काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बालुवाटारमा दुई घण्टा लामो गोप्य वार्ता भएको छ।

दुई नेता मात्र सहभागी वार्तामा पार्टी एकता र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको छ । पार्टी एकताका विषयमा नेताका विभिन्न भनाइ सार्वजनिक भइरहेका बेला एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीचको गोप्य भेटवार्तालाई महत्वका साथ हेरिएको छ।

यसअघि वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारी थियो । यद्यपी नेताहरुको व्यवस्थापन कठिन बन्दै गएपछि त्यो मिति टरेको प्रचण्डले नै स्वीकार गरिसकेका छन् । ओली र प्रचण्डको बिहीबारको भेटमा पार्टी एकताका विषयमा गम्भीर छलफल भएको अनुमान गरिएको छ ।

पार्टी एकताका लागि अन्य विषयमा सहमति भए पनि नेता व्यवस्थापनले अप्ठेरो मोड लिएपछि एकता घोषणाको मिति पटकपटक सर्दै आएको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संयुक्त घोषणापत्र तयार पारेर चुनावी मैदानमा गएका दुई पार्टीबीच नयाँ सरकार गठन अघि नै एकता गर्ने तयारी थियो।

पूर्व तयारीको अभाव भन्दै केपी ओली नेतृत्वको सरकार गठनपछि मात्र पार्टी एकता गर्ने सहमति गरेका नेताले सरकार गठनपछि दुई महिना बितिसक्दा समेत एकताको विषयमा ठोस निर्णय गर्न सकेका छैनन्।

ओली प्रधानमन्त्री भएपछि उनको भारत भ्रमणअघि नै एकताको घोषणा हुने बताइएको थियो । यद्यपी केही विषयमा विवाद जारी हुँदा ओलीको भ्रमणअघि एकता सम्भव भएन । त्यसपछि शीर्ष नेतृत्वले नै भन्दै आएको वैशाख ९ गते हुने भनिएको एकता घोषणा समेत धकेलिएपछि आम नेता, कार्यकर्ता र नागरिकमा दुई पार्टी एकतामा आशंका बढिरहेका बेला ओली र प्रचण्डले गम्भीर वार्ता गरेका हुन्।

पार्टी एकतामा विवाद बढ्दै जाँदा केही दिन अघि प्रचण्ड तनावकम गर्न आफू निकटका नेतालाई लिएर सुकुटे पुगेका थिए । त्यसपछि भएका वार्ता सकारात्मक हुँदै गएको नेताहरुको दाबी छ।