पोखरास्थित कन्धनी डाँडाको भवानी प्राइमरी स्कुलमा पढाउँदा एक विद्यार्थीको नदीमा डुबेर मृत्यु भयो । त्यो घटनाबाट निकै विक्षिप्त बनेका अर्यालले आफैं गोकर्णस्थित बागमती नदीमा हामफालेर जीवनको इहलिला समाप्त पारे । यो संयोग थियो या नियतिको दुष्चक्र ? खैर जे होस्, नेपाली साहित्यले हाँस्यव्यंग्य विधाका एक शिखर पुरुष गुमायो ।

काठमाडौंको उत्तरपूर्वी काँठ क्षेत्र नेपाली साहित्यको तपोभूमि हो भन्दा फरक पर्दैन । भैरव अर्याल, रमेश विकल, नारायण ढकाल, विजय चालिसे त्यहीँ जन्मिए । ढकाल र चालिसे आज पनि साहित्य साधनामा दत्तचित्त छन् । अर्याल र विकलको भौतिक चोला अस्ताएको वर्षौं भइसक्यो ।

३० वर्षकै उमेरमा साहित्य नभका चम्किलो तारा बनिसकेका अर्यालले ४० वर्षको अल्पायुमै देह त्यागे । छोटो समयमै साहित्यको शिखर चुमेका यी महानायकको गुप्त पाटो केलाउने प्रयास गरेका छौं ।

अर्यालको पूरै जीवनकाल दुःखैदुःखकोे बोझले थिचियो । आफैं पीडामा पिल्सिएको मानिसले कसरी अरुलाई हँसाउन सक्छ ? व्यथाले आक्रान्त भएर थलिएको मान्छेले कसरी अरुलाई मनोरञ्जन दिन सक्छ ? दुनियाँको पीर, व्यथा बुझ्ने सर्जक आफैं किन दुःखको सागरमा डुबेको हुन्छ भन्ने बुझ्न संसार पढिरहन जरुरी छैन, भैरव अर्यालको जीवन पढे पुग्छ ।

व्यंग्य चेतनाका धनी अर्यालको भौतिक शरीर नरहे पनि उनका अमर रचनाहरुले उनलाई सशरीर उपस्थित गराइरहन्छन् र पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन् । उनले दशकौंअघि गरेका कटाक्ष र व्यंग्य आजको परिवेशमा पनि उत्तिकै ताजा लाग्छन् ।

‘काउकुती-२०१९’, ‘जय भुँडी-२०२२’, ‘गलबन्दी-२०२६’, ‘इतिश्री-२०२८’ ‘दश औतार-२०३४’ लगायत नेपाली साहित्यका उत्कृष्ट हाँस्यव्यंग्य निबन्धसंग्रहका रचयिता अर्याल आफैंको जीवनमा भने कहिल्यै हाँसो आएन ।

यहाँ कवि, निबन्धकार, समीक्षक, समालोचक, गोरखापत्र दैनिकका उपसम्पादकसमेत रहेका अर्यालको ओझेल परेको पाटो उधिन्ने प्रयत्न गरिएको छ । विस्मृतिको चाङमा थन्किइसकेको उनको जीवनका पाटालाई हामीले धेरेथोर प्रकाशमा ल्याउने प्रयास गरेका छौं ।

० ० ०

विसं. १९९३ असोज ५ गते ललितपुरको कुपन्डोलमा जन्मिएका अर्यालको पारिवारिक अवस्था सुखद थिएन । उनका दाजुभाइ चार जना थिए । त्यसमध्ये जेठा थिए उनी । बाबु प्रहरीमा लेखापालको सामान्य जागिरे थिए । खेतीपाती नभएकाले उनको परिवार बसाइ सरेर जोरपाटीस्थित दक्षिणढोका पुग्यो । दक्षिणढोका गएपछि पनि उनीहरूको पारिवारिक आर्थिक अवस्था सुध्रिएन । त्यसैबीचमा जन्मिए तीन छोरा र तीन छोरी ।

दरबार हाइस्कुलबाट माध्यामिक तह सकाएका अर्यालले प्रवीणता प्रमाणपत्र तह र स्नातक निजी शिक्षालयबाट उत्तीर्ण गरे । २०२६ मा त्रिभुवन विश्वविद्यालयबाट एमए सिध्याए ।

सानैदेखि मुक्तक र हाँस्यविधामा लेख्न रुचाउने अर्यालले जीवनको केही समय अध्यापन पनि गरेको उनका छोरा दीपक अर्याल बताउँछन् । “पारिवारिक दायित्व उठाउन पिताजीको १२ वर्षको कलिलै उमेरमा विवाह भयो,” दीपक भन्छन् ।

गोकर्णस्थित अर्याल गाउँका बद्रीनाथ आचार्यको डेरामा उनकै भान्छे भएर मध्यमा सके । सुरुमा संस्कृत पढेका हुन् उनले । मध्यमा परीक्षाको फर्म भर्न पैसा नभएपछि उनले जुक्ति निकालेछन्– तत्कालीन राजा महेन्द्रलाई चिठी लेख्ने । उनले विन्तीपत्र लेखेर दरबार पठाएछन् पनि । कवितात्मक भावमा पत्र लेखेर पठाएपछि महेन्द्रले पढाइको शुभकामनाका साथै केही रकमसमेत पठाएको उनका सहपाठी बल्लभमणि दाहाल बताउँछन्।

साँखुको विद्यालयमा पढाउँथे उनी । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य साँखुबाट काठमाडौं फर्कंदै थिए । त्यहीबेला अर्यालले विद्यार्थी लिएर बाटो छेक्दै पञ्चायत*  सरकार विरुद्ध  नाराबाजी गरेछन् । विद्यालयमा भवन र वेन्च नभएको गुनासो सुनाउँदै माग पूरा गर्न बाध्य बनाएछन् । त्यही घटनापछि उनलाई जोरपाटीतिर कम्युनिस्ट भन्न थालिएछ । तर, उनले कम्युनिस्ट पार्टीको सदस्यता भने कहिल्यै लिएनन् ।

० ० ०

यता पारिवारिक दायित्व पनि बढ्दै थियो, उता साहित्यक क्षेत्रमा उपस्थिति सशक्त बन्दै थियो । त्यस्तैमा उनले प्राथमिक तहसम्म पढाउने सामान्य तालिम लिए । तालिमपछि २०११ सालमा उनी कास्कीको कन्धनी डाँडा (हाल लेखनाथ नगरपालिका वडा नं. ५) मा पढाउन गए । उनलाई त्यहाँ पुर्याउन भूमिका खेलेका थिए– नारायणदत्त रानाभाट र रसमोहन शर्माले । नारायणदत्त पूर्वसभामुख तारानाथ रानाभाटका पिता हुन् । आफ्ना छोराछोरीलाई पनि पढाउन पाइने र गाउँका अन्य बालबच्चाको पनि शैक्षिक भविष्य उज्वल हुने सोचेर नारायणदत्त र रसमोहनले अर्याललाई पोखरा झिकाएका थिए ।

त्यतिबेला भर्खर गाउँमा विद्यालय खोलिएको थियो । काठमाडौंबाट पढाउन पुगेका थिए अर्याल । उतिबेला नेपालबाट पढाउन आएको भनेपछि सम्मानै बेग्लै हुन्थ्यो । अर्यालले मानमनितो पाउने नै भए ।

पूर्वसभामुख रानाभाट उनलाई सरल र सरस व्यक्तित्वका धनी मान्छन् । उनी पनि अर्यालका प्रिय विद्यार्थी थिए । भन्छन्, “मैले जीवनमा जे–जति शिक्षा हासिल गरें, त्यहो भैरव अर्यालले नै बसाइदिएको जग हो ।”

त्यतिबेला गुरुकुल शिक्षा पद्धति थियो । दुर्गा कवच, दुर्गा सप्तसती चन्डी आदि पठनपाठन हुन्थ्यो । तर, अर्यालले अंग्रेजी पठनपाठन सुरु गरे । रानाभाट सम्झिन्छन्, “हामीलाई अंग्रेजीको बाटो देखाउने नै उहाँ हो ।”

रानाभाटकै घरमा बस्थे अर्याल । बाह्मण भएकाले उनी रानाभाट परिवारले पकाएको खाना खाँदैनथे । त्यसैकारण उनलाई भात पकाएर खुवाउने जिम्मा त्यहीँका एक विद्यार्थीलाई दिइएको थियो ।

पठनपाठनका अतिरिक्त अर्यालले प्रत्येक साता बालसम्मेलन आयोजना गर्थे । विद्यार्थीहरूलाई कविता, मुक्तक सिर्जना गर्न लगाउने र वाचनसमेत गर्न अभिप्रेरित गर्थे । निकै छोटो समयमा उनी विद्यार्थीमाझ लोकप्रिय भए । र, गाउँलेका पनि प्रिय बन्न पुगे ।

प्रत्येक शुक्रबार र शनिबार उनका रचना र गफ सुन्न गाउँलेहरू भेला हुन्थे । त्यसबाहेक उनले गाउँलेहरुलाई अन्य विषयमा पनि आफ्ना कुरा भन्थे । रानाभाट १०–११ वर्षमात्रै भएकाले बुझ्ने कुरै भएन ।

आफ्ना हाँस्यव्यंग्य रचनाहरुले उनी गाउँलेलाई मन्त्रमुग्ध पार्थे । काठमाडौं आएका बेला टन्न पुस्तक जम्मा पार्ने र वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत पनि गर्थे उनी ।

विद्यार्थीलाई सिक्न जति उत्साहित बनाउँथे, दण्डमा पनि उत्तिकै कडा थिए भन्छन् रानाभाट । “पढ्न अल्छी गर्ने र आनाकानी गर्ने विद्यार्थीलाई कुद्दै डाँडा चढ्न लगाउने र कुद्दै ओरालो झर्न लगाउनुहुन्थ्यो,” उनले सम्झिए ।

त्यतिबेला दुःखद् घटना भयो । शुक्रबारको दिन थियो । आधा दिनमात्र पठनपाठन हुन्थ्यो । केहीबेर बालसम्मेलन चल्थ्यो । सम्मेलनमा कविता, मुक्तकलगायत आ–आफ्ना रचना वाचन गरेपछि केही विद्यार्थीले निधो गरे– खोलामा पौडी खेल्न जाऊँ ।

त्यसमा सहमत नहुनेहरू घरतर्फ लागे । रानाभाटलगायत ८–१० विद्यार्थी स्थानीय विजय खोलामा पौडी खेल्न थाले । उनीहरूसँगै थिए अर्याल पनि । आत्मीयताले हो या आफ्नो दायित्व सम्झेर, अर्यालले विद्यार्थीलाई स्वच्छन्द छाड्दैनथे ।

सबै विद्यार्थी खोलामा रमाइलो गर्दै थिए । तर, अचानक एक विद्यार्थी गायब भए । तलतिर खेल्न गयो होला भन्ठानेर उनीहरूले खासै वास्ता गरेनन् । घर हिँड्ने बेलासम्म पनि नआएपछि उनीहरूको मनमा चिसो पस्यो । खोजतलास गर्न थाले ।

केही बेरपछि उनी पानीमा तैरिरहेका भेटिए । भेटिनुअगावै उनको प्राणपखेरु उडिसकेको थियो । त्यो घटनाबाट अर्याल निकै विक्षिप्त भए । ती उनका प्रिय शिष्य थिए । बलबहादुर रानाभाट थियो उनकाे नाम । “उनको निधन भएपछि अर्याल गुरु निकै विह्वल बन्नुभयो, प्रिय विद्यार्थी गुमाउनुपर्दाको चोट मस्तिष्कमा गहिरो गरी पर्यो । त्यसपछि उहाँ हाम्रो घरमा बस्न पनि छाड्नुभयो,” रानाभाटले स्मरण गरे ।

केही समय रसमोहन शर्माकहाँ बसे र त्यसपछि पोखरा छाडे । काठमाडौंकै इन्द्रायणी प्राविमा सरुवा भए । उनले पोखरामा डेढ वर्ष समय बिताए ।

पोखरा छाड्ने सहायक कारण पनि थियो– लुतोको महामारी । त्यसबेला कन्धनी डाँडामा लुतोले आतंकै मच्चाएको बताउँछन् रानाभाट । “अचानक जिउ चिलाउन थाल्ने र पछि खटिरा निस्केर पाक्ने हुँदा हामी निकै भयभित भएका थियौं,” उनले भने, “हामीलाई मात्र नभएर अर्याल गुरुको शरीरमा पनि खटिरा आएको थियो ।”

काठमाडौं गएपछि पनि उनको मन पोखराबाट हटेन । र त, पोखराका आफ्ना विद्यार्थी र गाउँलेलाई सम्बोधन गर्दै उनी बारम्बार चिठ्ठी लेखिरहन्थे । रानाभाट भन्छन्, “हाम्रो घरमा खाएको मकै भटमास, मोही, पुवालगायतका खानेकुरा सम्झिएर र यहाँको आत्मीयताबाट आह्लादित भएर उहाँले पटक–पटक पत्रसमेत कोर्नुभयो ।”

० ० ०

साँखुको इन्द्रायणी प्राविमा सरुवा भएपछि उनको अध्यापन लामो समय रहेन । त्यसपछि उनी ‘हालखबर दैनिक’मा आबद्ध भएर पत्रकारिता सुरु गरे । सुरुमा सहयोगी भएर पत्रिका छिरेका अर्याल पछि त्यसैको सम्पादकसम्म भए । त्यहाँ उनले तीन वर्षजति काम गरे । त्यसपछि ०१८ मा ‘गोरखापत्र’ छिरे । संसार नछाड्दासम्म उनले ‘गोरखापत्र’मा काम गरे । मृत्यु हुँदा उनी ‘गोरखापत्र’का उपसम्पादक थिए । सम्पादक थिए– केशवराज पिँडाली ।

साहित्यक क्षेत्रमा उनले २००९ सालमै पदार्पण गरेको अभिलेखहरूले देखाउँछन् । ‘नयाँ जीवन’ शीर्षकको कविता रचेर उनले काव्यिक फाँटमा पाइला टेकेका हुन् । तीन दशकको सिर्जना यात्रामा कविता, निबन्ध, समालोचनाका गरी एक दर्जनभन्दा बढी पुस्तक छापिएको बताउँछन् रोचक घिमिरे । त्यसो त घिमिरेले नै उनलाई साहित्य सिर्जनामा ओत दिएका हुन् । लामो समय टंगालस्थित उनकै घरमा बसे अर्याल । घिमिरेलै घण्टौं कोठामा थुनेर निबन्ध लेख्न लगाएको र लेखुन्जेलका लागि चुरोटदेखि खानासम्मको प्रबन्ध आफैं मिलाइदिएका अनेक किस्सा सुनाउँछन् उनी । उनको पहिलो हाँस्यव्यंग्य संग्रह ‘काउकुती’ हो । यो बासुदेव शर्माले प्रकाशन गरेका थिए । उनले पछि हाँस्यव्यंग्यमात्रै छाप्ने ‘कौवा प्रकाशन’ खोलेका थिए । अर्यालका रचना छापेरै कौवा प्रकाशनले तहल्का मच्चाएको थियो उतिबेला ।

० ० ०

साहित्य साधना, शिक्षण र पत्रकारिता मार्फत जीवनको उतार–चढाव बेहोरेका अर्यालमा घाँटीको समस्या देखा पर्यो । नेपालमा उपचार राम्रो नभएपछि उनी जर्मनीसम्म पुगे । तर, त्यहाँ पनि उनको उपचार राम्रो भएन । त्यसपछि उनमा निराशा पैदा हुन थालेको छोरा प्रकाश बताउँछन् । “उपचार गराउन उहाँ जर्मनी जानुभयो तर त्यहाँ पनि राम्रो उपचार नभएर हो या अन्य गडबडीले– बोली धोद्रो सुनिन थालेको थियो,” उनले भने ।

विभिन्न मञ्चमा कविता पढ्न जाँदा, गोष्ठीहरूमा सहभागी हुँदा स्वर ननिस्कने समस्याले उनीमा हीनभाव पैदा हुँदै गएको थियो । १६ वर्षकै उमेरदेखि उनलाई त्यो रोग लागेको रहेछ । बाेल्दा बाेल्दै असह्य पीडा हुँदा उनी हातले घाँटीका नशा थिचेर पनि रचना वाचन गर्थे ।

यता नोकरीबाट पनि उनी सन्तुष्ट थिएनन् । उनका समकक्षीहरू सबैको पदोन्नति हुने तर आफ्नो नहुने तनावबाट उनी प्रताडित हुँदै गएको नजिकबाट जान्नेहरू बताउँछन् ।

उनीभित्र साहित्यको अथाह प्रतिभा थियो । खुम्च्याएको थियो– सामाजिक र आर्थिक अवस्थाले । उनले व्यंग्य लेख्थे । राजनीति र तत्कालीन सत्ताप्रति तीब्र घोचपेच गर्थे तर बुझ्नेको जमात कति नै थियो र ! बरु खिसिट्युरी गर्नेहरु निस्किए । तिनले कुनै न कुनै कोणबाट उनलाई खुइल्याइरहे । दपेटिरहे ।

त्यसपछि उनमा जीवनप्रतिको निराशा झनै झांगियो । उनले निर्णय लिइसकेका रहेछन् । कहिलेकाहीँ छोराहरूलाई भन्दा पनि रहेछन्– म मर्छु अब, तिमीहरू गरिखाओ ।

साना छोराहरु रुँदै भन्थे, “तपाईं मर्नुभयो भने हामी कसरी बाँच्ने ? नमर्नुस् न बा !”

नियति अझै निर्मम बन्यो । ०३३ को दसैंको द्वादशी मध्यरात उनले घर छाडे । सँगै सुतेका थिए माइला छोरा प्रकाश । तर, उनले सुइँकोसमेत पाउन सकेनन् । बाबु हराएपछि छोराहरू रोइकराइ गर्न थाले । साथीकहाँ गए कि भन्ने पनि पर्यो । मध्याह्नसम्म पनि घर नफर्किएपछि परिवारको मनमा चिसो पस्यो । सारासंसार खोजे, कतै भेटेनन् । ३ दिनपछि बागमती नदीमा उनको शव फेला पर्यो । नाबालक छोराछोरीले पितृवात्सल्य गुमाएनन्मात्रै, देशले साहित्यको अग्रपुरुष गुमायो । आफू रोएर पनि अरुलाई हँसाउने अर्याल अन्ततः सबैलाई रुवाएर बिदा भए ।

छोरा प्रकाश भन्छन्, “दसैं सबै परिवार मिलेर राम्रैसँग मनाएका थियौं तर आकाशमा पूर्ण चन्द्र लाग्न दुई दिन बाँकी रहँदै हामीले जीवनमा औंसीको रात बेहोर्नुपर्यो ।”

त्यसो त उनले आत्महत्याका लागि पटक–पटक प्रयास गरेका रहेछन् । कहिले झ्यालबाट समेत हाम फाल्न खाेज्ने त कहिले कोटको खल्तीमा विषका चक्की फेला पर्थे । यस्ता व्यवहारले परिवार आजित थियो ।

परिवारले सुनेसम्म मृत्युअघि अर्यालले गोकर्णस्थित महादेव मन्दिरका जोगीसँगै बसेर चुरोट खाएका थिए । त्यतिबेला राति १२ बजेको थियो । मध्यरात चुरोट खान आएको देखेर जोगी अचम्मित भएका थिए रे ! जोगीसँग छुट्टिएलगत्तै उनले पुलबाट खोलामा हाम फालेछन् । जोगीले छप्याल्याङ्ग गरेको आवाजसमेत सुनेका थिए रे ! मृत्युका सन्दर्भमा जे–जस्तो हल्ला चले पनि उनको परिवार निश्चित छ– अर्यालको मृत्यु आत्महत्या हो ।

० ० ०

सानै भएकाले छोराछोरीले बाबुको पितृप्रेम पाउन सकेनन् । माया नै नगरेका होइनन् तर उनले अँगालो हालेर बस्ने फुर्सदै पाएनन् ।

अल्पायुमै बाबुले छाडेर गएपछि अर्यालको परिवार निकै समस्यामा पर्यो । आमाले बनिबुतो गरेर हुर्काइन् । बाबु हुँदा पनि न्यानो आलिंगन नभेटेका उनीहरूलाई आमाले निकै कष्ट गरेर पढाइन् ।

जेठा छोरा दीपकले मेट्रोलोजीमा पीएचडी गरेका छन् र विश्वविद्यालयमा प्राध्यापन गर्छन् । अर्का छोरा प्रकाशले एमएस्सी गरेका छन् र कलेजमै प्राध्यापन गर्छन् । तीन दिदीबहिनीको पनि आ–आफ्नै घरजम छ ।

०५२ मा कान्छा छोरा बेपत्ता भए । ०६८ मा अामा (भैरव अर्यालकी श्रीमती)को निधन भयो । आमा बित्दा पनि कान्छा छोरा फर्किएनन् ।

प्रकाश भन्छन्, “बुबा बितेको घाउ खाटा बसिसकेको थियो, अचानक भाइ हराएपछि फेरि बल्झियो । आज पनि हामी भाइ फर्कने आशामा छौं ।”

० ० ०

‘चेनस्मोकर’ थिए उनी । दिनको एक बट्टा चुरोट सिध्याउँथे । सिर्जनामा तल्लीन हुँदा घन्टौंसम्म एकान्तमा बस्थे । के–के लेखिरहन्थे । चुरोटका अनेक किस्सा उनका निबन्धमा पनि पढ्न पाइन्छ । ‘चुरोट : केही झिलिमिली संस्मरण’मार्फत त्यसलाई छरपष्ट पारेका छन् ।

“त्यतिबेला ४५ पैसामा १० खिल्ली चुरोट आउँथ्यो,” छोरा दीपक भन्छन्, “त्यति चुरोट एकदिनमै सिध्याउनु हुन्थ्यो, कहिले त त्यसले पनि पुग्दैनथ्यो ।”

उनी रचना र सिर्जनाको माध्यमबाट समाजसित हार्दिक र खुला रूपमै बातचित गर्थे । उनले समाजलाई त बुझाए तर आफैंलाई बुझाउन सकेनन् । दुनियाँलाई आजसम्म हसाउँदैछन् तर आफू हाँस्दै नहाँसी बिदा भए ।

समाजबाट अलग्गयाएर आफूलाई एक्लै हिँडाउन खोजे र अल्यायुमै मृत्युलाई अँगालो मार्न पुगे । स्रष्टा आनन्ददेव भट्ट भन्छन्, “जे होस् भैरवजी गए तर कसैसित दुई वचन नबोली गए । उनले आफ्नो समस्या खुला रूपमा राखेको भए समाधान निस्कन्थ्यो कि ! गुनासो सधैं रहिरह्यो ।”

० ० ०

तत्कालीन राजनीतिक अवस्था र समाजको संक्रमणबाट उनी पनि प्रभावित थिए । यसैकारण उनको युवा जोस र जाँगर कतिपय सन्दर्भमा राज्यसत्ताको पक्षमा र कतिपय विपक्षमा पटाक्षेप भएका छन् । भैरव अर्यालसँग विमती राख्नेहरू भन्छन्– ऊ कम्युनिस्ट थियो र थिएन ।

उनका कतिपय रचना तत्कालीन सत्ताले वाचन गर्नसमेत प्रतिबन्ध लगायो । उनको ‘कुक्कुर स्वर्गे हुँदा’ भन्ने कविता गाईजात्रा महोत्सवमा पढ्न दिइएन ।

अनुप्रासयुक्त भाषा र विषयवस्तुको स्वाभाविकताले हँसाउनसम्म हँसाउने, झर्राे शब्द प्रशस्त प्रयोग गर्ने, सामाजिक कुरीतिलाई तीक्ष्ण व्यंग्य गर्ने, सुधारात्मक लक्ष्य लिने र सामाजिक स्वस्थको हुटहुटी भैरवको लेखनमा पाइने साहित्यकार तारानाथ शर्मा बताउँछन् ।

उनले यसै सन्दर्भमा भनेका छन्, “निबन्धमा लोकप्रिय हस्ताक्षर, यस फाँटका अविजेय प्रतिभा, उनको हाँस्यव्यंग्य प्रविधि अत्यन्त प्राञ्जल, मधुमय र तिख्खर देखिन्छ, उनलाई कुनै पनि विषयमा निबन्ध लेख्न कन्नु र गम्नु पर्दैनथ्यो ।”

उनी पाठकलाई हँसाएर व्यंग्यको तीतोपनालाई ग्रहणयोग्य बनाउन सिपालु थिए । उखानटुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यंग्य कस्न उनी माहिर थिए ।

उनको व्यंग्यचेत उन्नत छ । उनी भन्थे, “एकथरी ठान्लान्– हाँस्यव्यंग्य भनेको अरूलाई उडाएर हाँस्ने, हँसाउने कला हो । तर त्यो उडाइने ‘अरू’ व्यक्तिमा सीमित रह्यो भने त्यस व्यंग्यले हाँस्य होइन, वैमनश्यता सिर्जना गर्छ । त्यसैले व्यंग्य व्यक्तिको होइन, व्यक्तिभित्रका अमिल्दा, बिक्ल्याँटा र बिग्याहा प्रवृत्तिमाथि हुनुपर्छ, जसले त्यसखालका प्रवृत्ति हुनेहरू सबैलाई छुन सकोस् ।”

हाँस्यव्यंग्यकै सन्दर्भमा उनले किटान गरेका थिए, “एकथरीको ठम्याइ के हुन्छ भने उटङ्ग्याइ, ग्रामीणता, अश्लील र अस्वाभाविक चर्तिकलाको चित्रण नगरी हँसाउन सकिँदैन, तर यस्ता चिज केही अंशमा सहायक भए पनि हाँस्यका सञ्चारी व्यभिचारी भाव यीमात्र हुन सक्तैनन् र यस्तैमा मात्र आधारित हाँस्यलाई उन्नत कोटीमा लिन पनि सकिँदैन । वास्तविक हाँस्यव्यंग्य जीवनको वरिपरि घुमेको हुन्छ र सत्यको गहिराइतिर बढेको हुन्छ ।”

नेपाली समालोचना र भूमिका लेखनप्रति उनले उतिबेलै कटाक्ष गरेका थिए । भनेका थिए, “नेपालमा समालोचना र भूमिकाको पनि एक विशेष पद्धति छ । अनुहार हेरेर चिप्लो घस्नु यसको एउटा विशेषता हो भने दौरा हेरेर टिप्पणी गर्नु अर्को विशेषता ।”

समयक्रमसँगै उनका कालजयी हाँस्यव्यंग्यप्रति पछिल्लो पुस्ता बेखबरजस्तै भएको छ । समकालीन साहित्कारहरु उनको नामै लिन नपरे हुन्थ्योझैं गर्छन् । छोरा दीपक भन्छन्, “नेपाली साहित्यका शिखर व्यक्तित्वको सम्झना राज्यलाई पनि छैन ।”

तथापि समाजले उनलाई सम्झिएको छ । उनको स्मृतिमा ०४६ तिर जोरपाटीमा भैरव पुरस्कार गुठी स्थापना भएको छ । रमेश विकल त्यसका संस्थापक अध्यक्ष थिए । हाल रोचक घिमिरेले नेतृत्व सम्हालिरहेका छन् ।

गुठीले हरेक दुई/दुई वर्षमा प्रतिभावान् साहित्कारलाई पुरस्कृत गर्छ । उनका कृतिहरूको संरक्षण गर्ने जिम्मा पनि परिवारले गुठीलाई नै सुम्पिएको छ । गुठीले अर्यालका केही अप्रकाशित रचना पनि प्रकाशन गरेको छ । र, त्यसलाई देशको सम्पत्ति बनाइदिएको छ ।

‘जय भुँडी’ निबन्ध संग्रहका सर्वाधिकार रत्नपुस्तक भण्डारलाई दिए पनि अन्य कृतिको रोयल्टीको जिम्मा पनि गुठीले नै लिएको छोरा दीपक बताउँछन् ।
उनको सम्मानमा जोरपाटी चोकमा अर्धकदको शालिक निर्माण गरिएको छ । तर, राज्यको स्मृतिमा भैरव अर्याल एकादेशको कथा भइसकेका छन् ।

० ० ०

उनका केही प्रतिनिधि कविताहरू

कुकर स्वर्गे हुँदा

एउटा महान् दुर्घटना भयो
एउटा अपूरणीय क्षति भयो
उद्धार समितिको कारले किचेर
मेरो कुकर स्वर्गे भयो !
कुकुर पनि स्वर्ग जान्छ ? भन्नुहोला
नरक गयो !
तर, नरक त उसले नजाँदै भोगिसकेको थियो ।
एक लाख सम्मानितहरूलाई उसले
एक बिहानभित्र ढोगिसकेको थियो
भक्तिभावमै उसको रौं खुइलिएर गयो !
मेरो कुकुर स्वर्गे भयो !

उसको भुक्ने काम अखबारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कस्सिए
झैझगडाको दायित्व साहित्यकारले टिपे
पुच्छर हल्लाउनेमा प्रशासक खटिए
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो
मेरो कुकुर स्वर्गे भयो !

अब मुसाहरूले चारकोसे झाडीमा डढेलो लाऊन्
या बिरालाले त्यसमा सिंहदरबार सेकाऊन्
मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन
अब बुद्धको आँखा उडाएर गिद्धहरूले समुद्र तारून्
या सयौं बाज मिलेर एउटा परेवा मारून्
मेरो कुकुरले आँखा उघार्नेसम्म छैन ।
ऊ त ठाडै भीमसेन थापाको सती गयो
मेरो कुकुर स्वर्गे भयो !

आऊ अब शोकसभा गरौं
शोकप्रस्ताव यहाँ रेडिमेड छ
दिवंगत कुकुरको स्मारक बनाउन
एक लाख डलरको इस्टिमेट छ
मामा–भानिज हो ! लौ अब एउटा टेन्डर देओ
स्मारक कालिमाटी भए पनि हुन्छ
तर, माटो किन्न हङकङ जानैपर्छ
यो निर्माण कार्यमा सम्बन्धितहरूले
अलि अलि प्रसाद खानै पर्छ
जाने त गयो, गै गयो
मेरो कुुकर स्वर्गे भयो !

कि ए वीर नेपालीहरू हो ! आओ अब
यो मृत कुकुरको जुँगा उखेलौं
हामी सबका बिरामहरू लुकाउन
यो मुर्दाको टाउको फोरौं
नपत्याए सीआईडीज्यूलाई रिपोर्ट बनाओ भनौं
बडाहाकिमले घुस ज्यूनार हुँदा
यसले रिकापी टोकेको थियो
उपहाकिमले जंगबहादुरको घोडा मिलाउँदा
यसले रित्तो बोतल बोकेको थियो
त्यतिमात्र कहाँ हो र !
भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला
यो असभ्यले ख्वाङ्ख्वाङ् खोकेको थियो
यसको कुलै यस्तो
उहिल्यै पाण्डवहरू बैकुण्ठ जाँदा
यही कुकुरको जिजुबाजेले द्रौपदीको पिछा गरेको थियो
रुसले रकेट उडाएको बेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो
भन्नुहोस् अब जे भने पनि ऊ नसुन्ने भयो
मेरो कुकुर स्वर्गे भयो !

भीमसेन स्तम्भमुनि गुँडुल्किएर
स्वामीभक्तिको साधन गर्ने यो कुत्तो
भीम मल्लको चिहान खोस्रेर
बफादारीको बिगुल लगाउन खोज्ने यो खिच्चो
साँच्चै कुकुरैजस्तै निरीह थियो, दयनीय थियो
त्यसैले त पूण्यात्माहरूको शिकार भयो
उद्धार समितिको कारले किचेर मेरो कुकुर स्वर्गे भयो !
१० साउन ०३३, जोरपाटी

० ० ०

कारिन्दाको दिनचर्या
उठ्, पुछ्
खा, चुठ्
दुगुर, दुगुर

स्वाँः स्वाँ !
बस्, धस्
हस् हजूर !
लुखुर लुखुर

स्याँः स्याँः
तिहुन्, तमाखु–
पापाको संसार
ऐजन ऐजन
लम्पसार !

० ० ०

अमरावती जयभुँडी
पथ सात–फुटे बस नौ गजको
सिर बीस भए भीड सौतकको
छ त अन्तै सुविधा यसरी
अमरावती कान्तिपुरी नगरी ।।

० ० ०

कति असल छ यो मेरो पसल
मानौं प्रकृतिको क्युरियोजस्तो छ
यहाँ पानीभन्दा पसिना सस्तो छ
पसिनाभन्दा आँसु सस्तो छ
अझ अर्को विशेषता यस्तो छ–
यहाँ सबथोकभन्दा रगत सस्तो छ ।