वैशाख २८, २०७३- खोजपूर्ण लेख र पुस्तक प्रकाशन गरेकै कारण साइबर अपराधअन्तर्गत पत्रकार भद्रगोल किराती (मनोजकुमार राई) तीन दिनदेखि प्रहरी हिरासतमा छन् । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

हेनखामा हाङखिम र प्रेमकुमार राईको नामका व्यक्तिको उजुरीको आधारमा प्रहरीले नियन्त्रण लिएको हो । उजुरीपछि गत शुक्रबार (२०७३ वैशाख २४ गते) पक्राउ गर्‍यो र सामान्य सोधपुछ गरी फेरि बोलाएको बेला सम्पर्कमा आउने शर्तमा छाडिदियो । उजुरीकर्ताको ठम्याइमा त्यसरी प्रहरीको फन्दामा परेपछि अब चूप लागेर बस्लान् भन्ने थियो तर शनिबारकै दिन भद्रगोलले आफ्नो खोजपूर्ण पुस्तक ‘गड होइन, ठग एन्जेल’ सार्वजनिक गरे । त्यसलगत्तै आइतबार उनलाई पुन: नियन्त्रण लिएको हो । उनलाई सोमबार पाँचदिने म्याद थमाइको छ ।

करिब तीन महिनाअघि ‘ठग ओमनन्द’ (गड एन्जल) पुस्तिका सार्वजनिक भएपछि बहस सुरु भएको हो । समातन समाजको संरचनालाई भड्काउनेदेखि खुलेआम रुपमा ‘प्रेमवादी’ धर्ममा लगाउने काम गरिएप्रति  ध्यानाकर्षण गराइएको छ । राज्यका निम्ति धर्मगुरु होस् या सर्वसाधारण गरिब व्यक्ति समान हुन्छ । तर, भक्तकुमार राईले धर्मगुरुको भेषमा उनले लिएको नागरिकता, राहदानीसमेत फरक रहेको उजागर गरिएको छ ।

ती गड एन्जेलले केही वर्षअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दावी गर्दै केही सञ्चारमाध्यमलाई झुक्काएर आफ्नो कुप्रचार गराउन सफल भएका थिए । तर सरकारले हालसम्म ती व्यक्तिले सर्वोच्च शिरख आरोहण गरेको प्रमाण दिएको छैन ।

फोटोसपबाट अनेक किसिमका फोटो जोडेर हिउँको चुचुरोमाथि बसेको भ्रामक प्रचार गर्दैआएका छन् । तत्कालिन राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्रीसम्मलाई झुक्काएर आफूलाई ठूलो धर्मगुरुको माला पहिराएका थिए । र त्यही फोटो आफ्नो सर्वसाधारण भक्तहरुलाई देखाएर आश्वस्त तुल्याउने गरेको जनाइएको छ ।

त्यसैगरी धर्मको नाममा ‘स्वर्गिक मार्ग सघ नेपाल’ संस्थाबाट देश, विदेशमा धार्मिक क्रियाकलापका अतिरिक्त आर्थिक चलखेल गर्ने गरेको भन्ने छ । अनाथ आश्रम खोलेका छन् । त्यसनिम्ति विदेशमा रहेका भक्तहरुले आर्थिक सहयोग गर्दैआएका छन् । धार्मिक मिसनरीबाट पनि सहयोग बटुल्ने गरेको भन्ने आरोप छ । आफू र आफ्ना सहयोगीलाई महँगा गाडीमा सवार हुने गरेका छन् । धर्मको नाममा राज्यलाई ठग्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने भनिएको छ ।

कथित धर्मगुरुको क्रियाकलाप सार्वजनिक भएपछि पत्रकार भद्रगोलले आफूमाथि आएको धम्कीलाई लिएर गृह मन्त्रालयलाई निवेदन गरेका छन् । ‘उदयपुर जिल्ला मैनामैनी गाबिस– २ का बुवा जयबहादुर राइको छोरा २०३७ चैत्र १७ जन्मिएका सोही जिल्लाबाट नाप्र नं. ४६९३९/३०७८ का अनुसार भक्तकुमार राई ‘स्वर्गिकदुत सद्गुरु ॐनन्द’ का नाममा नागरिकता लिएको सो व्यक्तिबाट दर्ता भएको सस्थाबाट सुप्रिम मास्टर गड एन्जल भनेर सर्ब साधारण लाई भ्रममा पारी करोडौ ठगी गरी रहेको छ,’ खुलापत्रमा भनिएको छ, ‘संसारभर आस्था र विश्वास गरिएका भगवान भन्दा ठुलो म हुँ भनी पर्चा पोस्टर बनाइ सामान्य जादु टुना देखाइ भ्रमित गरिरहेको छ । मैले उसको कार्यको बिरोध गर्दै ‘ठग ॐनन्द गड् एन्जल’ भन्ने सानो पुस्तिका निकाल्दा उसका मतियारहरुबाट सामाजिक सन्जाल, टेलिफोनबाट जहाँ भेटिन्छ त्यही मार्ने सम्मको धम्की आएको छ ।’ पत्रकार किरातीले धम्की दिने व्यक्ति र टेलिफोन नम्बरसमेत उल्लेख गरेका छन् ।

‘स्वर्गीकदुत सत्गुरु ॐनन्द सुप्रिम मास्टर गड एन्जल को नाम ले ठगी धन्दा गरी रहेको छ,’ आवेदनमा भनेको छन्, ‘उसको आफ्नो प्रचारको लागि बनाएको पोस्टर नै हेर्दा पत्ता लाग्छ । श्रीमानलाई सानो उनको बारेमा खोज गरी तयार पारीएको सामाग्री र नमुनाको रुपमा एउटा उनको पोस्टर हेरी मनन गरीदिनु हुन अनुरोध गर्दछु ।’

स्वर्गिक मार्ग संघबाट भारतका फलामसिङ चाम्लिङ राईको हत्या भएको आरोपसमेत लगाइएको छ । तिनै फलामसिङकी  श्रीमती र छोराबाट गत शनिबार राजधानीमा ‘गड होइन, ठग एन्जेल’ पुस्तक सार्वजनिक गराइएको छ । पीडित परिवारले आफ्नो पीडा सार्वजनिक रुपमा बोलेको जनाइएको छ ।

किरात राई पत्रकार संघले मंगलबार विज्ञप्ति जारी गर्दै संघका संस्थापक सदस्य तथा पूर्वमहासचिव भद्रगोल किरातीलाई प्रहरीले नियन्त्रणमा लिएप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कथित धर्मगुरु ओमनन्दका बारेमा पुस्तिकामार्फत् सत्यतथ्य सार्वजनिक गर्दा पत्रकार किरातीलाई राज्यले नियन्त्रणमा लिएको घटनाप्रति संघको तर्फबाट गम्भीर आपत्ति प्रकट गर्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौ,’ संघका महासचिव विजय चाम्लिङले भनेका छन्, ‘समाजसँग सरोकार राख्ने कुनै पनि विषयमा समाचार लेख्न पाउने, पुस्तक/पुस्तिकामार्फत् विचार प्रस्तुत गर्न पाउने संवैधानिक प्रेस स्वतन्त्रताको हक विपरीत समेत रहेकाले पुस्तिकामार्फत धर्म गुरु ओमनन्दमाथि लागेका आरोपका बारेमा पनि राज्य पक्षबाट गम्भीर छानविन गर्न/गराउन तथा पत्रकार किरातीलाई ससम्मान रिहा गराउन अनुरोध गर्दछौं ।’ (हेर्नुस् प्रेस विज्ञप्ति)

पत्रकार किरातीका विषयमा अनुसन्धानका क्रममा रहेकाले ‘बोल्न नमिल्ने’ महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल र परिसर प्रमुख एसएसपी विक्रम थापा जनाएका छन् । सत्य, तथ्य बाहिर आउन अझै बाँकी छ । त्यसैले प्रशासन तथा सुरक्षा निकायले पत्रकार किरातीलाई नियन्त्रणमा राखेर काबुमा राख्नेभन्दा पनि सार्वजनिक भएका विषयलाई न्यायिक रुपमा किनारा लगाउने तर्फ सोचिनु जरुरी देखिन्छ ।

यी हुन्- पत्रकार किराती
सोलुखुम्बुको सोताङका ३० वर्षीय मनोजकुमार राई साहित्य र पत्रकारिता क्षेत्रमा भद्रगोल किराती उपनामबाट चिनिन्छन् ।

करिअर निर्माणका क्रममा झापाको बिर्तामोडमा केही समय रहेर राजधानी छिरेका हुन् । झापामा रहँदा रेडियो कार्यक्रमसमेत चलाउँथे ।

किरात राई विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका पूर्वसंगठन विभाग प्रमुख, किरात राई पत्रकार संघका संस्थापक सदस्य तथा पूर्वमहासचिव हुन् । उनी ललितपुर जिल्ला प्रशासनबाट दर्ताप्राप्त ‘गाउँले’ मासिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशन हुन् ।

यी हुन्, गड एन्जेल
भक्तकुमार राई (ओमनन्द) २०३७ चैत्र १७ गते उदयपुरको मैनामैनी– २ माङ्तेन गाउँमा जन्मेका हुन् । उनले भक्तकुमार राई (स्वर्गिकदुत सद्गुरु ॐनन्द)को नाममा नागरिकता लिएका छन् । उनले आफूलाई ‘स्वर्गिकदुत सद्गुरु ॐनन्द’, ‘सुप्रिम मास्टर’, ‘गड एन्जल’ जस्ता उपनामबाट चिनाउने गरेका छन् ।