जेष्ठ १, २०७३- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । आन्दोलनलाई काठमाडौं केन्द्रित गर्ने मधेसी-जनजाति सहितको गठबन्धनको पूर्व घोषित कार्यक्रम अनुसार शनिबार यहाँ प्रदर्शन गरिएको छ ।

रत्नपार्कस्थित शान्तिवाटिका बाट अपरान्ह ३ बजे थालिएको प्रदर्शन सहिद गेट, सुन्धरा, न्यूरोड, असन हुँदै भोटाहिटी पुगेर टुङ्गिएको थियो । आइतबारदेखि दिनहुँ सिंहदरवार घेराउ गर्ने कार्यक्रमको तयारी स्वरुप आज प्रदर्शन गरिएकेा गठबन्धनले जनाएको छ ।

आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै नयाँ संविधान घोषणा हुनु पूर्वदेखि मधेसी मोर्चा तराईका जिल्ला केन्द्रित आन्दोलन गर्दै आएको थियो । मोर्चाले साउन ३० बाट थालेको आमहड्ताल ६ महिना र असोज पहिलो साताबाट गरेको सीमा नाकावन्दी ५ महिना चलेको थियो ।

मोर्चाले सारेको ११ बुँदे मागलाई थप विस्तार गरी गठबन्धनको २६ बुँदे माग सरकारलाई बुझाएको छ ।
पछिल्लो पटक मोर्चामा आवद्ध ७ र अन्य जनजाति सहितका दलहरु सहित २९ दलको गठबन्धन निर्माण गरे आन्दोलनलाई राजधानी केन्द्रित बनाउन खोजिएको हो ।