धुलिखेल (काभ्रे), ३० भदौ, पूर्वी नेपालका किरातहरुको नाट्य परम्परा, लोक नाटक, संस्कार, संस्कृतिजन्य अभिनयहरुको बारेमा आज मध्य नेपालको धुलिखेलमा विचार विमर्श गरिएको छ । सुम्निमा थिएटर एकेडेमीको आयोजना र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रको सहआयोजनामा ‘किराती नाट्य विमर्श–२०७४’ कार्यक्रम सम्पन्न भएको हो ।

वरिष्ठ भाषाविद् प्रा.डा. विष्णुसिंह राईको सभापतित्वमा भएको सो विमर्श कार्यक्रमको पहिलो सत्रमा नाटककार प्रवीण पुमाको ११ औँ पुस्तक कृति ‘पारुसेवा मुन्दुमः परिचय, पाठ र विश्लेषण’ को विमोचन गरिएको थियो । किराती संस्कारअनुसार केराको पातमा पोको पारेर ल्याइएको पुस्तकलाई भियना विश्वविद्यालय, साउथ एशियन स्टडिज विभागका प्रमुख प्रा.डा. मार्टिन ग्यान्सजेले विमोचन गरेका हुन् ।

सो कृतिमाथि वरिष्ठ पत्रकार तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले टिप्पणी गरेका थिए । पुस्तकको संक्षेपमा टिप्पणी गर्दै श्रेष्ठले किराती जातिको मुन्दुममा गहन खोज गरेर अनुसन्धानात्मक कृति प्रकाशमा ल्याएकोमा लेखक पुमालाई धन्यवाद ज्ञापन गरे । युवा पुस्ताहरु यसरी आफ्नो संस्कार र संस्कृतिप्रति गम्भीर भएको देख्दा खुसी लागेको बताउँदै श्रेष्ठले आफ्नो संस्कृतिको संरक्षण अब युवा पुस्ताले नै गर्नु पर्ने उल्लेख गरे । उनले नेपालको संस्कार र संस्कृति जोगाउन नेपालमा प्रचलित र लोपोन्मुख भाषा, संस्कार र संस्कृतिको संरक्षण र विकासमा जोड दिनु पर्ने उल्लेख गरे । नेपालमै प्रचलनमा रहेका भाषा, धर्म, संस्कार र संस्कृतिको विषयमा नेपालीलाई नै जानकारी नभएको वर्तमान अवस्थामा पुमाको कार्यले यसको प्रचार प्रसार र उन्नतीमा ठूलो योगदान पुगेको उनले उल्लेख गरे ।

कार्यक्रमको दोस्रो सत्रमा नाटककार प्रवीण पुमाको ‘कोइँच लोकनाटकको अध्ययन’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा नाटककार पुमाले कोइँच जाति नेपालका आदिवासी र किरात धर्म मान्ने किरातीहरुको एक शाखा भएको उल्लेख गरे । विशेषगरी वल्लो किरात (काठमाडौँ पूर्वदेखि दूधकोशीसम्म) मा बसोबास गर्ने कोइँचहरुको जनसंख्या ५५ हजार ७ सय १२ रहेको छ । कोइँचलाई सुनुवार, सुनवार, सुन्वार वा मुखिया पनि भनेर चिन्ने गरिएको छ ।

कोइँचहरुको नाटकको प्रारम्भ, मध्यान्ह र अन्त्य धार्मिक विधिबाटै प्रदर्शन गर्ने गरिन्छ । कोइँचमा मुख्यगरी सापुरोलो, खामेउम्चा, ग्याँबे ताँगे, जाइलामे, बुल्नु थाःचा, शाँदार, कालिपिपि, बास्तिहोपो, मेसेल्मी, नादोरी, क्लिक्लिति, राम्दाले, शुदुक, क्योङमाचिङ, पोइबो, सलाक, खालो, थालो जस्ता नाटकहरु प्रचलनमा रहेको पनि पुमाले उल्लेख गरे । कोइँच जातिका मान्छेको जन्मदेखि मृत्युसम्म, दैनिक कार्यहरु, धार्मिक तथा काल्पनिक विषयवस्तुमा अभिनय प्रदर्शन हुने भएकाले यो कार्यपत्रमा सोही कुरा उल्लेख गर्न खोजिएको उनले उल्लेख गरे ।

नाटककार पुमाले प्रस्तुत गरेको कार्यपत्रमाथि अनुसन्धाता तथा संस्कृतिविद् शीतल गिरी र प्रा.डा. सावित्री कक्षपतिले टिप्पणी गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै गिरीले भाषाको जन्म हुनुभन्दा अघि अभिनयको जन्म भएकोले नाटक पहिलो र अन्यको जननी विधा भएको उल्लेख गरे । मानव उत्पतिबाट ढुङ्गे युग, पशुपालन युग हुँदै अहिलेको आधुनिक युगसम्म आइपुग्दा अभिनयले नै प्रमुखता पाइरहेको बताउँदै गिरीले एक किराती जातिको नाटक परम्परालाई यो कार्यपत्रले प्रमाणिकरण गरेको बताए ।

अर्का टिप्पणीकार प्रा.डा. सावित्री कक्षपतिले किराती नाटकलाई लिपिबद्ध गर्न आवश्यक रहेको औँल्याइन् । यसैक्रममा नाटककार पुमाले कोइँच जातिको नाट्य परम्परालाई लिपिबद्ध गर्न सकेको उनको दाबी थियो । किरात जातिमा धेरै नाटकहरुको स्रोत रहेको बताउँदै उनले अहिले धेरै भन्दा धेरै नाटकको संकलन मात्रै गर्न आवश्यक रहेको बताइन् । हाम्रो पुस्ताले ती विषयवस्तुहरुको संकलन मात्रै गर्न सके पनि सके यही पुस्ताले नसके अर्को पुस्ताले व्याख्या र प्रसार गर्न सक्ने उनको भनाई थियो । किरात समुदायमा प्रचलित नाटकहरुलाई त्यही समुदायका युवाहरुले अध्ययन र संकलनमा चासो राख्नु पर्ने पनि उनले बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. मार्टिन ग्यान्जलेले किरात जाति संस्कार र संस्कृतिको धनि जाति रहेको बताउँदै यो जातिको विषयमा धेरै अध्ययन गर्न बाँकी रहेको बताए । उनले आफू विगत लामो समयदेखि यही जातिको विषयमा अध्ययन गरिरहेकोले संकलित सामग्रीलाई भियना युनिभर्सिटीमा अभिलेखिकरण गर्न सफल भएको बताए । युनिभर्सिटीमा संखुवासभाका मेवाहाङहरुको तथ्याङ्क संकलन भइसकेको बताए । उनले पछिल्लो समय सत्यहाङ्मा पन्थ मान्ने किरातीहरुको अध्ययन र अनुसन्धान गरिरहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. प्रेम खत्रीले युनेस्को र नेपाल सरकारसँगको सहकार्यमा किरातीहरुको अध्ययन र अनुसन्धानका कार्य गरिहेको बताए । किरात जातिमा प्रचलित नाटकको क्षेत्रमा पनि आफूले काम गरिरहेको उनले उल्लेख गरे । किरातीहरुको नाट्य परम्परा र संस्कारलाई लिपिबद्ध गर्न आफूहरु निरन्तर लागिपरेको उनले सुनाए । मान्छेको क्रियाकलाप नै एक नाटक र अभिनय भएकोले अमूर्त सम्पदा अन्तर्गत अध्ययन र अनुसन्धान गरी लिपिवद्ध गर्न आवश्यक रहेको उनले बताए । समय र परिस्थितिले कुनै पनि जात जातिका व्यक्तिहरु फरक स्थानमा गए पनि आफ्नो संस्कार र संस्कृतिसँगै लिएर गएको उल्लेख गर्दै खत्रीले नेपाली नाट्यकारिताको प्रचार प्रसार पनि भइरहेको बताए ।खत्रीले प्रवीण पुमाले किरातीहरुको नाटक क्षेत्रमा पुस्तक प्रकाशन, नाटक लेखन, मञ्चन गरेर योगदान पुर्याउँदै आएकोले यसलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रमका सभापति प्रा.डा. विष्णुसिंह राईले प्रोफेसर डा. मार्टिनले किरातको मुन्धुम र अन्य संस्कार संस्कृतिको बारेमा भियना युनिभर्सिटीमा डिजिटल अर्काइभ बनाएर राख्नु भएकोमा धन्यवाद दिए । त्यो अर्काइभको सम्पूर्ण पाठकहरुले युजर क्रिएट गरेर अध्ययन गर्न पाउने पनि उनले जानकारी दिए । नाटक साहित्यको एक विधा भए पनि अभिभाज्य रुपले साहित्यकै विधा भने भन्न नमिल्ने बताए । नाटक अभिव्यक्तिको एक माध्यम भएको बताउँदै उनल
बताउँदै उनले नाटकको लेख्य रुप भने पछि मात्रै आएको बताए ।

नाटककार प्रवीण पुमा एक समर्पित युवा भएकोले किरातीहरुको नाटक क्षेत्रमा शसक्त रुपमा लागिरहेको उनले उल्लेख गरे । पुमाले पहिचानको विषयमा दुखेसो पोखेको बताउँदै उनले पहिले त आफ्नो सम्पदाको संरक्षण गर्नु पर्ने र त्यसको मूल्याङ्कन हुँदा पहिचान स्वतः प्राप्त हुने बताए । किरातीहरुको नाटक क्षेत्रमा अझै धेरै अध्ययन अनुसन्धान आवश्यक रहेको बताउँदै राईले आफूले पनि पछिल्लो समय किरातीहरुको मृत्यु संस्कारको बारेमा आफूले अध्ययन गरिरहेको बताए ।

कार्यक्रम धुलिखेलको इको रिसोर्टमा सम्पन्न भएको थियो । अनुसन्धान केन्द्रका अध्यक्ष अनुसन्धाता डा. भक्त राईले संचालन गरेको कार्यक्रममा हङ्कङबाट आएका गीतकार टंक सम्बाहाम्फे, पत्रकारहरु डिल्लीरमण सुवेदी र प्रेम स्याङ्तान लगायतको उपस्थिति रहेको थियो ।