२७ कात्तिक, काठमाडौं । नेपालका चार धावकले हङकङमा हुने ‘अक्सफाम ट्रेल वाकर’म्याराथनमा दौडने भएका छन् ।

आगामी मंसिर ३ गते हुन लागेको दौडमा नेपालका तर्फबाट पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ भाग लिँदैछन् । उनीहरु नेपालमा हरेक वर्ष हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेता-उपविजेता हुन् ।

हङकङमा हुने उक्त स्पर्धामा विश्वभरका १० हजारभन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुले दौडदा एभरेष्ट म्याराथन लेखिएको टि–सर्ट लगाउनेछन् ।

एभरेष्ट म्याराथनका अभियन्ता विक्रम पाडेकाजीले सरकारले लगानी नगरीकन नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा नेपाली खेलाडीले सुःखद परिणाम ल्याएको बताए । वरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपालमै आएर पनि विदेशीहरु नेपाली भन्दा धेरै दौडने गरेको दृष्टान्त दिँदै अब नेपालीहरु पनि विदेशी सरह दौडन सक्छन् भन्ने देखाउने अवसर आएको बताए ।

आइतबार हङकङ प्रस्थान गर्ने खेलाडीलाई शनिबार एक कार्यक्रमबीच वरिष्ठ धावक मानन्धरले राष्ट्रिय झन्डा दिएर बिदाइ गरेका छन् ।