काठमाडौँ । टिम सहकर्मी खेलाडी प्रतिबन्धित औषधि प्रयोग (डोपिङमा) असफल भएपछि विश्वकै तीव्र गतिका धावक उसेन बोल्टले बेईजिङ ओलम्पिकमा जितेको एउटा स्वर्ण पदक खोसिएको छ ।
सन् २००८ को चीनको बेईजिङ ओलम्पिक अन्तर्गत ४ गुणा १ सय मिटर दौडमा बोल्टले जितेको स्वर्ण पदक बुधबार खोसिएको हो । बेईजिङ ओलम्पिकमा ४ गुणा १ सय मिटर दौडमा बोल्टसँग दौडिएका चार जना धावकमध्ये नेस्टा कार्टरले प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि जमैकाले बेइजिङ ओलम्पिकमा जितेको स्वर्ण पदक खोसिएको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले परिक्षण गरेको डोपिङ टेस्टमा ३१ वर्षे कार्टरको रिपोर्ट पोजेटिभ आएको थियो । जसको कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कार्टर र बोल्ट लगायतले जितेको स्वर्ण खोसेको हो । बेईजिङ ओलम्पिकमा सहभागिमध्ये अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ४५४ जना खेलाडीको डोपिङ टेस्ट गरेको थियो ।
बोल्ट र कार्टरसहितको जमैकन टिमले जितेको यो स्वर्ण पदक खोसिएसंगै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यस स्पर्धाको स्वर्ण पदक ट्रिनिडाड एण्ड टोबागोलाई प्रदान गर्ने भएको छ । त्यस्तै यस स्पर्धामा जापानले रजत पदक पाएको छ भने ब्राजिलले कास्य पदक पाएको छ ।
बेइजिङ ओलम्पिकमा बोल्टले १ सय मिटर, २ सय मिटर र ४ गुणा १ सय मिटर दौडमा स्वर्ण जितेका थिए । ४ गुणा १ सय मिटर दौडको पदक खोसिएपछि बोल्टले ओलम्पिकका जितेका स्वर्ण पदकको संख्या ८ मात्र भएको छ ।