हाम्रो लिम्बुवानमा पछिल्लो समयमा अनेकौं प्रतिस्पर्धाहरु भएको छ । केही साँस्कृतिक, केही संस्कारिक,केही बौद्धिक,केही तागतिक, केही धार्मिक आदि। तर मुख्य प्रतिस्पर्धा चाहिँ आफ्नैहरु संग भए।जो नहुनु पर्ने थियो।जति पनि अगाडीको पुस्ताहरुमा प्रतिस्पर्धा भएको थियो, त्यो उल्लेखनीय र ऐतिहासिक भयो । तर पछिल्लो समयमा भएको चाहिँ बिवादित र दु:खद भो । मत्लब अगाडी दमनकारी राज्यसत्तासंग भएको थियो भने पछिल्लो समयमा आफ्नै संग भयो । पछिल्लो समयमा लिम्बुवानमा दारासिङ, किङ्कङ, फाईटर आदि बलवान् साहसिक व्यक्तिहरु नजन्मेका हैनन् । उहाँहरुले धेरै प्रतिस्पर्धा गरे तर आफ्नैहरु संग मात्र गरेको देखिन्छ । उहाँहरुको समयमा लिम्बुवानको प्रत्येक मेलामा चिट्ठी लेखेर फौदारी खेल्न निम्तो पठाईन्थ्यो । मेला जाने बाटो भरी रुखका बलियो हाँगाहरु लाछेर हातैले दाम्लो जस्तै बाटेर बाटोमा राखिन्थ्यो । यसको मत्लब पछाडी आउदै गर्नेहरुले देखेमा यो मेलामा पहलवान मान्छे जादैछ भन्ने बुझ्नु पर्थ्यो । र पछाडी आउने पनि आफू त्यो भन्दा केही कम नभएको दम्भ देखाउन्थ्यो । अनि आफ्नै सामुदाय बिचको कहाली लाग्दो फौदारी हुन्थ्यो । यो एक तागतिक प्रतिस्पर्धा हो भन्दा अत्युक्ति नहोला ।
र बौद्धिक प्रतिस्पर्धा दमनकारीसंग गर्नको लागि सिरिजङ्गा, फाल्गुनन्द, इमानसिङ, रनधोज, लालसोर जस्ताहरु पनि नजन्मेको हैन । तर उहाँहरुलाई बिवादमा ल्याउन हामी अहिलेका पुस्ताहरु प्रतिस्पर्धा गरिरहेका छौँ । तेति मात्र नभएर अहिलेका पुस्ताहरुको अभिभावक बैरागी काईलालाई समेत बिवादमा ल्याउने प्रयास गर्छौं । यसमा हामी जानेर या नजानेर यो सब गर्न खोज्दैछौं । ठिक छ सिर्जनात्मक प्रतिस्पर्धा हो भने, सिर्जनात्मक बिवाद हो भने जो कसैले स्वत स्विकार्नु पर्छ । तर हामी कति नजानेर नकारात्मक टिप्पणीमा लागि परेका छौँ ।
बिषय प्रवेश –
अहिले दुनियाँ डिजिटल युगमा प्रवेश गरेको छ । हामी मानिसहरुको अनेकौं क्रियाकलापहरु डिजिटल भएको छ । यो समयमा सामाजिक संजाललाई भरपुर सदुपयोग गरेर केही राम्रा नराम्रा धारणाहरु प्रस्तुत गर्दै आएका छौँ । यहीँ मेसोमा हालै मौसम इम्बुङ द्वारा याक्थुङ गितमा टिकटक प्रतियोगिता भयो/हुदैछ । अर्को याक्थुङ कल्चरल ग्रुप बाट बिश्वब्यापी अन्लाईन पालाम प्रतियोगिता हुदैछ । यो दुईवटै अभियानलाई हामीले उच्च सम्मान गरेका छौँ । हामीले गर्वका साथ अपार सफल्ता भएको महसुस गरेका छौँ । यी दुवै अभियानहरु हाम्रो सामुदायको लागि ऐतिहासिक भएको छ । र आउदो दिनहरुमा पनि यस्ता साँस्कृतिक जगेर्नाको अभियान हामीले अपेक्षा राखेका छौं । र यहीँ समयको एरिफेरिमा हामीले “याक्थुङ हाक्पारे साम्लो सजुम्” गठन गरेर बिश्वब्यापी अन्लाईन हाक्पारे प्रतियोगिता गर्न लाग्यौं । यो गर्दै गर्दा कसैलाई लाग्ला अरुले गरेको देखेर आह्रीसले गर्दैछन् भनेर । तर हामी बिल्कुल आयोजक आयोजक बिचको प्रतिस्पर्धामा गएका छैनौं । हामी दाह्रासिङ्को प्रतिस्पर्धामा लागेका हैनौं । मैले माथी नै भनी सके सिर्जनात्मक प्रतिस्पर्धा हुनुपर्छ हामीमा । आफ्नो क्षमताले भ्याए सम्म जो कोहीले पनि सिर्जनात्मक काम र भाषा, लिपि,संस्कार, साँस्कृतिक बचाउने अभियानमा लाग्नुपर्छ । हामीले कुनै एकको मुख मात्र ताकेर बस्न हुन्न भन्ने हाम्रो मान्यता हो । तेसैले कुनै आयोजकहरुले अन्यथा नसोचिदिनु बिनम्र अनुरोध गर्दछु । साथै हामी प्रत्येक अभियानहरुमा साथ र सहकार्य गर्दै हाम्रो सामुदायको लागि केही ऐतिहासिक कामहरु गरौं भन्ने हाम्रो आह्वान छ ।
अन्त्यमा सके सम्म हामीले हाक्पारेको संरक्षण र संबर्धन गर्दै युवापुस्ताहरुमा पनि हाक्पारेको मोह जगाउने हाम्रो उद्देश्य हो । भलै ! हामी हाक्पारेको जड सम्म पुग्न नसकुँला तर पनि हाक्पारेको मौलिकता र मर्म बिपरित कुनै काम गर्ने छैनौं। यसको लागि सम्पुर्ण बिज्ञ र सरोकारवालाहरुसंग सहयोगको अपेक्षा राखेका छौँ । यहाँहरुको सल्लाह सुझाव साथ सहयोगलाई सदैव हामीले आत्मासाथ गर्नेछौं ।
धन्यवाद ।
संयोजक
इक्साहाङ चेम्जोङ
याक्थुङ हाक्पारे साम्लो सजुम्