दृष्टिविहीनको लालटिन

अँध्यारो रातमा एक दृष्टिविहीन बाटोमा हिँडिरहेको थियो । उसले एक हातमा लालटिन र टाउकोमा माटोको घैँटो बोकेको थियो । बाटो हिँड्ने कुनै एक बटुवाले उसलाई हेपेर सोध्यो, “हेर त यो मूर्ख अन्धो । हैन, तँलाई त दिन र रात एकै समान त हो नि, अनि यो लालटिन किन चाहियो ?”

अन्धोले उत्तर दियो, “मैले यो लालटिन मेरो लागि बोकेको होइन । यो त तिमीहरूजस्ता दृष्टि भएकाहरूका लागि हो, ताकि तिमीहरू मसँग ठोक्किएर यो माटोको घैँटो नफुटोस् ।”

दृष्टिविहीन र दूध

एकपटक एउटा जन्मजात दृष्टिविहीन मानिसले देख्ने मानिसलाई सोध्यो, “दूधको रङ्ग कस्तो हुन्छ ?”

अनि त्यो देख्ने मानिसले भन्यो, “दूधको रङ्ग कागजको रङ्गजस्तै सेतो हुन्छ ।”

दृष्टिविहीनले सोध्यो, “त्यसको रङ्ग हातमा कागजझैँ सर्सराउँछ ?”

देख्ने मानिसले भन्यो, “होइन, यो पीठो जस्तै सेतो हुन्छ ।”

दृष्टिविहीनले सोध्यो, “त्यसो भए, यो पीठोजस्तै नरम र धूलो हुन्छ ?”

देख्ने मानिसले भन्यो, “होइन, यो सेतो खरायोजस्तै सेतो हुन्छ ।”

दृष्टिविहीनले सोध्यो, “त्यसो भए, के यो खरायोजस्तै नरम र भुवादार हुन्छ ?”

देख्ने मानिसले भन्यो, “होइन, यो हिउँजस्तै सेतो हुन्छ ।”

दृष्टिविहीनले सोध्यो, “त्यसो भए, के यो हिउँजस्तै चिसो हुन्छ ?”

अनि त्यो देख्ने मानिसले अनगिन्ती उदाहरणहरू दियो, जति गरे पनि दृष्टिविहीनले दूधको रङ्ग कस्तो हुन्छ भनेर चिन्न सकेन ।

(अनुवाद: एकदेव अधिकारी)