पूर्ब धनकुटा जिल्लाको चौबीसेमा जन्मिएका कवि टंक सम्बाहाङफे काठमाडौ अनामनगरस्थित मण्डला नाटकघरमा हङकङ र नेपालमा लेखिएका रेखा कविता र अन्य फुटकर कविताहरु लिएर २०७४ आश्विन ७ गते शनिबार एकल कविता वाचनमा उत्रिनुभयो । कवि सम्बाहाङफेले ‘जीवन रेखा ’ शीर्षकको रेखा कविताबाट सुरु गर्नुभएको आफ्नो काव्य यात्राकै पहिलो एकल वाचन भएको पनि बताउनु भयो l उक्त एकल वाचन कार्यक्रमको आयोजना डिस्कोर्स डबलीले आयोजना गरेको हो ।


जन्मदेखि मृत्युसम्म
टाँगीन
एउटा जीवित रेखा
अथवा जीवन रेखा
म कोरीरहेछु निरन्तर
कहिँ कतै रोकिएको छैन
रोक्न खोजे पनि रोकिँदैन
(जीवन रेखा – कविताबाट)
श्रोताहरुको बाक्लो उपस्थितिमा कवि सम्बाहाङ्फेले विभिन्न विधाका १३ वटा कविताहरु वाचन गरेर सुनाएका थिए । उनका कविता पहिचान, संस्कार र संस्कृति तथा जीवन, जगतमा आधारित थिए । सो समारोहमा ‘जीवन रेखा’, ‘आन्दोलनकालागि आन्दोलन’, ‘टंक सम्बाहाङ्फेसँग जोरी खोज्नेहरु’, ‘मेरो देशको उन्मुक्तिको गीत’, ‘चासोक तङ्नाम र याद’, ‘च्याब्रुङको आलाप र विलाप’, ‘हङकङ, सपना र हामी’, ‘मृत्यु श्रृङ्खला’, ‘नाकाबन्दीले जन्माएको कविता’, ‘नयाँ शक्तिको उदय’, ‘रेखा सम्बन्ध’, ‘भूकम्पको अमूर्त चित्र’, ‘पहिचानको गीत’ शीर्षकका कविताहरु वाचन गरेर सुनाइएको थियो ।
पोहोर सालको भाका
बल्ल आज आईपुगेछ टुप्लुक्क
सोल्टी ज्यू
आगौं नमरी बाँचे दैबले साँचे
भेटौला चासोक तङनाममा
भनेको दिन त आजै पो रहेछ।
(चासोक तङनाम र याद – कविताबाट)

केही कविताहरु लिम्बू संस्कार र संस्कृतिसँग सम्बन्धित थिए । उनको ‘चासोक तङ्नाम र याद’ र ‘च्याब्रुङको अलाप र विलाप’ कवितामा श्रोताहरुले निक्कै मनोरञ्जन लिएका थिए ।
लिम्बुवानको छातीमा उभेर
च्याब्रुङ्ग एकोहोरो
च्याङ् ग्रुम …च्याङ् …च्याङ् ग्रुम ….च्याङ् गर्दै
आलाप गरिरहेछ
बिलाप गरिरहेछ
लिम्बु दाईले आफ्नो काधमा
छड्के भिरेर
च्याब्रुङ्को गाला मुसार्दै
सात डाडा पारी लिम्बुको बिहेमा
च्याङ् ग्रुम ..च्याङ् …च्याङ् ग्रुम …च्याङ् गर्दै
(च्याब्रुङ्गको आलाप र बिलाप – कविताबाट)
यता पहिचानसँग सम्बन्धित कविताहरुले पनि पहिचान पक्षधरलाई केही जागरुक गराए पनि सबै किसिमका श्रोताहरुलाई छुन सकेका थिएनन् । राज्यसत्ताको सत्तो सराप गरिएका कविताहरु भने एकेडेमिक र औपचारिक स्थलमा भन्दा पहिचानका आन्दोलनहरुमा झण्डा बोकेर उत्रिएका कार्यकर्ताहरुलाई उर्जा प्रदान गर्न सक्ने किसिमका थिए ।

कविता वाचनमा कवि टंक सम्बाहाङ्फेलाई कविहरु विमला तुम्खेवा, गणेशकुमार राई, लक्ष्मी रुम्बा, अनुपम रोशीले साथ दिएका थिए ।
लुट लुट देश लुट
देशको सम्पति लुट
देशको ईज्जत लुट
किनकि तिमीहरुलाई देशको माया छैन
त्यो कुरा हामीलाई
राम्ररी थाहा छ
ओहदामा बसेर लुट
सचिब भएर लुट
राजनीतिको नेता भएर लुट
आखिर देश लुट्नु छ
किनभने तिमीहरु यो देशका मान्छे होइनौ
(मेरो देशको उन्मुक्तिको गीत – कवि गणेशकुमार राईद्वारा बाचित)
कार्यक्रमलाई सम्बोधन गर्दै कवि तथा प्राज्ञ श्रवण मुकारुङले कवि टंक सम्बाहाङ्फे कवि मात्रै नभएर दृष्टिकोणको प्रतिपादक पनि भएको बताए । उनले एउटा दृष्टिकोण बनाएर कविता लेख्ने भएकाले सम्बाहाङ्फेको कविता भन्दा दृष्टिकोण जीवन्त हुने दाबी गरे । कविको पहिचान कविता लेख्नु भए पनि दृष्टिकोण दिनसके त्यो अमर हुने उनको भनाइ थियो । कवि सम्बाहाङ्फेको प्रशंसा गर्दै प्राज्ञ मुकारुङले मोतिराम भट्ट जस्तो उनी पनि अरुलाई दृष्टिकोणमा आधारित भएर कविता लेख्न उत्प्रेरित गर्ने कवि भएको बताए । हङकङमा बसेर नेपाली कविता र साहित्यको विकासमा सम्बाहाङ्फेले पुर्याएको योगदान पछिल्लो पुस्ता वा समालोचकहरुले खोजी गर्ने दिन आउने उनले बताए ।
हरेक दिनको नयाँ बिहानीले
नयाँ घामको उदय गराए झैं
हरेक युगले त्यसरी नै
नयाँ शक्तिको उदय गराउँदछ
त्यही नयाँ शक्तिको प्रकाश हौ हामी
त्यही नयाँ शक्तिको किरण हौ हामी
यीनै शक्तिका पुन्जहरु सन्चालन गर्न
एउटा नयाँ मान्छेको उदय भैदिन्छ
(नयाँ शक्तिको उदय – कवि बिमला तुम्खेवाद्वारा बाचित)
पहिलो चरणमा कविता उत्कृष्ट हुनु पर्ने बताउँदै प्राज्ञ मुकारुङले एकल कविता वाचन दोस्रो दर्जामा मात्रै हुने बताए । आफूले पनि प्रारम्भिक चरणमा धेरै पटक कविता वाचन गरेको स्मरण गर्दै उनले पछिल्लो समय यसको महत्व कम लाग्न थालेको बताए ।

हङकङमा बसोबास गरिरहेका कवि सम्बाहाङ्फे रेखा कविताका अभियन्ता हुन् । उनीसहितका केही कविहरु जीवन र जगत एक रेखामा आधारित छ भन्ने मान्यता राख्दै त्यही रेखासँग सम्बन्धित भएर कविताहरु सिर्जना गर्ने अभियानमा छन् । त्यसैअन्तर्गत कवि सम्बाहाङ्फेका आज वाचित केही कविताहरु पनि रेखा अभियानसँग सम्बन्धित थिए । रेखा कविता अभियान २०११ देखि हङकङबाट सुरु भएको कवि सम्बाहाङ्फेले जानकारी दिए । यसका छुट्टै मान्यता रहेको बताउँदै उनले समानता, क्षेत्रता, सामयिकता, सहनशिलता, आलंकारिकता र रेखाप्रस्तुती रहेका कवितालाई रेखा कविता भन्न सकिने उनले बताए ।
यसपाली मात्र तिमीलाई हङकङमा भेटे
तिमीलाई थाहा छ
हङकङ आईडी बनाउँन आउदा
आर ए ४०९ को एउटै सीटमा
परिचय गर्दै
हङकङमा पैशा कमाउँने सपना बुनेका थियौ
(हङकङ,सपना र हामी – – कविताबाट)