जेष्ठ १, २०७३- विभिन्न समयमा विभाजित माओवादीका चार समूहबीच जेठ पहिलो साताभित्र एकता हुने भएको छ । सबभन्दा ठूलो समूह एमाओवादीसँग रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता हुने लागेको हो ।   नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्न्दीय नेताहरु, जयपुरी घर्ती र कुमार दाहालको समूह पनि एकीकरणमा समावेश भएको छ ।

पार्टी एकताकै बिषयमा सहमति नजुटा मोहन बैद्य नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादी शनीबारदेखि औपचारिक रुपमा विभाजित भएको छ ।  अध्यक्ष वैद्य र पार्टीका महासचिव थापाबीच पार्टी एकताका बिषयमा शैद्धान्तिक मतान्तर देखिएपछि पार्टी विभाजित भएको हो । थापा पार्टी एकताका पक्षमा र बैद्य विपक्षमा रहदै आएका थिए । पार्टी एकता गर्ने बारम्बारको प्रयास सफल नभएपछि शनीबार थापाले आफ्नै अध्यक्षतामा शनीबार केन्द्रीय कार्यसमितिको बैठक राखेका थिए । सोही बैठकले बैद्यलाई पार्टी अध्यक्षबाट हटाएर थापाको नेतृत्वमा पार्टी पुर्नगठनको घोषणा गरेको थियो । बैठकले पार्टी एकता गर्ने निर्णय लिदै यसअघि तय भएको पार्टी एकताको १३ बुँदे बैचारिक आधारलाई अनुमोदन समेत गरेको छ ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकिकरणको प्रकृया अन्तिम चरणमा पुगेको बताए । ‘पार्टीको नाम, केन्द्रीय कमिटिको आकार, तह, जिम्मेबारी र महाधिवेशन आयोजक समिति बनाउनेलगायत बिषयमा हामी एक/दुई दीनभित्रै सहमतिमा पुग्छौ’ श्रेष्ठले कान्तिपुरसँग भने,‘जेठको पहिलो साताभित्रै अर्थात जेठ ५ भित्रै एकता गर्ने तयारीमा हामी जुटेका छौ ।’

शनीबार एमाओवादीसहित चार माओवादी पार्टीकै केन्द्रीय कार्यसमितिले एकताको पक्षमा निर्णय लिदै एकताको १२ बूँदे बैचारिक आधार समेत अनुमोदन गरेको छ । पार्टीको नाम एकिकृत नेकपा माओवादी, युद्धकालकै नेकपा (माओवादी) या कम्यूनिष्ट पार्टी मात्रै राख्ने भन्ने बिषयमा शीर्ष तहमा छलफल जारी छ । छलफलका क्रममा नेकपा (माओवादी) संयोजक मातृका यादवले पुरानै नाम राख्न दबाव दिदै आएका छन् ।

टुंगाउन बाँकी बिषयहरुमा सहमति जुटे जेठ ५ गते सयुक्त बैठक आयोजना गरेर पार्टी एकताको घोषणा गरिने तयारी छ । पार्टी एकिकरणपछि एकताको महाधिवेशन गर्ने र  ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने बिषयमा मोटामोटी सहमति भएको एमाओवादीका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार समितिमा  एमाओवादीका तीन सय, बादल नेतृत्वमा रहेका क्रान्तिकारी माओवादीका १६१, मातृका, मणि थापा र विप्लव समूहका समेत गरी ३८ सदस्य राख्ने तयारी भईरहेको छ । त्यस्तै एकतापछि बन्ने पोलिटव्यूरोमा ७५ जना राख्ने तयारी छ । ती मध्ये  एमाओवादीका ३७ जना र थापाका १७ जना रहने छन । बाँकी  मातृका यादव, मणि थापा, जयपुरी घर्तीलगायतलाई समेटिने तयारी छ । एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने केन्द्रीय पार्टीका संगठानात्मक संरचानाको तह, संख्यालगायतका बिषयमा सहमति भईनसकेको बताए ।

एकताका लागि तयार पारिएको बैचारिक आधारपत्रमा  नेपालको नयाँ संविधानले गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका क्रममा माओवादी पार्टीले अघि सारेका राजनीतिक मुद्दाहरूलाई संस्थागत गरेको उल्लेख छ ।

‘यो संविधानले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै निरन्तरता दिई राज्यसत्तामा दलाल, नोकरशाही, पुँजीपति र सामान्ती वर्गकै हित सुरक्षित गरेको छ’ एकताका लागि तयार पारिएको आधार पत्रमा भनिएको छ,‘संविधानमा व्यवस्था गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता एवं समानुपातिक समावेशी प्रतिनिधित्व एवं जनताका मौलिक अधिकारसँग सम्बन्धित सकारात्मक पक्षको स्वामित्व लिने, तिनको रक्षा र उपयोगमा जोड दिनुका साथै यसको प्रतिक्रियावादी संसदीय चरित्रका विरुद्ध संघर्षको नीति लिनुपर्छ ।’

पार्टी र आन्दोलनका विगतका गल्ती(कमजोरीहरूको समीक्षा गर्दै सन् १९५० लगायतका असमान सन्धि-सम्झौताहरुको खारेजीका लागि सघर्ष गर्ने आधार सयुक्त बैठकले तयार पारेको छ । ‘साझा सहमतिका आधारमा सबै पक्ष सम्मिलित संयोजन समितिले पार्टीको नामलगायत एकताको विधि, प्रक्रिया, संरचना, नेतृत्व, मिति निर्धारण गर्नेछ’ आधार पत्रमा उल्लेख गरिएको छ ।

माओवादी नेतृत्वको जनयुद्धले ल्याएका उपलव्धि खतरामा रहेको बताउँदै वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्कसंगत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनका शृंखलाहरू देखा परेको निष्कर्ष समेत उक्त साझा आधारपत्रमा निकालिएको छ ।

‘सम्पूर्ण माओवादीसहित सच्चा कम्युनिस्टहरूबीचको एकता आज एक अपरिहार्य वस्तुगत र ऐतिहासिक आवश्यकता बनेर आएको छ,’ आधार पत्रमा भनिएको छ,‘ पार्टी एकतालाई दिगो र दह्रो बनाउन सच्चा क्रान्तिकारीहरूले हमेसा विचारधारात्मक र राजनीतिक कार्यिशालाई आधार बनाउने गर्दछन् र त्यसै गर्नु पनि पर्दछ ।’