समृद्धि भनेको के हो ?

‘समृद्धि’ भनेको सम्पन्नता हो । यसलाई बुझ्न सर्वप्रथम ‘समृद्ध’शब्दको अर्थबोध गर्नु पर्ने हुन्छ । यसलाई नेपाली बृहत् शब्दकोशले “धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको, उन्नतिशील वा उन्नत” भनी परिभाषित गरेको पाइन्छ । सार वा संक्षेपमा भन्नु पर्दा ‘समृद्धि’ शब्दले व्यक्तिको सम्पन्नतालाई जनाउँछ र यो सम्पन्नता विशेष गरी आर्थिक क्षेत्रसँग बढी सम्बन्धित रहेको मानिन्छ । आफूले इच्छाएका कुराहरु गर्न आर्थिक कारणले रोकिनु नपरेको अवस्था नै हामीले व्यवहारिक रुपमा बुझ्ने सम्पन्नता हो । हुन त मान्छेका इच्छाहरु असीमित हुने भएकाले पूर्ण समृद्धिको विन्दु फेला पार्न कठिन हुन्छ नै; तैपनि आफ्नो घर–व्यवहार चलाउन, छोराछोरीलाई शिक्षादीक्षा दिन, बिरामी परे औषधोपचार गर्न, चाडबाड र साँस्कृतिक पर्वहरु मनाउन कुनै गाह्रो नपर्नु नै हाम्रो परिवेशमा समृद्धि ठहरिन जान्छ । अर्को शब्दमा भन्ने हो भने गाँस, बास कपास जस्ता आधारभूत र स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता मानव विकासका न्यूनतम् विषयमा आफूले चाहे जसरी खर्च गर्न सक्ने हैसियत कायम रहनु र यी ६ क्षेत्रमा गरेको खर्चले अन्य व्यवहारलाई प्रभावित नपार्नु नै हाम्रो सन्दर्भको समृद्धि हो । समृद्धिको खास अर्थ हो एकातिर टाल्दा अर्कोतिर भ्वाङ नपर्नु अथवा छोटो सिरक ओढ्दा टाउको छोपे गोडा नाङ्गै र गोडा छोपे टाउको नाङ्गै हुने अवस्था नआउनु । हरेक नेपाली परिवारले मानवोचित जीवन जिउन पुग्ने गरी खर्च गर्ने सामथ्र्य प्राप्त गर्नु नै हाम्रो अर्थ र परिवेशको व्यवहारिक समृद्धि हो ।

तर पैसा चाहिन्छ

समृद्धि भनेकै पैसा खर्च गर्ने क्षमता आर्जन गर्नु हो । खर्च त गर्न सकिन्छ तर पैसा कहाँबाट आउँछ ? जब आवश्यक र नगरी नहुने कामका लागि पनि आफूसँग भएको पैसाले पुग्दैन तब बाध्य भएर ऋण काढ्नु पर्ने हुन्छ । गृहस्थीको कुरो पनि त्यही हो र राष्ट्रको कुरो पनि त्यही हो । नपुग खर्च अरुसँग सर–सापटी, ऋण, अनुदान मागेर वा कसैको माया–प्रेम जितेर कुनै विशेष काम जिम्मा लगाउनुबाट नै काम चलाउनु पर्ने हुन्छ । देशले बरु वहुपक्षीय, सरल र नरम ऋण पनि पाउन सक्छ; अनुदानमा आयोजना बनाइदिने ‘टर्न–की’ दाताहरु पनि पाउन सक्छ । तर नागरिकलाई वा गृहस्थलाई हत्तपत्त यस्तो सुविधा प्राप्त हुँदैन । कसैले कसैका छोराछोरीलाई पढाइदेला, अप्ठेरो परेको बेला फिर्ता नलिने गरी केही रकम पनि देला, तर सबैलाई यस्तो अवसर प्राप्त हुँदैन । त्यसैले नै हामीले हाम्रो आयबृद्धि गर्ने वैकल्पिक बाटाहरुका बारेमा सोच्नै पर्ने हुन्छ ।

अहिलेसम्म हामीले कृषि, उद्योग, व्यापार, पशुपालन वा आफ्नो पेशा, व्यवसाय, जागीर, सम्पत्ति बिक्री आदिबाट केही रकम देख्दै आएका छौं र त्यसैबाट घर पनि चलाउँदै आएका छौं । तर समयले भनिसक्यो कि अब यो पर्याप्त छैन । र, यसैको सशक्त विकल्पका रुपमा देखा परेको क्षेत्र हो— आतिथ्य व्यवसायको क्षेत्र अर्थात् पर्यटन ।

पर्यटन भनेको के हो ?

मानिस भावना भएको प्राणी हो । उ स्वर्ग र नर्क, पाप र पुण्य, इहलोक र परलोक जस्ता अनेकौं क्षेत्र र विषयमा भावनात्मक रुपमा जोडिएको हुन्छ । कोही पनि पापी हुन र नर्क पर्न चाहदैन; चाहे विभिन्न धर्मावलम्बीहरुले यी शब्दहरुलाई अर्कै अर्कै नामले संबोधन गर्ने गरेकै किन नहुन् ? धर्म, रीति, देवताको नाम, आराधना गर्ने स्थल, भक्तिको पद्धति आदि फरक फरक पर्न सक्छन्; परेकै पनि छन् तर समष्टिमा मान्छे पापसँग डराउँछ र त्यसको विपरीत मार्ग अवलम्वन गर्दै धर्म–कर्म गर्न थाल्दछ । उसले देखेका, सुनेका र ठानेका धार्मिक स्थलहरुमा जाने इच्छा गर्दछ । अर्थात् ऊ ‘धर्माटन’ गर्न चाहन्छ । यस्तो ‘धर्म’ गर्ने काम तीर्थहरुमा गएर गरिने हुनाले यसले ‘तीर्थाटन’ लाई जन्माउँछ । तीर्थहरु सबै नजिकै नजिकै नहुन सक्छन् र यसका लागि टाढा टाढा र कहिलेकाँही त अर्कै देशमा पनि पुग्नु पर्ने हुन सक्छ । यो प्रक्रियाले ‘देशाटन’ गराउन थाल्दछ । यसरी डुल्दै–घुम्दै जाँदा धार्मिक कुराहरु मात्र हेरिंदैन बरु विविध प्रकृति, विविध सँस्कृति, विविध दृश्यावली र विविध जीवनशैली पनि देखिन थाल्छन् त्यही मेसोमा । यसले मान्छेमा अरु उत्सुकता थपिदिन्छ । जीवनको रौनक नै फेरिएझैं महसुस गर्छ । नबोल्ने देउताभन्दा बोल्ने मानिसहरुसँग गरिएको व्यवहार अर्को विश्वविद्यालयझैं ज्ञानप्रद महसुस गर्न थाल्छ यात्रीले र यही प्रक्रियाबाट ‘पर्यटन’ को जन्म हुन पुग्छ । ‘चरैवेति’ अर्थात् घुमिरहू त्यसै भनिएको होइन । पढेर मात्र होइन, बरु परेर झन् बढी जान्दछ मान्छेले । र, आफूभित्र रहेको देख्ने, जान्ने, सुन्ने, चाख्ने, हेर्ने र अनुभव गर्ने रहरलाई मूर्त रुप दिन आज पनि करोडौं मानिसहरु अर्को ठाउँमा गएर घुमिरहेका छन् । कल्पनै गर्न नसकिने तथ्याङ्क छ— तीस लाख मान्छे त आकाशमै उडिरहेका हुन्छन् रे हर क्षण । तर हामी नेपाली त उडे पनि बाध्यताले उडेको हुन्छौं, शौखका लागि उड्ने ठाउँमा हामी अझै पनि पुगेका छैनौं; किनकि हामीले समृद्धि हासिल गर्न बाँकी नै छ ।

‘पर्यटन’ भनेकै अरुसँग नभएका कुराहरु आफूसँग छन् भने त्यसलाई निरन्तर आयआर्जन गर्ने श्रोतको रुपमा परिचालन गर्ने पद्धति हो । संसारको सबैभन्दा अग्लो पर्वत ‘सगरमाथा’ हाम्रै देशमा छ । त्यसैले जो कोही पनि त्यसको दर्शन गर्न यहीँ आउनै पर्छ— किनकि यो यहीँ छ । आठ हजार मिटरभन्दा बढी उचाइ भएका हिमालहरुमध्ये पनि पहिलो मात्र होइन, संसारको तेस्रो (कञ्चनजंघा), चौथो (ल्होत्से), पाँचौं (मकालु), छैटौं (चोयु), सातौं (धवलागिरि), आठौं (मनास्लु) र दशाैं (अन्नपूर्ण प्रथम) स्थानमा रहेका अग्ला अग्ला हिमालहरु नेपालमै छन् । सात हजार मिटरभन्दा बढी अग्लाइ भएका हिमालहरु १२२ वटा छन् नेपालमै । तसर्थ यो पर्वतारोहणको लागि विश्वकै केन्द्र हो । हिमालयको राजधानी हो । यसमा रमाउन नेपालै नआई धरै छैन । अर्को कुरो बुद्धका विशाल विशाल प्रतिमाहरु, बौद्धचैत्यहरु, मानेहरु र गुम्बाहरु संसारका अरु देशमा पनि प्रशस्तै छन्; तर स्वयं सम्यकसंबुद्ध भगवान बुद्ध जन्मेको पवित्र भूमि ‘लुृम्बिनी’ अन्यत्र कतै पनि छैन । त्यसका दर्शनाकांक्षीहरुले पनि नेपाल नआई हँदै हुँदैन । त्यस्तै वैरोचन, अक्षोभ्य, अमोघसिद्धि, अमिताभ तथा रत्नसम्भव बुद्धहरु र उनीहरुको तपोभूमि नेपालका बारेमा दुई चारवटा कुरा मात्र बताइदिए पनि यो मुलुक महान तीर्थ बन्ने कुरामा कुनै शंकै छैन । त्यति मात्र होइन, यति सानो भूगोलभित्र १२५ जात–जाति रहनु र अझै पनि यहाँ बोलिने जीवित भाषाहरुको संख्या १२३ वटा हुनु संसारका अरु देशका नागरिकहरुका लागि आश्चर्यले जिब्रो टोक्ने विषय हुनसक्छ । यहाँको साँस्कृतिक विविधता, यहाँका अनौठा रीति–थिति र चलनहरु, यहाँको जैविक विविधता, यहाँको भौगोलिक विषमता, खुट्टामा चप्पल नभए पनि ओठमा मुस्कान अड्याउन सक्ने नेपालीको अनौठो धैर्य र भाग्यवाद जस्ता कुराहरु अरुका लागि गंभीर चासो, उत्सुकता, खुल्दुली र मनोरञ्जनका विषयहरु हुन सक्छन् । यस्तै अनौठा कुराहरु हेर्नकै लागि नेपाल आउँछन् विदेशीहरु । यस्तै रमाइला कुरा हेर्न र बुझ्न अर्को क्षेत्रका भ्रमणमा निस्किन्छन्— आन्तरिक पर्यटकहरु ।

यसका अतिरिक्त अतिथिलाई ईश्वर समान मान्ने हाम्रो जीवन्त सँस्कृति, जतिसुकै अप्ठेरोमा पनि मुस्कुराई रहने हाम्रो जीवन पद्धति र विश्वमै अनौठो मानिएको हाम्रो प्रकृति— पर्यटकलाई आकर्षित गर्ने हाम्रा सबैभन्दा ठूला श्रोत, सम्पति र उपकरणहरु हुन् । नेपालभन्दा ६८ गुणा ठूलो चीनमा जम्मा २६ थरीका मात्र जनजाति छन् । जनसंख्याको ९७ प्रतिशत एउटै जातिको वर्चश्व छ । तर चीनभन्दा ६८ गुणा सानो भएर पनि नेपालमा ५९ थरीका जनजाति छन् । यी सबैका आ–आफ्नै भाषा, रीति–रिवाज र सँस्कृति छन् । त्यति मात्र होइन, वेदकै हाराहारीका सृष्टिकथाहरु छन् । हाम्रा बीचमा रहेको यो साँस्कृतिक विविधता पनि पर्यटक तान्ने राम्रो आधार हुन सक्छ— यदि हामीले कुशलतापूर्वक व्यवस्थापन गर्न सक्यौं भने । यो पंक्तिकारले एक पटक एउटा यस्तो जापानी पर्यटकलाई भेटेको थियो जो ६८ औं पटक नेपाल भ्रमणका लागि आएका थिए । कुरैकुरामा उनले भने— “जापानमा बसिरहँदा दिक्क लाग्छ । ‘ओकिनावा’ देखि ‘होक्काइदो’ सम्म जहाँ जहाँ गएर घुमे पनि सधैं एउटै खालको अनुहार, एउटै भाषा र एउटै सँस्कृति देख्नु पर्छ । तर नेपालमा घुम्दा प्रत्येक १२/१५ किलोमिटर नाघेपछि छुट्टै र फरक संसारमा पुगिन्छ । मृत्युपछि पनि कतै मृत शरीरलाई गाड्दै गरेका देखिन्छन्, कतै पौल्दै हुन्छन्, कतै जमिनमुनि पलेंटी मारेर बसाउँदै हुन्छन्, कतै नदीमा दबाउँदै हुन्छन्, कतै नुनसँग पोको पारेर छतमा राखिन्छ, कतै काटेर टुक्राटुक्रा पारेर पंछीहरुलाई खुवाइन्छ, कतै त्यसै दिन लाश निकालिन्छ, कतै साइत हेरेर निकालिन्छ, कतै रुँदैरुँदै मलामी जान्छन्, कतै हाँस्दैहाँस्दै मलामी जान्छन् । गाउँपिच्छे भाषा फरक छ । बिहावारी पनि अनौठा अनौठा छन् । प्रकृतिले मात्र होइन, सँस्कृतिले समेत सिंगारेको विचित्र देश हो नेपाल । यो ६८ पटक भ्रमण गर्दा पनि मैले नेपाललाई अझै बुझ्न सकेको छैन र अझै पनि स्वास्थ्यले साथ दिएसम्म नेपाल आइरहने छु ।”

उनको कुरो सुनेर पंक्तिकारलाइ पनि अलिकति नेपाल बुझेजस्तो लाग्यो । हाम्रो समाज त एउटा सुन्दर फूलबारी पो रहेछ भन्ने भावना जागृत भयो । यसरी नै धेरै थरी मानिसहरुबाट तपाईंले धेरै थरी कुराहरु सुन्न सक्नु हुनेछ— जस्तो कि, कोशी टप्पुमा चरा हेर्न गएकाहरुको बयान, शुक्लाफाँटामा पुगेर बथानका बथान मृग देखेर आएकाहरुको बयान, चात्रो हाल्न्याँहरुको चाँचरी, ढोरपाटनमा शिकार खेल्नेहरुको बयान, सगरमाथा चढेकाहरुको साहसकथा, स्याङबोचे एअरपोर्टमा हेलिकोप्टरबाट हामफाल्नेहरुको शौर्यकथा, नदीमा राफ्टिङ गर्नेहरुको रोमाञ्च, बैकिनीहरुको कलात्मक पुतला सेलाइ, पशुपतिमा ढुङ्गैपिच्छे ढोग्दै हिँड्नेहरुको भक्तिकथा, शे पर्वतलाई शरीरले नापेर परिक्रमा गर्नेहरुको बुद्धप्रतिको समर्पणभाव, याञ्जीर गुम्बाको राष्ट्रपूजा, खप्तडमा रमाउनेहरुको मनोरञ्जन, पाथीभरा पुग्नेहरुको श्रद्धा, खुम्बु पुग्नेहरुको चकितभाव, लाङटाङ घुम्नेहरुको रमाइलो, थोराङपास गर्नेहरुको रोमाञ्च, वन्यता र खाेंचमा लामो पदयात्रा गर्नेहरुको अलौकिक धैर्यानुभव, होमस्टेमा बसेकाहरुबाट अभिव्यक्तिएको कृतज्ञता, रामाराेशनको अलाैकिकता, कञ्चनजंघा वा लुम्बासुम्बाको वन्यता, लुम्बिनीको शीतलता, मनास्लु र लार्केपासको अगम्यता, ग्रेट हिमालयन ट्रेलको रहस्य, पर्वतारोहणको रौद्ररम्यता, सौराहा र एकसिंगे गैंडाका दुर्लभ कथाहरु, छाउगोठभित्र बगेको ऐकान्तिक आँसु, आइसफल डाक्टरहरुको संघर्षकथा, चोला–रेञ्जोला–खोङमाला नाघेर आउनेहरुको वाणीविहीनता, यार्सागुम्बा संकलनका अद्भुत अनुभव, हिँडेरै पोखरी पार गरेका दुर्लभ अनुभव, पानीको लौरो टेकेर हिँड्नेहरुका विस्फारित आँखाहरु, च्यार्खुरीको चुचुरोमा गरिएको ध्यान आदि इत्यादि… । यस्ता सबै रोमाञ्चक कुराहरुबाट नेपालको सँस्कृति र प्रकृतिको महत्व झल्किरहेको हुन्छ । यी सबैबाट के प्रष्ट हुन्छ भने— नेपाल एक यस्तो दुर्लभ देश हो जसका हरेक कुनाकाप्चामा नफुकाइएका रहस्य र रोमाञ्चका पोकाहरु कति हो कति छन् । तर हामी आफैं चाँहि यी विषयहरुमा कति जानकार छौं ? यति सुन्दर देश पाएर पनि त्यसको भ्रमण गर्ने चेत पाएका छौं कि छैनौं ? यति अग्ला अग्ला हिमालहरुको संगत गरेर पनि हामी अग्लिन सकेका छौं कि छैनौं ? महत्वपूर्ण प्रश्न यही हो । र, बिर्सिनै नहुने कुरो के हो भने पर्यटन भनेकै आफ्ना विशेषताहरुलाई हेर्न ‘तपाईं पैसा तिरेर हामीकहाँ आउनुहोला’ भनेर अरुलाई बोलाउने काम हो । जब हामी आफैं आफ्नो देशको सुन्दरताबारे परिचित छैनौं र प्रचार–प्रसार पनि गर्दैनौं भने कसरी हुन्छ पर्यटन क्षेत्रको विकास ?

पर्यटक आएपछि के हुन्छ ?

एक जना मात्रै किन नहोस्, जब पर्यटक विमानस्थलमा उत्रिन्छ, तब उसले सर्वप्रथम ट्याक्सी वा यस्तै अन्य सवारी साधनलाई पैसा तिरेर कुनै होटलमा पुग्छ । होटलमा पनि पैसा तिरेर नै कोठा बुक गरेको हुन्छ । कोठामा बसेपछि उसले समयानुसार ब्रेकफास्ट, लञ्च वा डिनर खान्छ । ब्रेकफास्ट भन्ने बित्तिकै अण्डा, बेकरीका उत्पादनहरु, दूध र फलफूलको खपत बढी हुन्छ । यसले गर्दा वरपरका कुखुरापालकहरु, फलफूल उत्पादकहरु, पशुपालक वा डेरी उद्योगीहरु र बेकरीहरुले सजिलै बजार पाउँछन् । लन्च र डिनरमा अन्न, सागपात, माछा, मासु, दाल, गेडागुडीहरुको बढी प्रयोग हुन्छ र वरपरका किसान, तरकारी खेती वा स्थानीय बजारमा तत् तत् वस्तुहरुको खपत बढ्न जान्छ र राम्रो भाउमा बिक्री गर्न सकिन्छ । त्यसपछि त्यो पर्यटक आफ्नो रुचीको क्षेत्रमा घुम्न निस्किन्छ— केही दिनका लागि । मानिलिऊँ कि ऊ पदयात्रामा जाने रहेछ भने उसले सर्वप्रथम “टिम्स” कार्ड भर्छ वा पदयात्राको अनुमति लिन्छ र सरकारलाई दस्तुर बुझाउँछ । कुनै भरिया लिन्छ, कुनै गाइड लिन्छ र गन्तव्यतर्फ निस्कन्छ । स्थानीय क्षेत्रमा पुगेपछि कुनै होमस्टे वा होटलमा बस्छ । होमस्टे वा होटलहरुमा स्थानीय कलाकारहरुबाट प्रस्तुत हुने नाचगानमा त्यो पर्यटक पनि रमाउँछ । फापर/कोदोको रोटी खान्छ, सिस्नोको खोले खान्छ, कलाकौशलका केही सामाग्रीहरु पनि किन्न सक्छ । यति गरुञ्जेलसम्ममा कुनै ट्रेकिङ एजेन्सी, भरिया, गाइड, होमस्टे वा होटल, स्थानीय कलाकार र स्थानीय परिकार मात्र होइन, केही कला सामाग्री बेच्ने पसलेहरु र स्थानीय किसान समेतले केही आर्थिक लाभ प्राप्त गरिसकेका हुन्छन् । त्यसपछि त्यो पर्यटक कुनै निकुञ्ज क्षेत्रमा प्रवेश गर्छ र सरकारलाई प्रवेश शुल्क बुझाउँछ । स्थानीय सँस्कृतिसँग एकाकार हुँदै र रमाउदै जाँदा उसले स्थानीय जाँड, छ्याङ, रक्सीको पनि उपभोग गर्छ र ती सबैका उत्पादकहरुलाई थोरवहुत लाभान्वित गराउँछ । यदि त्यो पर्यटक समूहमा रहेछ र कुनै हिमाल चढ्नका लागि अर्थात् पर्वतारोहणका लागि आएको रहेछ भने त्यसले देशलाई सबभन्दा बढी फाइदा पुर्याउँछ । तिनीहरुले त सर्वप्रथम हिमालको सलामी दस्तुर तिर्छन् र कुनै विमान कम्पनी मार्फत् कुनै हिमालको फेदीमा पुग्छन् । त्यहीबाट उनीहरुले बेस क्याम्पसम्मका लागि सामान्य भरिया, पर्वतारोहण गाइड, सरदार, शेर्पाहरुलाई साथ लिँदै आफ्नो काम सुरु गर्छन् । यो चरण पार गरुञ्जेलसम्ममा सरकार, विमान कम्पनी, स्थानीय होटल/लज, स्थानीय अदक्ष कामदारहरु, दक्ष कामदारहरु, विशिष्ट प्रकृतिका कामदारहरु, तरकारी, फलफूल र मासु उत्पादन गर्ने स्थानीय कृषक तथा व्यवसायीहरु, स्थानीय कलाकौशल र व्यापारी मात्र होइन, कलाकार र लत्ताकपडा, चश्मा, स्टोभ, डोरी, अक्सिजन आदि जस्ता क्लाइबिङ गियर (आरोहण सामाग्री) बेच्ने मानिस/पसलहरुलाई समेत लाभ पुर्याइसकेका हुन्छन्।

शहरी क्षेत्रतिर वा सुगम ठाउँमा मात्र घुम्न रुचाउने पर्यटक परेछ भने उसले अर्कै तरिकाले हामीकहाँ पैसा छोडेर जान्छ । उसले सर्वप्रथम कुनै ट्राभल एजेन्सीमार्फत् आफ्नो प्याकेज खरिद गर्दछ, गाइडलाई भुक्तानी गर्दछ र कुनै गन्तव्यमा पुग्दछ । त्यहाँ पुगिसकेपछि उसले तोकिएको प्रवेश शुल्क त तिर्छ नै त्यसका अतिरिक्त कलाकौशल, क्युरियो, संग्राहालय, दरबार क्षेत्रहरु सबैमा थोर बहुत पैसा खर्च गर्दै जान्छ । ऊ पुस्तक पसलहरुमा जान्छ र नेपाल सम्बन्धी किताबहरु किन्छ । स्थानीय बजारमा जान्छ र उसलाई अनौठा लागेका वस्तुहरु किन्छ । र, स्थानीय उत्पादनलाई नै सहयोग पुग्ने गरी केही खान्छ, पिउँछ, किन्छ, बोक्छ ।

त्यो पर्यटकले राफ्टिङ गर्न सक्छ, क्यानोनिङ गर्न सक्छ, स्काइडाइभिङ गर्न सक्छ । ट्रेकिङ गर्न सक्छ, हाइकिङ गर्न सक्छ, कायाकिङ गर्न सक्छ, माउन्टेनियरिङ गर्न सक्छ, बर्ड वाचिङ (चरा हेर्ने) गर्न सक्छ, जंगल सफारीमा जान सक्छ, माउण्टेन फ्लाइट लिन सक्छ, होमस्टेमै बसेर धेरै दिन रमाउन सक्छ, शिकार खेल्न सक्छ, जातीय रीतिरिवाज वा साँस्कृतिक अध्ययन गर्न सक्छ । जे जे गरे पनि उसले पाइला पाइलामा पैसा छर्छ र हामीलाई धनी बनाउदै जान्छ । त्यो पर्यटक ठूलो कलाकार वा लेखक वा वैज्ञानिक वा अनुसन्धानकर्ता पनि हुन सक्छ । फर्केर गएर नेपालबारे किताब लेख्छ र हाम्राबारेमा बाँकी संसारलाई बताउँछ । ऊ सामान्य नागरिक मात्र रहेछ भने पनि फर्केर गएर हाम्रो देशको सुन्दरताको प्रचार–प्रसार गर्छ । एउटा सन्तुष्ट ग्राहक जति ठूलो विज्ञापनको माध्यम अरु केही हुनै सक्तैन । त्यसैले पर्यटकको सुरक्षा, सुविधा र आनन्दलाई ध्यानमा राख्नु हामी सबैको कर्तव्य हुन जान्छ । कुनै पर्यटकमाथि स्थानीय जनताबाट दुव्र्यवहार भएको खण्डमा वा ठगी वा लुटपाट भएको खण्डमा त्यो ठाउँको भाग्य नै खोसिन पनि सक्छ । त्यसैले पर्यटकको सुरक्षामा समुदाय पनि अत्यन्तै चनाखो हुनुपर्छ भनिएको हो ।

अमेरिका, जापान, वेलायत, जर्मनी रुस, स्पेन, फ्रान्स, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, डेनमार्क, नर्वे, क्यानाडा, चीन जस्ता विकसित र शक्तिशाली देशहरु आफैंमा पुगीसरी आएका देशहरु हुन् । स्पेनमा त आफ्नो जनसंख्याभन्दा दुई गुना बढी पर्यटक भित्रिन्छन् किनकि राजदूत नै त्यस्तै सक्षमलाई मात्र बनाइन्छ । ती देशहरूमा पनि पर्यटनलाई ठूलो
उद्योग मानिन्छ । र, कसरी बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्ने भनेर ठूला ठूला र दीर्घकालीन योजनाहरु बनाइन्छन् ।

पर्यटन उद्योग भनेको सुनको फुल पार्ने त्यस्तो कुखुरी हो जसलाई राम्ररी पालिदिए मात्र पुग्छ । हरेक दिन सुनको फुल दिइरहन्छ । यसरी झोलामा पैसा बोकेर आई आफ्नो सम्पर्कमा आए जति सबै मान्छेलाई बाँड्दै हिँड्ने काम पर्यटकले मात्र गर्छन् । त्यसैले नै पर्यटनलाई राष्ट्रको ‘कामधेनु’ वा ‘कल्पबृक्ष’ वा ‘मनचिन्ते झोली’ जे भने पनि हुन्छ । पर्यटकको संख्या घट्ला भनेर संसारका शक्ति राष्ट्रहरु पनि डराउँछन् । तर हामीले भने अझै पनि यसको चुरो कुरो बुझेकै छैनौं । हाम्रा कतिपय भौतिक पूर्वाधार, कानूनी संरचना, स्थानीय परिवेश र सरकारी निकायको सोच पर्यटकमैत्री छैनन् । एउटा पर्यटक हामीलाई सकेसम्म पैसा बाँड्न आएको हुन्छ; तर कहिले हाम्रो वनले दुःख दिन्छ । कहिले प्रशासनले दुःख दिन्छ । कहिले सेनाले, कहिले आरक्षले, कहिले प्रहरीले, कहिले कानूनले, कहिले स्थानीय गुण्डाले, कहिले सिण्डिकेटले, कहिले हाम्रै दूरदृष्टिको अभावले, कहिले हाम्रै अकर्मण्यताले र कहिले हाम्रै चेतना–शून्यताले पर्यटकलाई दुःख दिइरहेको पाइन्छ ।
जब हाम्रो देशका बारेमा राम्रा राम्रा कुराहरु सुनेर पर्यटक यहाँ घुम्न आएको हुन्छ; उसले माथि उल्लेख गरेका क्षेत्र र व्यक्तिहरुलाई मात्र पैसा बाँड्दैन; त्यो भन्दा पर पुगेर हाम्रा दुर्गम क्षेत्रका अस्पतालहरु, जीर्ण जीर्ण विद्यालयहरु, कुनै जाति विशेष, कुनै क्षेत्र विशेष र वातावरण संरक्षण सम्बन्धी कार्यहरुलाई समेत लाभान्वित बनाइराखेका हुन्छन् । उनीहरुबाट हाम्रा स्वास्थ्यकर्मीहरु, औषधी बिक्रेताहरु, विश्व सम्पदा क्षेत्र, केवलकारहरु, यातायात व्यवसायीहरु, लेखकहरु, चित्रकारहरु, स्थानीय उत्पादनहरु, यौनकर्मीहरु, मसाज केन्द्रहरु, हाम्रा राजस्व असुली केन्द्रहरु लगायत अनेकौं व्यक्ति र सँस्थाहरुले समेत एकसाथ लाभ पाइराखेका हुन्छन् ।

यसरी हेर्दा के देखिन्छ भने— एउटा मान्छे यहाँ आइदिनाले घटीमा पनि १२/१५ जना र बढीमा ३०/३५ जनाले प्रत्यक्ष रोजगारी पाउने क्षेत्र भनेको पर्यटन क्षेत्र मात्रै हो । यति मात्र होइन, व्यक्ति र सँस्थाको आय आर्जनमा मात्र पर्यटनले मद्दत पु¥याउने होइन; पर्यटनसँग सम्बन्धित उद्योग/कम्पनी/फर्मको पनि वार्षिक आयमा बृद्धि हुन्छ र उनीहरुले पनि झन धेरै कर तिर्ने स्थिति आउँछ । यसबाठ बजेटको आकार बढ्छ र हामीले पूर्वाधारमा अझै बढी लगानी गर्न सक्छौं । रेल, पानीजहाज, केवुलकार आदि जस्ता पूर्वाधारहरु हँसी–मजाकमा उडाउनु पर्ने कुरा होइनन्; यी त राज्यका सपना हुन् र चाँडै नै यथार्थमा परिणत नभई धरै छैन । जब GDP मा पर्यटन क्षेत्रको योगदान अहिलेको भन्दा ५/७ गुणा मात्र बढ्नेछ; तब रोजगारीका लागि खाडीको बालुवामा सेकिन जानै पर्ने छैन । अहिले नै पनि जुन किसिमले व्यावसायिक खेती गर्न, पशुपालन गर्न र स्वयं रोजगार हुन शिक्षित युवाहरु जुर्मुराएका छन्— त्यसले पर्यटन सामाग्रीको आपूर्तिमा अझ सहजता थप्नेछ र रोजगारीका अनेकौं ढोकाहरु खुल्नेछन् भन्ने कुराको स्पष्ट तस्वीर सामुन्ने आइसकेको छ ।

पर्यटन प्रबद्र्धनलाई मात्र दृष्टिविन्दुमा राखेर योजना बनाउने र इमान्दारितापूर्वक त्यसलाई कार्यान्वयन गर्ने हो भने हाम्रो समृद्धि अब धेरै टाढा छैन ।

राजदूतहरुको काम के हो ?

विदेशी भूमिमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने औपचारिक सँस्था हो— राजदूत; जसले सधैं आफ्नो राष्ट्रको हित प्रबद्र्धन गर्दछ भन्ने मानिन्छ । यो स्वयंमा एक सँस्था भए पनि राजदूत हुने व्यक्तिको योग्यता, क्षमता, हैसियत, विशेषज्ञता, आफ्नो मुलुकको बारेमा रहेको ज्ञान, अभिव्यक्ति शिल्प, विदेशी भाषामाथिको पकड र राष्ट्रप्रेमको प्रगाढता जस्ता कुराहरुले ‘राजदूत’को कामलाई प्रभावित पारिरहेको हुन्छ । नेपालको पर्यटन उद्योगले अपेक्षाकृत गति लिन नसक्नुका पछाडि हाम्रा राजदूत भएर जाने अधिकांश मानिसहरुमा रहेका यस्तै क्षेत्रहरुसँग सम्बन्धित अकर्मण्यता र अयोग्यता नै प्रमुख कारण रहेको देखिन्छ ।

नेपाललाई संसारभरि चिनाउने दुइटा कुराहरु छन्— हिमाल र बुद्ध । अब हाम्रा राजदूतहरुको योग्यताको परीक्षण यहीँबाट र अत्यन्तै साधारण प्रश्नबाट सुरु गरौं । के हाम्रा राजदूतहरुले बुद्धलाई चिनेका छन् ? के कम्तीमा पनि पञ्चध्यानी बुद्धका नाम बताउन सक्छन् जसका बारेमा संसारलाई चासो छ र पाइलैपिच्छे यसैसँग जोडिएका जिज्ञासाहरु राखिन सक्छन् ? के उनीहरु नेपालमा रहेका कुनै १२/१५ वटा हिमालका नाम बताउन सक्छन् ? संसारका १४ ठूला हिमालहरुमध्ये ८ वटा नेपालमा छन् भन्ने कुरा तिनलाई थाहा छ ? ल ठीक छ, संख्या थाहा रहेछ रे, के ती हिमालको नाम पनि थाहा छ ? के तिनले कहिल्यै नाम्चेबजार वा अन्नपूर्ण बेसक्याम्पसम्म पुग्ने कष्ट गरेका छन् ? के ती खप्तड पुगेका छन् वा लोमान्थाङ वा रारातालबारे केही भन्न सक्छन् ? अहँ, धेरैजसोले सक्तैनन् । तिनले बोलेको अंग्रेजी शायद अंग्रेजहरुले नै बुझ्दैनन् । अनि तिनले के बताउँछन् नेपालबारे र के कुराबाट प्रभावित भएर नेपाल घुम्न आउँछन् त्यो देशका नागरिकहरु ?

सुन्दा अप्रिय लाग्न सक्छ— तर यस्तै निकम्मा र झोले राजदूतहरुका कारणले नै नेपालको पर्यटन उद्योगको प्रचार–प्रसार हुनै सकेको छैन । लोकसेवाको परीक्षा पास गरेर आएको करिअर डिप्लोम्याट रहेछ भने उसको ध्यान नै ड्रेसकोड, जुत्ताको टलक, प्रोटोकल, सिटप्लान, टकिङ पोइण्टको क्रमबद्धता र मिटिङहरुको औपचारिकता जस्ता पर्यटन प्रबद्र्धनका लागि कुनै साइनो नै नभएका र शतप्रतिशत निरर्थक कुरामा केन्द्रित रहेको हुन्छ । उसले कोटको कुन कुन टाँक लगाएको छ वा छैन, गोजीको फ्ल्याप भित्र परेको छ कि बाहिरै छ, कलम र रुमाल ठीक ठाउँमा छन् कि छैनन्, काँटा–चम्चा ठीक ढंगले समाउन जान्यो वा जानेन जस्ता वाहियात कुराले नेपालको पर्यटनसँग के सम्बन्ध राख्दछ ? इमान्दारीतापूर्वक भन्नुपर्दा उसले जागीर खान्छ, डलरमा तलव–भत्ता बुझ्छ, सिपालु ढंगले र बेरुजु नआउने गरी लेखापरीक्षण गराउँछ, परिवारलाई रातो पासपोर्टमा विदेश घुमाउँछ । तर मुलुकका लागि ‘माखो’ पनि मार्दैन । राजनीतिक पार्टीको झोला बोकेका भरमा राजदूत भएको रहेछ भने उसले आफूलाई पुरस्कृत भएको भन्ठान्छ, क्रान्तिमा लागी जेलनेल सहे वापत पाएको अवसर भन्ठान्छ, नेताले आफ्नो मूल्याङ्कन गरिदिएकोमा दङ्ग पर्छ, पार्टीका विदेशस्थित भ्रातृ संगठनहरुका कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी हुन्छ, शक्तिकेन्द्रको चाकडी गरिरहन्छ । राजदूतले गर्नु पर्ने काम के हो भन्ने थाहा भए पो केही गरोस् बरा ! र, अन्ततः उसले पनि देशका लागि माखो मार्दैन । ऊ पनि नेपाल नचिनीकनै जागीर खाएर फर्कन्छ ।

यसरी दुबै कित्ताबाट नियुक्त हुने राजदूतहरुबाट नेपाल ठगिएको हुन्छ । जो मान्छेले जीवनमा खुम्बुक्षेत्रमा पाइलै टेकेको छैन, त्यसले के भनेर नेपालका हिमालको प्रचार गर्छ ? जसलाई हिमालको ‘कपुरी क’ नै थाहा छैन, त्यसले कसरी पर्वतारोहीहरुलाई नेपाल आउन आकर्षित गर्न सक्छ ? र, हामीले बिर्सनै नहुने कुरो के छ भने पर्यटन क्षेत्र मध्येको पनि सबैभन्दा ठूलो सम्भावना रहेको हाम्रो मौलिक क्षेत्र र झण्डै झण्डै विश्वबजारमै हाम्रै एकाधिकार प्राप्त क्षेत्र भनेको पर्वतीय पर्यटन अर्थात् ‘माउण्टेन टुरिजम्’ नै हो । पर्वतारोही टोलीले त यति धेरै पैसा खर्च गर्छ कि एउटा सामान्य नेपालीले त्यसबारे कल्पना पनि गर्न सक्तैन । वर्षमा २/३ वटा मात्र पर्वतारोहण टिमको व्यवस्थापन गर्ने एजेन्सीले बाँकी समय पूरै सुतेरै बिताए पनि वर्षभरि कर्मचारी पाल्न र खान पुग्छ । यसको यस्तो प्रचुर सम्भावना देखेरै यही पंक्तिकारको सक्रियतामा “नेपालः फर अल सिजन” भन्ने कार्यक्रम ल्याइएको थियो । बाह्रै महिना पर्वतीय पर्यटक नेपाल आउन सहज होस् भनेर हिमालको सलामी दस्तुरलाई पनि ऋतुपिच्छे र आरोहीपिच्छे खण्डीकरण हुने व्यवस्था मिलाइएको थियो । पर्यटनको लाभ मध्य र सुदूर पश्चिमले पनि लिन सकुन् भनेर ती क्षेत्रका हिमालहरुमा सलामी दस्तुर (रोयल्टी) नलिने निर्णय गराइएको थियो नेपाल सरकारबाट । तर कुनै पनि राजदूतले यसको प्रचार–प्रसार गरेनन् र यो प्रयोगबाट पनि अपेक्षित उपलब्धि हासिल गर्न सकिएन । नेपालै नचिनेका नेपाली राजदूतले कसरी नेपालको पर्यटन प्रबद्र्धनमा योगदान पुर्याउलान् त ? यो त नेपाल सरकारले नै सोच्नु पर्ने कुरो होइन र ? हामी १० लाख पर्यटक भित्राउने भनेर रट लगाइरहेछौं वर्षौदेखि । तर कस्ता पर्यटक १० लाख ? भुटानले भित्राउने जस्ता दैनिक २०० डलर खर्च गर्नै पर्ने स्तरीय तर नियन्त्रित पर्यटक कि चिया र बिस्कुटका भरमा दिन बिताउँदै दैनिक १० डलर पनि खर्च नगर्ने हामीले भित्राएका जस्ता पर्यटक ? त्यही पनि कहिल्यै १० लाख पुगेको छैन । मिथ्याङ्कमा पुग्नु अर्कै कुरा हो । नेपाल आएका सबै विदेशी राजदूतहरु नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पुगेकै हुन्छन् । एकताका त ५ जना विदेशी राजदूत एकै दिन नाम्चेबजार पुगेको खबरले शहर तातेको थियो, पत्रिकाले समेत तस्वीरसहितको कभरेज दिएको थियो । तर के हाम्रा आफ्नै राजदूतहरुले
यसरी मुलुकलाई माया गरे रे, त्यो फलानो ठाउँसम्म पुग्न ‘पाउकष्ट’ गरे रे भनेको तपाईले सुन्नु भएको छ कहिल्यै ?

पर्यटन विकासको जिम्मेवारी लिएर बसेको अर्को निकाय छ— नेपाल पर्यटन बोर्ड । बोर्डले प्रबद्र्धनका केही काम त गर्छ तर त्यहाँ आउने ‘पदेन’ विज्ञहरुले आफू जुन देशमा पुग्न बाँकी छ— त्यहीँ जाने कार्यक्रम राख्छन् र आफैं भ्रमण गर्छन् । त्यसले युरोप अमेरिका कतै चिहाउनु जरुरी नै छैन । पशुपतिनाथ र मुक्तिनाथलाई ध्यानमा राखेर भारतकेन्द्रित कार्यक्रम र लुम्बिनी र हिमाललाई दृष्टिमा राखेर चीनकेन्द्रित पर्यटन प्रबद्र्धन योजना मात्र बनाएर त्यसैमा लागिपरे पुग्छ । तर बोर्डका पदाधिकारीले यी दुबै छिमेकीको भ्रमण गरिसकेका हुनाले उनीहरुको ध्यान त्यतातिर जाँदैन । अनि पर्यटक ल्याउन युरोप, अमेरिका, अफ्रिका, ल्याटिन अमेरिका पुग्छन् । यसको प्रभावकारिता कस्तो रह्यो भनेर कसैले मूल्याङ्कन गरिरहनै पर्दैन, तत् तत् देशको पर्यटक आगमनको तुलनात्मक तथ्याङ्क हेरे पुगिहाल्छ ।

पर्यटन र शिक्षा प्रणाली

हरेक देशले आफ्नो सँस्कृति, प्रकृति र राष्ट्रको विशिष्ट पहिचानमा गर्व गर्छ । र, त्यसै अनुरुपको पाठ्यक्रम तयार गरी ‘राष्ट्र’ चिन्ने सच्चा नागरिक तयार पार्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रा विश्वविद्यालयका भिसीहरुले मुश्किलैले १२//१५ वटा हिमालका नामसम्म भन्लान् कि ! त्यही पनि माछापुछ्रेबाट नाम सुरु गरेर बडो मुश्किलले । ५/७ जना बुद्धका नाम त तिनले लेलान् भन्ने मलाई अहिले पनि विश्वास छैन । हाम्रो कुनै तहको पाठ्यक्रममा पनि हिमाल र बुद्धका बारेमा पढाइ हुँदैन । जुन देशको पाठ्यक्रम विकास केन्द्र नै केही बिकाउ व्यक्तिहरुको बहकाउमा लागेर कहिले नेपाली भाषालाई कुरुप पारेर बिगार्ने त कहिले नेपाली भाषै हटाउने जस्ता प्रायोजित र प्रिपेड कर्महरु मात्र गरेर विवादमा आइरहन्छ; त्यसलाई मुलुकका पहिचान बोकेका हिमाल र बुद्धबारे के मतलब ? अनि जिम्मेवार ठाउँबाट गरिएका यस्तै यस्तै कुकर्महरुको समष्टिले देश नचिनेका विद्यार्थीहरु, मुलुकबारे बेखबर शिक्षकहरु, आफ्नो देशको गौरव र विशेषताबारे थाहै नपाएका नेताहरु र पुरानो टेप रेकर्डरलाई रिवाइण्ड गर्दै बजाउने प्राध्यापकहरु जन्मन पुग्छन् । अनि यस्तै कथित बुद्धिजीवी मान्छेहरु पर्यटन बोर्डमा पुग्छन् । यस्तै भुइँफुट्टा मान्छेहरु शिक्षामन्त्री हुन्छन् । जसलाई आफ्नो देशको कुनै पनि विशेषताका बारेमा फुट्टीकौडी केही थाहा छैन, त्यस्तै मान्छेहरु विभिन्न कोटामा परेर राजदूत हुन्छन् । त्यस्तै मान्छेहरु राष्ट्रसंघमा जान्छन् । अनि कसरी हुन्छ देशको प्रचार–प्रसार र कसरी रहन्छ देशको नाम ? नामै नरहेको देशमा के होला र हेरुँला भनेर आउँछन् त पर्यटकहरु ?

त्यसैले यो बिग्रिसकेको कोर्सलाई सच्याउन सर्वप्रथम नेपालको प्राकृतिक, सामाजिक र साँस्कृतिक बनौटका बारेमा राम्ररी जानकारी राख्ने र पर्यटक भित्राउन प्रत्यक्ष योगदान पुर्याउन सक्ने मान्छेलाई स्पष्ट कार्ययोजनाका आधारमा राजदूत बनाइनु पर्छ । विद्यालय र विश्वविद्यालय स्तरका पाठ्यक्रमहरुमा नेपालका हिमाल र बुद्धबारे पढाइ हुने व्यवस्था मिलाउनु पर्छ । कर्मचारीहरुलाई अनिवार्य आन्तरिक पर्यटनको व्यवस्था राखिनु पर्छ । सरसफाइ र पूर्वाधारको विकास, आतिथ्य उद्योगको विकासमा सरकारी उत्प्रेरणा र सामुदायिक जागरणका कामहरुलाई सरकारी संरक्षणको व्यवस्था हुनुपर्छ । पर्यटनका लागि एउटै तर स्पष्ट छातानीति हुनुपर्छ । हाम्रो पर्यटनको लक्ष्य, उद्देश्य र गन्तव्य के ? भनेर प्रष्ट हुनुपर्छ र सबैले त्यहीँभित्र बसेर काम गर्ने परिपाटी बसाउनु पर्छ । कतै आरक्ष, कतै निकुञ्ज र कतै सेना, कतै प्रहरी, कतै स्थानीय जनता र कतै वनका कारणले पर्यटन उद्योगलाई निरुत्साहित पार्ने कार्य गर्नु हँदैन । बुझ्नै पर्ने मूल कुरो के छ भने— पर्यटनबाट मात्रै हाम्रो समृद्धि सहज र संभव छ किनभने यसरी पैसा बाँड्दै हिँड्ने काम पर्यटक बाहेक अरु कसैले पनि गर्दैन । तर नेपाल घुम्न जाऊ भनेर यता पर्यटक पठाइदिने कसले ? त्यसैले राजदूतको कार्य सम्पादन स्तरको मूल्याङ्कन गर्दा पर्यटकको आगमनमा कति प्रतिशतले बृद्धि भएको छ भन्ने कुरालाई महत्वपूर्ण मापदण्डको रुपमा लिने व्यवस्था तत्कालैदेखि लागू गर्नुपर्छ । राजदूतले जागीर मात्र खाने होइन, देशको समृद्धिका लागि पनि ‘राजदूत’ शब्दको गरिमा अनुसार नै काम गर्नुपर्छ र सरकारले पनि त्यस्तै सक्षम मान्छेहरुलाई मात्र छानेर यो जिम्मेवारी दिनुपर्छ ।
समृद्धि सम्भव छ र सुरुको दुई वर्षमै लक्षण पनि देखिन थाल्नेछ— यदि ‘राजदूत’ नामको एउटै पदमा मात्रै गतिलो मान्छे पर्यो भने पनि ।

आज खुम्बुक्षेत्रका अधिकांश मान्छेको घर काठमाडौंमा छ, छोराछोरी सबै युरोप अमेरिकामा छन् । तर पनि ‘बास’ चाँहि उतै छ किनकि त्यहाँ पैसा फल्ने बोट छ । त्यही लटरम्म पैसा फल्ने बोटको नाम हो— पर्यटन । नेपालका सयौं ठाउँहरु ‘नाम्चे’ हुन सक्छन्— सयौं गाउँहरु ‘सिरुवारी’ हुन सक्छन्— यदि हामीले पनि कुरोको चुरो बुझेर काम गर्न सुरु गरेको खण्डमा । त्यसैले हाम्रो धरातलीय यथार्थ अनुरुपको समृद्धिलाई चक्रीय रुपमा परिभाषित गर्नु पर्दा “राजदूतको छनौट—ज्ञानमा आधारित सक्रियता—पाठ्यक्रम परिमार्जन—पर्यटनमैत्री संरचना—नेपालको समृद्धि” को चक्रको रुपमा सूत्रबद्ध गर्न सकिन्छ ।