काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । स्थानीय निकायको निर्वाचन घोषणा गरेको भोलिपल्ट मंगलबार सरकारले आह्वान गरेको सर्वदलीय बैठकबाट निस्कँदै गर्दा प्रधानमन्त्री दाहालले त्यस्तो संकेत गरेका हुन् ।

सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्रीले निर्वाचनप्रति दलहरूले आम सहमति जनाएकाले संविधान संशोधन प्रस्ताव अघि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

बैठकमा मधेसको मुद्दालाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्छ भन्नेमा दलहरू सहमत रहे पनि प्रक्रियामा विचार फरक रहेको उनको भनाइ थियो । यद्यपी मधेसी मोर्चाले भने बैठक बहिस्कार गर्‍यो । त्यस्तै उनले बुधबार बस्ने व्यवस्थापिका संसदमा संविधान संशोधन प्रक्रिया बढ्ने र एमाले पनि त्यसमा सहमत हुने बताए ।

बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन घोषणाको सबै पार्टीले स्वागत गरेको जानकारी दिए । सभापति देउवाले सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावका सम्बन्धमा नेकपा एमाले र मधेसी मोर्चा सहमतिमा आउने विश्वाससमेत व्यक्त गरे ।

मधेसी मोर्चालाई निर्वाचनका लागि मनाउने भन्दै आव्हान गरिएको बैठकमा भने मोर्चा नै अनुपस्थित रह्यो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राष्टिय जनमोर्चा, जनमुक्ति पार्टी, नेकपा संयुक्त, नेपा राष्ट्रिय पार्टी, नेमकिपालगायत दलका नेता सहभागी थिए ।