केहि अघि कवियत्री मनु कन्दंगवाको कविता संग्रह “बलिहांगतंगनाम मेरो मानसपटलमा” फेसबुक वालमा धेरैले सेयर गरे । कालो रंगको भुँइमा पुस्तकको नामलाई रक्त रन्जित बनाइएको आवरण रहेछ । कुनै हरर सिनेमाको पोस्टर शैलीको यस्तो आवरणले पुस्तक रहस्यमयी जस्तो बनाएको छ । फेरि ‘बलिहांगतंगनाम’ लिम्बू किराँतहरूको सांस्कृतिक शब्द हो । यसरी हेर्दा यो पुस्तक सांस्कृतिक निबन्ध या आख्यान हो की जस्तो भान पनि भयो तर तेसो नभएर यो त कविता संग्रह पो रहेछ ।

manu

पुस्तक हातमा पर्नासाथ मेरो कौतुहलता दुर गर्न शिर्षक कवितालाई पहिलो चोटी हेरेँ । यो कवितामा त मावोबादि जनयुध्दले शहीद बनाएको दाइको शोकमा बैनीको मार्मिक भावना पो रहेछ । परिबर्तनको सपना बोकेर हिडेको दाइ नफर्किने बाटोमा गएपछि बैनीले प्रत्येक तिहारमा उसलाई संम्झन्छिन् । कस्तो बिदिर्ण भो मन । तब थाह पाएँ आवरणको रहस्य । मलाई थाह छैन यो घटना स्वयं कवियत्री कै यथार्थ घटना हो या प्रतिनिधी कथा ।

सरसर्ती सबै कविताहरू हेरेँ । सरल र मीठा भावनाहरू कवितामा पस्किएका रहेछन । धेरै जसो कवितामा जीवन कै अनुभव र त्यसबाट प्रस्फुटित तिता मीठा कुराहरूको भावना छ ।

भोगाइ लेखकको पहिलो श्रोत हो । जीवन चल्दै चलाउदै जाँदा आइपर्ने बिबिध रंगहरू र तरंगहरू पोख्ने एउटा माध्यम कविता हो । त्यहाँ प्राय अनिच्छत स्वीकृतिहरू धेरै हुन्छन् । ती निजी बिषयबस्तु प्रकारान्तरले सबैसग हुन्छ । तर मनको बह कसैलाई नकह भने जस्तो मानिसले पिडा लुकाउँछन र बाहिर हास्छन् ।

‘बहार’ कवितामा मनको उत्कण्ठाहरू यसरी पोखिन्छन्-

“दिन रिसाएर
ठुस्स पर्छ
समय हिडिरहेछ
म हेरिरहन्छु ।”

यस्तो लाग्छ यो पाठकको आफ्नै भावना हो ।
तेसैगरि ‘कक्तेल’ कवितामा जिवन भोगाइका मिश्रित अनुभूतिलाई यसरी पोखिएको छ ।

“जिन्दगि कक्तेल रहेछ
पल पललाई फिटेँ
अनि आँखा चिम्लिएर भएपनि
टन्नै पिएँ ।”

“समुद्र, जुनकिरी र म”मा रात कता कता सन्त्रासमय छ तर कलरफूल जुनकिरीहरूको मौन नृत्यले मन भुलेको अबस्था छ ।

“म भने जहाँको तहिँ छु
मेरो समुद्र मेरो रातको जुनकिरी
मेरो फस्टफेरी
मलाइ सधैं साउती मार्ने
समुद्रमाथिको मेरो जुनकिरी ।”
(समुद्र, जुनकिरी र म)

आफ्नो भावनालाई मीठो गरि पस्किन्छिन मनु-
“कहाँ पुगिन म ?
हिउँफूलको बगैँचा
सुनगाभाको शहर
जुनताराको देश
बादलको घर
समुद्रको आँगन ।”
(कहाँ पुगिन म ?)

balihang

यी कविताहरूमा जीवन पाइन्छ र जिउने क्रममा प्राप्त अनुभूतिहरू पाइन्छ । जिजीवीषाको दौरानले ल्याएको समय खण्डहरू पाइन्छ ।

हंगकंगको परिवेशमा लेखिएका केहि कविताहरूको चर्चा गरौँ ।

डलरको हतार’, ‘सण्डे मामा’, ‘बुलबुल चरी’, ‘टाइफ़ून-३’, एडिग पार्क’ र ‘समुन्द्र जुनकिरी र म’ हंगकंगको परिवेशमा लेखिएका कविताहरू हुन् ।
‘डलरको हतार’ कविताले सबै बिदेशी जीवनको बर्णन गर्छ । ‘सण्डे मामा’ले अबकास प्राप्त लाहुरे तथा पाँच दशक उमेर माथिका छोरा मान्छेले हंगकंगमा बिताउने सालाखाला जीवनको तरिकाको कुरा गर्छ ।
‘बुलबुल चरी’ले हंगकंगमा बैभवताको आवरणमा खण्डित नेपाली परिवारको मार्मिक चित्रण गर्छ । ‘टाइफ़ून-३’ त्यहाँ आइरहने सामुद्रिक आँधीको नाम पनि हो । यसले मानिसको मनमा एक रोमांचित एबं त्रासको संम्बेग दिलाउँछ तेहि कुरा कवितामा छ । ‘एडिग पार्क’ले कुलतमा लागेका नेपाली युबा युवती र तिनीहरूको असामाजिक कृयाकलाप अनि तिनीहरूको लापरवाहीले श्रृजेको कालो पक्ष जाहेर गर्छ ।
केहि कवितांशहरू-
‘हतारमा
अनि झोलामा
लन्चबक्स हाल्छु र
निस्कन्छु ।’
(डलरको हतार)

‘बाहिर टाइफून ३
म निदाएकी छैन
झ्यालमा बतास ठोक्कीएर
पर्दाहरू लतारि रहयो ।’
(टाइफून ३)

‘छेँ चाइमा
लाप्साप थंग राखेर
मिंगपाउको झोला झुण्डाउदै
छेँ चाइ गुडाउँछिन छ्यामा ।’
(बुल बुल चरी)

अन्य केहि कवितामा,

-‘बलिहांगतंगनाम र मेरो मानसपटलको अतीत’ले एउटा कालो र कारूणिक अतीतलाई देखाउँछ । यो उसबेलाको प्रतिनिधी परिवेश हो । मावोबादी युध्दताका हिंसाले परिवार, समाज र देश कस्तो बिपतिमा थियो भन्ने कुरा यो कवितामा पाइन्छ ।

‘एउटाले भन्यो
कामरेड !
लागौँ हामी टाडा पुग्नु छ ।’
-‘जन्म पहिचान’ले पहिचान बोलेको छ । म किन भुकुल्ली, मोटी र पोक्ची भएँ ? कारण म नजन्मदै मेरो आमाले फाक्सा र पेना थी खाएको थियो । मेरो बाजे र बोजूले मलाई हाक्पारे ख्याली र साकेला सिली गाउदै हुर्काएको हो । तेसैले मसग पालाम छ, ख्याली छ, हाक्पारे छ, मुन्धुम र मिथकहरू छन् ।
‘जब म हुर्कदै हुर्कदै
केहि कुरा बुझ्ने भएँ
बाजेले
नागरा निसान, ढाल तरवार र
लालमोहरका इतिहास सुनाए
मानसिंह चेम्जोंग र श्रीजंगा चिनाए ।’

-प्रणय कविता ‘किनारा’ले पैसा र महात्वाकांक्षाले दुखेको समन्धको कुरा गरेको छ । के जीवन सिम्फोनी रंगहरू मात्रै हो त ? भन्ने भावुक प्रश्न छ कवितामा । समय र बाध्यताले किनारा लाएको जोडीको प्रेमिल भाव पनि हो यो कविता ।
“तिम्रा चोटहरूमा
म किन साँझको घाम ?
मेरा तृष्णाहरूमा
तिमी किन क्षितिजको जून ?”

-बकैनाको रूख लाई देशको बिम्ब बनाइएको छ ‘बकैनाको रूख’ कवितामा । बकैनाको रूख राम्ररी नहुर्कदै र बुढो भइन्जेल लुछिएको छ । टोड्का पारिएकोछ । कुरूप बनाइएको छ ।
“म यिनै कुराहरूसग सम्बाद गरिरहेछु
काभ्राको रूखमा पिपल हुर्कन्छ भने
के बकैनाको रूखमा
काभ्रा हुर्कन सक्दैन ?
रोप्ने हिम्मत त गरौँ ।

क्लिष्टतालाई अब्वल कविताको मानक बनाइएको पनि पाइन्छ तर कवि उपेन्द्र सुब्बा सरल कविता लेखेरै सेलेब्रिटी भएका छन् । मनुका कविता पनि सरल छन् । अनाबस्यक लामा पनि छैनन । कुनै जटिल बिषयहरू पनि छैन । सामान्य पाठकहरूले पनि कविताको स्वाद लिन सक्छन् ।
अन्तमा,
-मनु कन्दंगवाले आफ्नो भनाइमा “मैले हिड्ने जीवनका हरेक बाटोहरूमा जे जति बिम्बहरू भेट्छु तिनै बिम्बहरूलाई टिपेर ‘कविता’ भन्दै उन्ने गरेकी छु ।” भन्नु भएको छ । प्रायः कविताहरू जीवनकै आरोह, अबरोह र परिवेशमा बगेका छन् तर बिम्ब प्रयोग भने कमजोर छ । बिम्ब प्रयोग एक काब्य कला हो जस्ले थोरैमा धेरै कुरा सम्प्रेषण गर्छ ।
उदाहरणार्थ कवि उमेश अकिन्चनको सानो कविताँश राख्न चाहन्छु
“जोगवनी,
यति पूँजीप्रेमी छ कि
नीतिश कुमारका तस्विरहरू
उतै लुकाएर
लालु प्र.यादवका पोष्टरहरू
नेपाल तर्फ पठाइरहन्छ ।”

कविता आख्यान नहोस त्यहाँ थोरैमा ब्रम्हाण्ड अटावोस तेस्तो कविता शक्तिशाली हुन्छ ।

-केहि सांस्कृतिक चर्चाहरू र देशभक्ति कवितामा पाइए पनि राजनैतीक चेतका कविताको कमी देखियो ।
-कविताहरू मीठासपूर्ण र सरल छन तर बौध्दिक पाठकलाई बिचारोत्तेजक खुराक दिन नसकेको अबस्था चाहि छ ।
-तेस्तै पुस्तक सामान्य भन्दा सानो आकारमा आएको छ । अहिलेको बजार अनुसार जाने हो भने पुस्तक आकार, कागजको गुणस्तर र सजावट पनि ध्यान दिनु पर्ने हुन्छ ।
बैनी मनुको कविताको त म पारखी नै हुँ । सधैँ राम्रा कविताहरू श्रृजना भइरहोस । शुभकामना ।

ashok

(समिक्षक अशोक चाम्लिङ्ग राई हाल अमेरिका बसोबास गर्दै हुनुहुन्छ ।)