काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले यो दसैंमा अन्य वर्षभन्दा अपराध निकै कम भएको र अब काठमाडौंमा गुन्डा तथा अपराधीको राज समाप्त भएको घोषणा गरेका छन् । “कानुन हातमा लिएर, मसल देखाएर जनता लुट्ने गुन्डानाइके चरीलाई सुइँक्याइयो, एरिया तोकेर आफ्नो किल्ला सम्झिने घैंटेलाई पनि सिध्याइयो । उनीहरुका गुरु दीपक मनाङ्गे जेलमा बाँधिएर बसेका छन् । अब गुन्डाका दिन गए,” ५ सयभन्दा बढी सहभागी एक सार्वजनिक कार्यक्रममा काठमाडौं प्रहरी परिसर प्रमुख थापाले भने । राजनीतिक आवरणमा उदाएको गुन्डा राजको अन्त्य भएको घोषणा गर्दै उनले हतियार र त्रास देखाएर अरुको पसिना चुस्नेहरू ठेगान लागिसकेको दाबी गरे । “अब केही चोरहरू बाँकी छन्, तिनका दिन पनि छिट्टै सकिँदैछन्,” उनले भने । एसएसपी थापा आइतबार बिहान काडमाडौंको नेपालटारमा भएको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै थिए ।

दुई गुन्डा मारिएकाले धेरै गुन्डाहरू दुलामा पसेको भन्दै एसएसपी थापाले भने, “पहिलेको जस्तो राजनीतिक संरक्षणको आडमा जनतालाई लुट्ने आशा अब नगरे हुन्छ । दुला पसेका गुन्डा बाहिर निस्के भने तिनलाई छाडिँदैन ।”
केही समयअघिसम्म काठमाडौंका पार्किङदेखि विभिन्न ठेकापट्टामा गुन्डाहरूको हालीमुहाली हुन्थ्यो । साधारण व्यवसायीले सरकारी टेन्डर भर्नका लागि फर्म नपाउने र पाए पनि भरेर बुझाउन नसक्ने अवस्था थियो । कतिपय गुन्डाहरू व्यापारीलाई विभिन्न डरत्रास देखाएर सिधै लुट्न सक्रिय थिए । अहिले यस्तो असुरक्षाको वातावरणमा निकै कमी आएको प्रहरीको दाबी छ । चरी र घैंटे उपनाम राखेका दुई गुन्डा क्रमशः दिनेश अधिकारी र कुमार श्रेष्ठको प्रहरीको इन्काउन्टरमा मृत्यु भएको छ । गुन्डाका गुरु दीपक मनाङ्गे जेल परेपछि सुरक्षा अवस्थामा निकै सुधार आएको तथा गुन्डाहरूको भागाभाग भएको छ ।
तर, गुन्डागर्दी सम्पूर्ण रूपमा नसकिएको र पछिल्ला दिनमा अपराधीले शैली परिर्वतन गरेर अपराध कर्म गर्न सुरु गरेको बारे प्रहरीलाई थाहा भइसकेको छ भन्दै थापाले भने, “हामीलाई नयाँ अपराध शैलीको पनि जानकारी भइसकेको छ । तर, अझै सुध्रिन समय दिएका छौं । अटेर गरे उनीहरू पनि बाँकी रहँदैनन् ।”
तिहार आएपछि विभिन्न क्लब र टोल सुधार समितिका नाममा कसैले चन्दा माग्यो र कसैले उपहार चिठ्ठा खेलायो भने प्रहरीलाई खबर गर्न पनि थापाले अनुरोध गरेका छन् ।
एसएसपी थापाका अनुसार अघिल्लो दसैंको भन्दा यो वर्षको दसैंमा काठमाडौंमा चोरी डकैतीका घटनाम कमी आयो । गएको वर्षको दसैंमा ५० वटा ठूला चोरीका घटना भएका थिए भने यो वर्ष ठूलो चोरीको घटना एउटामात्र भयो । नागरिकले ढुक्कले दसैं मनाउन पाउन् भन्नका लागि विगतका कमी कमजोरीलाई अध्ययन गर्दै वैज्ञानिक सुरक्षा व्यवस्था लागू गरेको प्रहरीले बताएको छ ।