानमन्त्री केपी ओली राष्ट्रवादका नाममा खतरनाक खेल खेल्दैछन्, प्रचण्ड त्यसैमा मिसिएका छन्,’ भट्टराईले भने, ‘अहिले त सत्तामा बस्नेले अन्धराष्ट्रवादको प्रबर्द्धन गरिरहेका छन्, जनताको स्तरमा सौहार्दता नै छ, तर यसलाई सत्ताले भँडाउन मलजल गरिरहेको हुनाले नागरिक भूमिका चाहिएको छ ।’ भारत र चीनसँग सम्मानजनक सम्बन्ध राख्दै अघि बढ्नुपर्नेमा सरकार एक पक्षलाई चिढ्याउने, अर्को पक्षप्रति अतिरिक्त झुकाव राख्ने गतिविधि गरिरहेको उनको आरोप थियो । ‘फासिवादको पूर्वाभ्यास भइरहेको छ, लोकतान्त्रिक विधिबाट सबै पक्षसग संवाद गर्दै उग्र सोचको अन्त्य गर्नुपर्नेमा उल्टो बाटो अपनाइयो,’ उनले सरकारलाई संकेत गर्दै भने ।

अन्तर्क्रियामा अधिकारकर्मी तुलानारायण साह, दीपेन्द्र झा, सुरेन्द्र महतो, विजयकान्त कर्णलगायतले धारणा राखेका थिए । महतोले खस आर्यको नेतृत्वप्रति मधेसीमा विश्वासको संकट देखिए पनि जनजाति र मधेसीका एजेन्डाको नेतृत्व उनीहरुले समेत लिनुपर्ने बताए । ‘अहिले मधेसमा तत्काललाई पराजय छ, तर आन्दोलनकारीमा पराजयको स्वीकारोक्ति छैन,’ उनले भने, ‘मधेसीको राष्ट्रियतालाई सन्देह गर्ने, पहाडकेन्द्रित राष्ट्रवाद मलजल गर्नेमा उच्च वर्गका शासकदेखि निम्न वर्गको खस आर्यसम्म एकै ठाउँ उभिनुले कतै न कत समस्या छ भन्ने देखाउँछ । त्यसैले लड्न सकिने एजेन्डामा सगै मिलेर लड्नुपर्‍यो ।’

नयाँ शक्तिका नेता खिमलाल देवकोटा, रामकुमार शर्मा, मुक्ति प्रधानलगायतले वैकल्पिक राजनीति गर्ने सबै पक्षलाई एक ठाउँ आउन आग्रह गरे । वैशाख पहिलो साता सुनसरीदेखि कपिलवस्तुसम्म भ्रमण गरेका भट्टराईले शनिबार काठमाडौं फर्केर तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका थिए ।