काठमाडौं,श्रावण ३० ।राम रेप्चुङ राई ।

अमेरिका रहँदै आएकी गीतकार तथा कवियत्री शान्ता अधिकारी घिमिरेले ‘कर्मभूमिको फूल’ र ‘भगवान् खोज्दैछु’ लिएर आएकी छन् । उनको कवितासङ्ग्रह ‘कर्मभूमिको फूल’ र ‘भगवान् खोज्दैछु’ बोलको म्युजिक भिडियो आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

कलाकार समन्वय संघ, नेपालको आयोजनामा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा कृतिलाइ लोकार्पण गरिएको थियो ।

विशिष्ट अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटा, बरिष्ट साहित्यकार उषा शेरचन, कवि, गीतकार तथा सञ्चारकर्मी डा. नवराज लम्साल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटालगायतले सामूहिक रुपमा कृतिको विमोचन गरेका थिए ।

प्रमुख अतिथि शताब्दी पुरुष जोशीले ‘कर्मभूमिको फूल’ पुस्तकले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिकरण गर्न टेवा पुग्ने धारणा व्यक्त गरे ।

विशिष्ठ अतिथि डा. लम्सालले अधिकारीको ‘कर्मभूमिको फूल’ कवितासङ्ग्रहको समिक्षा गरेका थिए । चर्चा, हल्ला, लोकप्रियता र अराजकताबीच गुज्रिरहेको नेपाली साहित्यमा शान्ताको कवितासङ्ग्रह उत्कृष्ट सम्भावना बोकेको पुस्तक रहेको बताए । त्यसैगरि वरिष्ठ समालोचक तथा साहित्यकार उषा शेरचन, विशिष्ठ अतिथि सङगीतकार बास्कोटा, वरिष्ठ समालोचक लीला लुईंटेलले कृतिमाथि आ–आफ्नो धारणा ब्यक्त गर्नुका साथै शान्तालाई शुभकामना दिएका थिए ।

रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा सङ्गीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष गीतकार, साहित्यकार तथा सञ्चारकर्मी टंक सुब्बा, बरिष्ट समालोचक खगेन्द्र लुइँटेलका साथै अन्य कलाकारहरुको पनि बाक्लै उपस्थिति थियो ।