काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी घटक ९ दलले कुनै हालतमा संसद् चल्न नदिने अडान दोहो¥याएका छन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलको बैठकले आइतबारको व्यवस्थापिका– संसद् बैठक चल्न नदिने बताएका हुन् ।
बैठकको निर्णय सुनाउँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्चको फैसलापश्चात सरकारले विपक्षी दलहरूसँग सम्वादको आवश्यकता महसुस नगरेको र यथास्थितिमा संसद् चल्न नसक्ने बताएका हुन् ।
“पछिल्लो राजनीतिक परिस्थितिमा सरकारले हामीसँग छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेन । संसद्मा पेश भएको संविधान संशोधन विधेयक अगाडि बढाउन नमिल्ने सर्वोच्चले फैसला गरिसकेको अवस्थामा त्यो अगाडि बढाउनै मिल्दैन,” उनको भनाइ थियो ।
सिमांकन बाहेकका विषयमा छलफल गर्नुको सट्टा संसद् चलाउँछु भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल हिँडेको भन्दै त्यसमा टिप्पणी गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।  उनले आजको बैठक ९ दलले उठेरै विरोध जनाउने बताए ।