काठमाडौंद । सत्ता साझेदार नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनको मिति घोषणासहितका काम अघि बढाउन सरकारलाई चारबुँदे सुझाव दिएको छ ।
कांग्रेस संसदीय दल पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सुझाव दिएको हो । राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचनको मिति घोषणा तत्काल हुनुपर्ने, निर्वाचनका लागि विचाराधिन विधेयकसँगै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने, अवरुद्ध संसद् बैठक सुचारु र निर्वाचन आयोगलाई तत्काल पूर्णता दिनुपर्ने सुझाव कांग्रेसले सरकारलाई दिएको महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।
संसद्मा देखिएको अवरोध खुलाउनुपर्ने, त्यसका लागि एमाले पनि तयार हुनुपर्ने कांग्रेसको निष्कर्ष छ ।
निर्वाचनको मिति घोषणा गरेलगत्तै एमाले पनि सहमतिमा आउने विश्वास कांग्रेस नेताहरुको छ ।
“जसरी हुन्छ, जे सम्भव हुन्छ त्यही निर्वाचनको मिछि तत्काल घोषणा गर भनेर सरकारलाई भनेका छौं,” कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बाह्रखरीसँग कुरा गर्दै भने, “तयारी छ भने स्थानीय तह नभए स्थानीय निकायको भए पनि तत्कालै निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।”
उनले त्यसपछि एमाले पनि सहमतिमा आउनैपर्ने बताए ।
“निर्वाचनमा जाउँ भन्ने अनि मिति घोषणा गरेपछि आवश्यक विधेयक पारित गर्न एमालेले संसद् सुचारु नगरेर हुन्छ त ?, ” उनले भने, “निर्वाचनको मिति घोषणा गरेर राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्छ ।” त्यसपछि संविधान संशोधन प्रस्ताव र निर्वाचन सम्बन्धी कानुन सँगसँगै अघि बढाउनुपर्ने उनले जानकारी दिए ।
कांग्रेसको प्रस्ताव सरकारसहित अन्य दलले मान्छन् त ? भन्ने बाह्रखरीको जिज्ञासामा श्रेष्ठले भने, “सत्ता साझेदार कांग्रेसले भनेको सरकारले नमानेर हुन्छ त ?”