आधा शताब्दीअघि बब डिलनले त्यस बेलाका लोकसंगीतका शुद्धतावादी सर्जकहरूलाई एक्ल्याउँदै इलेक्ट्रिक गितार समाएर संगीत जगतलाई आश्चर्यमा पारेका थिए । दशकौंसम्म उनी सबैलाई अचम्ममा पार्दै रहस्यात्मक गीत लेखनका साथ आफ्ना दसौं लाख रेकर्ड बेच्न सफल भए ।
रक संगीतको युगका सम्मानित कवि डिलन अहिले साहित्यतर्फको नोबेल पुरस्कारबाट सम्मानित भएका छन् । यो सम्मानपछि उनले टी एस इलियट, ग्याब्रियल गार्सिया माक्र्वेज, टोनी मोरिसन तथा स्यामुएल बेकेटसँग आफूलाई उभ्याउन सफल भएका छन् ।
७५ वर्षीय डिलन यो पुरस्कार जित्ने पहिलो संगीतकर्मी हुन् र सन् १९०१ पछि यो पुरस्कारका लागि उनको छनोट इतिहासकै शायद सबैभन्दा ‘र्‍याडिकल’ छनोटका रूपमा हेरिएको छ ।
एक लोकप्रिय संगीतकर्मीलाई विश्वको सर्वोच्च पुरस्कारका लागि स्वीडिस एकेडेमीले छनोट गरेर साहित्यको सीमालाई नाटकीय रूपमा पुनर्परिभाषित गर्दै संगीतका शब्दको आर्टिस्टिक मूल्य कविता र उपन्यासजत्तिकै हुन्छ भनेर नयाँ बहसको सुरुवात गरेको छ ।
केही मुख्य लेखकहरू, जस्तैः स्टेफन हकिङ, जोएस कारोल ओटेस तथा सलमान रुस्दीले डिलनको साहित्यिक उपलब्धिप्रति खुसी व्यक्त गरेका छन् । उनीहरूले डिलनलाई ‘प्राचीन कवि वा गीत परम्पराका प्रतिभाशाली उत्तराधिकारी’ भन्दै ‘अति उत्तम छनोट’ भनेका छन् ।
कतिपयले भने यो निर्णयलाई गलत दिशाउन्मुख भनेका छन् । प्रतिभाशाली हुँदाहुँदै गीत लेखन कहिल्यै साहित्यको स्तरसम्म उठ्न नसक्ने बताएका छन् ।
“बब डिलनलाई साहित्यको नोबेल पुरस्कार प्रदान गरिनु भनेको श्रीमती फिल्ड्सलाई तीन मिचेलिन स्टारबाट पुरस्कृत हुनुजस्तै हो,” उपन्यासकार रवि अलामेद्धिनेले ट्वीट गर्दै भनेका छन्, “यो विन्सटन चर्चिललाई प्रदान गरिनु जस्तै बेबकुफी हो ।”
एकजना बेस्ट सेलिङ उपन्यासकार जोडी पिकोट भन्छन्, “म बब डिलनसँग खुसी छु तर यसको अर्थ के म ग्रामी अवार्ड जित्न सक्छु ?”
धेरै संगीतकारहरूले यो छनोटलाई श्रद्धाको भावले सराहना गरेका छन् । तर, केही टिप्पणीकारहरूले यसको आलोचना गरेका छन् । युवाप्रति समर्पित दुई बेवसाइटले कोलम लेख्दै यो छनोट ठीक थियो या थिएन भन्दै प्रश्न उठाएका छन् ।
क्लासिक लोकगीत तथा प्रोटेस्ट गीतहरू, जस्तैः ब्लोइन इन दि विन्ड र दि टाइम्स दे आर अ चेन्जिङ लगायत उत्कृष्ट १० हिट गीत लेखकका रूपमा डिलनको छनोट असामान्य लाग्छ । उनी १९९३ मा मोरिसनपछि यो पुरस्कार जित्ने पहिलो अमेरिकी हुन् ।
बिहीबार उनी लस भेगासको एक प्रस्तुतिमा भएका कारण यो सम्मानको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
डिलनले कविता तथा निबन्धसहित १९७१ कलेक्सन, तारान्तुला तथा क्रोनिकल्स भोल्युम वान प्रकाशित गरेका छन् । उनको नयाँ एल्बम यही नोभेम्बरमा आउँदैछ ।
साहित्यिक विद्वानहरूले धेरै अघिदेखि डिलनका गीतमा प्रश्न उठाउँदै आएका छन् । उनीहरूको प्रश्न छ, “के डिलनका गीत आफैंमा कविताको रूपमा रहन सक्छन् ?”
दि अक्सफोर्ड बुक अफ अमेरिकन पोयट्रीले उनको एक गीत ‘डजोलेसन रो’लाई २००६ इडिसनमा समावेश गरेको छ । त्यस्तै, क्याम्ब्रिज युनिभर्सिटी प्रेसले २००९ मा दि क्याम्ब्रिज कम्पानियन अफ बब मार्लिन रिलिज गरेको थियो ।
अमेरिकाका कवि बिल्ली कोलिन्स भने डिलनले नोबेल पुरस्कारलाई सही ठान्छन् ।
अघिल्ला वर्षहरूमा कडा राजनीतिक सन्देश दिने अपरिचित लेखकहरूलाई उक्त पुरस्कार जाने गरेकोमा यसपालि धेरै चर्चित तर स्थापित साहित्यिक परम्पराभन्दा धेरै बाहिरका व्यक्तिलाई दिएर नोबेल एकेडेमीले लोकप्रिय कलाकारलाई सम्मानित गरेको देखिन्छ, जसले यसअघि नै धेरै ख्याति प्राप्त गरेका छन् ।
हुन त यस्तो भएको यो पहिलो पटक भने होइन । सन् १९५३ मा विन्सटन चर्चिल र गत वर्ष स्वेतलाना एलेक्सीभिचलाई यो पुरस्कार प्रदान गर्दा पनि यसले साहित्यको परम्परागत परिभाषा तोडेको बताइएको थियो ।
यो विषयमा एकेडेमीले भनेको छ, “डिलनले अमेरिकी गीत परम्पराभित्र कवितात्मक अभिव्यक्तिको सिर्जना गरेका छन् ।”
बब डिलनको वास्तविक नाम रोबर्ट एलेन जिम्मेरम्यन हो ।
उनको जन्म मिनिसोटाको डुलुथमा मे २४ १९४१ भएको थियो । उनी न्युयोर्कको संगीत परिदृश्यमा सन् तिर १९६१ देखा परेका थिए । उनी वुडी गुथिरे परम्परलाई पछ्याउँदै प्रोटेस्ट गीत क्लब तथा ग्रिनविच भिलेज क्याफेहरूमा अकस्टिक गितार बजाउँदै गाउने गर्थे ।
तर, सुरुदेखि नै अचम्मलाग्दा शब्द तथा अप्रत्यक्ष गीत लेखन स्टाइलले गर्दा उनी अरु कलाकार तथा समालोचकहरूका लागि आकर्षणको स्रोत हुने गर्थे ।
सन् १९६३ मा पिटर, पउल तथा मेरी र उनको लोक समूह बिलबोर्ड पप चार्टमा दुई नम्बरमा पुगेका डिलनको शब्द ‘ब्लोइन इन दि माइन्ड’ थियो । उनले केही वर्षभित्र जटिल गीत तथा रक एन रोल साउन्डमा ढालेर आश्चर्यजनक रूपमा लोक गीतलाई परिवर्तन गरेका थिए ।
१९६५ मा उनले इलेक्ट्रिक रक ब्यान्ड न्यु पोर्ट फोल्क फेस्टिभलमा भाग लिएपछि फ्यानहरूले उनलाई बेचिएको आरोप लगाए ।
सन १९६६ मा बाइक दुर्घटनामा परेको रिपोर्ट सार्वजनिक भएपछि सार्वजनिक जीवनबाट टाढा रहेर उनी गीत लेखकको रूपमा सक्रिय भए ।
सन् १९७५ मा ‘ब्लड इन दि ट्र्याक्स’ नामक एल्बम निकै शक्तिशाली भनेर तारिफ भएको थियो । तर, चार वर्षपछि आएको ‘स्लो ट्रेन कमिङ’मा समालोचकहरू विभाजित भए ।
डिलनका धेरै एल्बमले नोबेल एकेडेमीले भनेजस्तै ‘पपुलर संगीतमा धेरै प्रभाव छाड्न सफल’ छन् । यसमा ‘ब्रिङ्गिङ इट अल ब्याक होम’ तथा ‘हाइवे ६१ रिभिजिटेड (१९६५)’, ‘ब्लेन्डे न ब्लोन्डे (१९६६)’, ‘ब्ल अन दि ट्र्याक्स (१९७५)’, ‘ओ मर्सी (१९८९)’, ‘टाइम आउट अफ माइन्ड (१९९७)’, ‘लभ एन्ड थेफ्ट (२००१)’ तथा ‘मोडर्न टाइम्स (२००६)’ आदि हुन् । उनका ३८ स्टुडियो एल्बमहरू विश्वभर १२५ मिलियन बिक्री भएका छन् ।
डिलनले यसअघि ग्रामी, अकाडेमी तथा गोल्डेन ग्लोबलगायत धेरै पुरस्कार जितेका छन् । उनलाई सन् १९९८ मा ‘रक एन रोल हल अफ फ्रेम’बाट सुशोभित गरिएको थियो । २००८ मा पुलित्जर तथा २०१२ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’बाट पनि पुरस्कृत भएका थिए ।
नोबेल पुरस्कारबापत उनले ९ लाख डलर प्राप्त गर्नेछन् । नोबेल साहित्य पुरस्कार कुनै एक लेखकको एक कृतिका लागि नभएर जीवनभरि गरेको योगदानका लागि प्रदान गरिन्छ ।
‘द न्युयोर्क टाइम्स’बाट