“यो पुस्तक मैले विवेक, तर्क, अनुभव र परिकल्पनाको आधारमा तयार गरेको हुँ……. । राज्य निर्माणको प्रक्रिया अथवा यो एउटा निरन्तर प्रतिस्पर्धात्मक गतिशील प्रक्रियाको खोजी हो ।”

लोकतन्त्रलाई बहुरंगवादबाट हेर्ने र नेपालीपनको, नेपाली पहिचानको दर्शन, सिद्धान्त र विचारले मात्र नेपाल र नेपालीको उन्नति हुनसक्छ भन्ने विश्वास बोकेका धर्मेन्द्र नेम्वाङको भर्खरै प्रकाशित एउटा कृतिभित्र विचरण गर्दैछु ।

नेपाली लेखक संघको छैटौं महाधिवेशनका अवसरमा केहीदिन अघि मात्र वरिष्ठ साहित्यकार वैरागी काइलाद्वारा लोकार्पित भएको यो कृति हो- “युवा विचार, युवा नेपाल ।”

“आमूल परिवर्तनका पक्षमा एक अवधारणा” भनेर सुरुमै उद्घोष गरिएको यस कृतिभित्र जम्मा बाह्रवटा शिर्षक छन् । १०४ पृष्ठको मध्यम आकारको यस कृतिमा समेटिएका यी अवधारणाहरु निश्चय पनि आजको सन्दर्भमा छलफल र बहसका निम्ति पर्याप्त छन् । तथापि यसमाथि विस्तृत छलफलपछिको निष्कर्षले मात्र समाजमा स्थापित हुने गोरेटो कोर्न सक्तछ ।

कृतिभित्रको पहिलो आलेख हो- इतिहासको समीक्षा । यसभित्र पृथ्वीनारायणको नेपाल एकीकरण, सन् १८१४- १६ को अंग्रेजसँगको युद्ध, जंगबहादुरद्वारा राणाशासनको सूत्रपात र दरवारिया जालझेल, निरंकुशता, १०४ वर्षपछि २००७ को क्रान्ति र प्रजातन्त्र स्थापना, २०१५ को निर्वाचन र कांग्रेसको दुइ तिहाइ मतसँगै वीपीको प्रधानमन्त्रीत्वमा सरकार गठन । ०१७ काण्ड र पंचायती शासन । २० वर्षछि २०४६ मा पुनः प्रजातन्त्र स्थापना, माओवादी द्वन्द्व, दरबार हत्याकाण्डपछि २०६२-०६३ को जनआन्दोलनपछि जनतामा पुन प्रजातन्त्र फिर्ता हुनुसम्मका घटना र यसका कारणहरु वर्णित छन् ।

नेपालको राजनीतिक पार्टी   इतिहासको मूल केन्द्र नेपाली कांग्रेस मात्र रहेको कुरामा लेखक नेम्वाङ अटल छन् । २०७२ को संविधान पारित गराउन पनि नेपाली कांग्रेसकै महत्वपूर्ण योगदान रहेको कुरामा द्विविधा छैन । नेपाली कांग्रेसकै नेतृत्वमा र पार्टी पूर्ण सहमतिमा यो संविधान घोषणा भएका कारण लोकतन्त्रात्मक व्यवस्थाप्रति शंका गर्ने आधार छैन ।

लोकतन्त्र अझ संघीय गणतन्त्रात्मक लोकतन्त्र स्थापना हुँदैमा देश समृद्ध हुँदैन । देशको समृद्धि र सम्पूर्ण  जनजीवनको उत्थानका लागि दुइ ठूला छिमेकीका बीच समदूरी, सहमति र समन्वयात्मक सम्बन्ध राख्न आवश्यक छ ।

लेखक नेम्वाङको भनाइमा मुलुकलाई समृद्ध पार्न आत्मनिर्भर, अन्तरनिर्भर र स्वनिर्भर अर्थतन्त्र निर्माणको बाटो तयार पार्नु आवश्यक छ ।

पुस्तकभित्रको दोस्रो शिर्षक “आमूल परिवर्तनको पक्षमा” लेखका मार्फत उनीले भनेका छन्- लोकतान्त्रिक व्यवस्था भएर मात्र पर्याप्त हुँदैन । लोकतन्त्रका सबाललाई त्यतिकै काँधमा बोकेर मात्र हुँदैन । अन्य व्यवस्थाभन्दा लोकतन्त्र जनताका पक्षमा, मानवअधिकारका पक्षमा, आम जनजीवनका दैनिकीका पक्षमा हुने भएकाले सबैभन्दा उत्तम व्यवस्था हो ।

लेखकका भनाइमा यस लोकतन्त्रलाई अरु देशको नक्कल गरेर हुँदैन, यसलाई नेपालीकरण गरेर, नेपाली माटो भूगोल अनुसार नेपालीपनमा उतारेर मात्र लोकतन्त्रलाई सबल र जनमुखी बनाउन सकिन्छ ।

र दर्शन निर्माणमा नेपाली प्रयत्न’ शिर्षकमा नेम्बाङले एकदशकअघि सुरु गरेको साहित्यमा रंगवादी आन्दोलनको प्रयोग जस्तै राजनीतिमा पनि नयाँपन दिन छुट्टै वैचारिक, चारित्रिक अभियान चलाउनुपर्ने बहस उठाएका छन् ।

नेतालाई, पार्टीलाई मात्र दोष दिएर हुँदैन । हाम्रो परम्परागत चिन्तन र सोच- अर्थात् अर्कैले गरिदिन्छ, अरुकै सहयोगमा चल्छ भनेर आफू केही नगर्ने प्रवृत्तिमा आमूल परिवर्तन ल्याउनु पर्छ भन्ने कुरामा लेखकले जोड दिएका छन् ।

“जीवनको सार्थकता कुनै उद्देश्य प्राप्तिका निम्ति प्रतिबद्धतामा निर्भर गर्दछ । मानिस आफ्नो संकल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ।” जननेता वीपी कोइरालाको यस अभिव्यक्तिबाट सार्थक जीवन जिउन मानिसमा प्रतिबद्धता, संकल्प र आस्था हुनु आवश्यक छ भन्ने कुराको बोध हुन्छ । यदि प्रत्येकले यी तीन कुराका आधारमा कार्य गर्ने हो भने सफलता प्राप्त गर्न कसैले रोक्न सक्तैन ।

वी.पी.को उक्त भनाइसँग मेल खानेगरी स्रष्टा नेम्वाङले नेपाली दर्शनको निर्माणमा जोड दिएका छन् । के हो त त्यो नेपाली दर्शन ? बहुलवादिताभित्रको बहुभाषिकता, बहुजातित्व, बहुधार्मिकता, बहुसांस्कृतिकता, अर्थात् बहुरंगपूर्ण  नेपाली समाजको मौलिकताको पहिचान, पहिलो सर्त हो । नेपाली जनजीवनको विशेषता, निजत्व, हार्दिकता र सापेक्षताजस्ता तत्वले भरिपूर्ण दर्शन चिन्तनको प्रयोग नै नेपालीपन- नेपाली दर्शन हो ।

नेपाल यतिबेला लोकतान्त्रिक संघीय गणतन्त्रात्मक व्यवस्थातर्फउन्मुख हुँदैछ । नयाँ संविधान पारित भए पनि कार्यान्वयन हुन बाँकी नै छ । यस्तै बेलामा नेम्वाङको यो पुस्तक आएको छ र यसले सचेत गराएको छ- नेपालका पार्टी  नेताहरुलाई ।

विशेष गरी दर्जनभन्दा माथिका कम्युनिष्ट पार्टीको विदेश मोह- मार्क्स, लेनिन माओको विचार र उनीहरुकै झण्डालाई यथास्थितिमा प्रयोग गरेर जनतामा, नेपालमा वैचारिक उपनिवेशवाद लादिएको छ । जबर्जस्ती नेपालको बहुलवादी समाजलाई अधिनायकी र एकलवादी बनाउन सांस्कृतिक पहिचान समेत नष्ट पार्ने उद्यममा लागेको छ- कम्युनिष्ट घटक ।

लेखकको भनाइमा- नेपालका बौद्धिक वर्गले प्रगतिशीलताको नाममा वा अन्य कुनै वैदेशिक विचारको दास नबनेर विशुद्ध नेपाली विचार र दर्शनमा आधारित लेखन, छलफल र बहसका माध्यमबाट वैचारिक उपनिवेशवाद समाप्त पारेर उत्तर औपनिवेशिकवादतर्फ प्रवेश गर्नु नितान्त आवश्यक भएको छ ।

‘सांस्कृतिक क्रान्तिको सन्दर्भ भित्र लेखक नेम्वाङ भन्छन्- ‘यो सत्ताद्वारा, कुनै पार्टी बिशेषद्वारा जबर्जस्ती लादिने कुरा होइन । जनता स्वयं जागरुक भएर- यो मेरा निम्ति हो, मेरो समाजको उत्थानका निम्ति हो भनेर- प्रत्येकले सादा जीवन उच्च विचारको संकल्प बोकेर लोकतन्त्र मेरो जीवनपद्धति हो, मेची महाकाली, हिमाल पहाड तराई मेरो हो, चार वर्ण छत्तिस जात म स्वयं हुँ, उचनीच, छुवाछुत म आफैँले उब्जाएको हो, भय, हिंसा, भ्रष्टाचारको कारक म नै हुँ, आफ्नो काम नगर्ने र  विदेश मोह बोक्ने पनि म आफैँ हुँ, नेपाली बहुलता र बहुरंग नबुझी गलत काम गर्न खोज्ने म नै हुँ भन्ने आत्मिक बोध गरेर प्रत्येक व्यक्ति विशुद्ध नेपालीपन, नेपाली मौखिक दर्शनमा आबद्ध भएर संकल्प र आस्थाका साथ काम गर्नसक्ने हो भने नेपालले छिटै उच्चता प्राप्त गर्नसक्छ ।

नेम्वाङ भन्छन्- अब नेपाल र नेपालीको उज्वल भविष्यका लागि पुनर्संरचनाको आवश्यकता छ । आजसम्म चलेका उही पुराना संरचनाहरुलाई नै बोकेर हिँडेका छौं । जनआन्दोलन २०६३ पछि पनि सुधार हुन सकेको छैन ।

लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता वा सापेक्षता, संसदीय व्यवस्था, बहुदलीयता, मानव अधिकार…. आदि जे जति मुद्दा उठाए पनि यी सबैमा खासै परिवर्तन हुने वा एक्काइसौं शताब्दी सुहाउँदो संशोधन अथवा नेपाली जनजीवनमा उपयोगी हुने चिन्तन प्रयोगको सम्भावना कम्ती छ । त्यसकारण अब सबै विषयमा पुनर्संरचनाको खाँचो भनेर नेम्वाङ प्रस्ट पार्छन् ।

“हाम्रो सोचमा, हाम्रो दर्शनमा, हाम्रो श्रममा मात्र होइन आजको संघीयतामा, बहुदलीयतामा अर्थात् सबै क्षेत्रमा समयसापेक्ष नेपाली जनजीवन र नेपाली भूगोल सापेक्ष पुनर्संरचनाको खाँचो छ । यी सबै कुरा सच्याएर बहुरंगीनवादी राज्य निर्माण गर्नु आजको पहिलो काम हो ।”

लेखक नेम्वाङ- विश्वमा आजसम्म चलेका वादहरु विभेदकारी र समग्र मानव उत्थानमा असमर्थ देखिएकाले अब हरियो समतावादको विकास गर्नुपर्छ भन्ने पक्षमा छन् ।

पुँजीवाद सामन्तवाद, समाजवाद, साम्यवाद जस्ता सबै वादमा वर्ग, वर्णसंग भेद र उचनीच, उच्च, मध्य निम्न बर्गीय भेदभावको वर्चस्व रहिरहन्छ । जसले गर्दा समाजभित्र जहिले पनि स्वअस्तित्व र आत्मसम्मान संरक्षकको संकट भइरहन्छ, द्वन्द्व बनिरहन्छ ।

तर्सथ अबको स्वच्छ समृद्ध र उच्च समाज संरचना गर्नका लागि महत्वपूर्ण वादका रुपमा हरियो समतावादको स्थापना आवश्यक रहेको कुरा श्री नेम्बाङको ठहर छ ।र वर्तमान युगको गतिशीलतालाई अँगाल्न सक्ने तथा सर्बसमावेशी लोकतान्त्रिक मूल्य मान्यता बोक्न र प्रयोग गर्नसक्ने सिद्धान्त विचार भनेकै हरियो समतावाद हो । जसको विकास समाजवाद र समन्वयवादको संयोजनबाट भएको हो ।

स्थिर समाज वा नियन्त्रित समाजलाई गतिशील र समयसापेक्ष उत्थानमा अघि बढाउन व्यक्ति स्वतन्त्रता, व्यक्तिको स्वअस्तित्व, बहुरंगताको संरक्षण, स्वपहिचान र निर्बाध जीवनयापनको मूलभूत आधार तयार पार्न यो हरियो समतावाद सक्षम छ । त्यसैले अबको नेपाल र नेपाली समाजको आत्मा भनेको ‘हरियो समतावाद’ हो ।

युवा विचार र युवा नेतृत्व एक्काइसौं शताब्दीको माग हो भन्ने कुरा बुझेर लेखक नेम्वाङले नेतृत्व विकासमा चालक प्रतिशतको विषय समेत उठान गरेका छन् । एक्काइसौं शताब्दीको सत्ता संचालनको जिम्मा मध्यम वर्गको हातमा आउनु पर्छ भन्ने लेखकको भनाइ छ ।

आजसम्म सर्बहाराको, निम्नतम श्रमिक वर्गको शासन भन्दै आएका कम्युनिष्ट सत्ता र शासनले उच्च नेता र नेतृत्वकै निरंकुश अधिनायकी शासन चलाउँदै आएको कुरा विश्व सन्दर्भमा प्रष्टै देखिएको छ । कम्युनिष्टलाई आफ्नो शासन चलाउन सर्बहारा गरीव वर्ग नै चाहिने भएकाले जनताको गरीबी हटाउन र सम्पन्नतातिर लैजान चाहँदैनन् । जनस्तरमाथि उठ्ने बित्तिकै निश्चित नेताको अधिनायकी नेतृत्व समाप्त हुने भयले गरिबीमै रमाउँछन् कम्युनिष्टहरु ।

नेम्वाङ भन्छन्- मध्यम वर्गले तललाई उठाउने माथिकालाई नियन्त्रण गर्ने आवश्यक नीति निर्माण गर्नसक्छ । एकप्रकार समन्वयकारी भूमिका खेल्न सक्छ । तसर्थ हरियो समतावादको विचार र तदनुरुप प्रयोग गर्न सफल हुन्छ-

लेखक नेम्वाङले यस कृतिको अन्त्यतिर बहुपहिचानवादका कुराको व्याख्या गरेर निष्कर्षसहित आफ्नो भनाइ अन्त्य गरेका छन् ।

हाम्रो नेपाल- बहुजाति, बहुभाषी, बहुसंस्कृति, बहुधर्मी, बहुआस्था, बहुविचार र चिन्तनको केन्द्र हो । विश्वका अन्य देशभन्दा पृथक् पहिचान भएको मुलुक हो । हाम्रो मुलुक एकल  पहिचान नभएकोले बहुपहिचानवाद भनिएको हो । नेम्वाङको बहुरंगवाद पनि यही हो ।

उनको प्रस्ट भनाइ छ- त्यसैले बहुपहिचानवादी यस मुलुकमा आयातीत एकदलीयता र अधिनायकी चल्न सक्तैन । त्यसैगरी अरु देशको उदाहरण दिएर चलाउन खोजिएको बहुदलीयताले पनि हाम्रो मुलुक बन्न सक्तैन ।

यी दुवैतिरको बीचको र समाधानपरक उत्तर हो- बहुपहिचानयुक्त बहुरंगीन हरियो समतावादको व्यवस्थापन । सर्बसमावेशी लोकतन्त्र निर्माण गर्ने मूलबाटो हो- हरियो समतावाद । यसलाई बहुपहिचानवाद अर्थात् बहुरंगवाद संयोजन सहितको विचार बोकेर नेतृत्व तहमा युवावर्ग पुगेपछि मात्र यस हरियो समतावादले स्थान पाउँछ । अनि यस विचार, चिन्तन र क्रियात्मक योगबाट शासन संचालन भएपछि मुलुकमा सर्बसमावेशी लोकतन्त्र स्थापना हुन्छ ।

धर्मेन्द्र नेम्वाङले यसरी एउटा नयाँ कृति- युवा विचार युवा नेपालभित्र आफ्ना विचारहरु व्याख्या विश्लेषण सहित नौनी रुपमा स्थापित गरेका छन् । कुनै पनि विचार, चिन्तन, वादविवाद आदि एकैचोटि स्थापित हुँदैन । एउटाले जन्माउँछ । कालान्तरमा अर्कोले त्यसलाई प्रयोगमा ल्याएर हुर्काउँछ, बढाउँछ ।

रंगवादी कवि र रंगवादका माध्यमसँगै रातो बाघ उपन्यासबाट चिन्तन प्रवाह गर्दैआएका धर्मेन्द्र नेम्वाङले यसपटक फेरि यो नयाँ दृष्टिकोण जनसमक्ष पस्किएका छन् । छलफल गर्दा, बहसमा ल्याउँदैजाँदा भोलि यो स्थापिन हुन के बेर । यो कृति जनसमक्ष आओस्, फैलियोस् र एउटा नयाँ विचारले स्थान पाओस् । नेपालभित्र यसले नेपाल र नेपालीको समग्र उत्थानमा सहयोगी बन्ने अवसर प्राप्त गरोस् । लेखक धर्मेन्द्र नेम्वाङमा अझ दृढता र ठोस गहन लेखनतर्फप्रवृत्त हुने शक्ति प्राप्त होस् ।

२०७३।२।११

tulsi bhattarai

(पुस्तक समिक्षक डा. तुलसी भट्टराई )

yuwabichaar

(धर्मेन्द्र नेम्वाङको भर्खरै प्रकाशित युवा विचार युवा नेपाल)