हाक्पारे साम्लोः एक छोटो चर्चामा डा. चैतन्य सुब्बाले चर्चा गरे अनुसार हाक्पारे साम्लोको अनेक प्रकारका हुन्छन् जस्तै:

१) नेत्तिफुङ्वा हाक्पारे साम्लो: जीवनको मरणशीलता, क्षणभङ्गरताका वावजूद यसलाई सार्थक, सरस बनाइराख्ने प्रतिष्ठा (चोःत्लुङ), प्रेम (मिक्की फुङवा÷मिःम), सम्मान (नाहाङमा), सद्भाव (साङ्से निङ्वा), पारस्परिकता (आभाम्लुङ), करुणा (यङ्वा), सद्चेतना (सेसेनिङ्वा) आदि जीवनका विविध पक्ष सम्बन्धी विवेचना गरिने हाक्पारे साम्लोलाई नेत्तिफुङ्वा हाक्पारे साम्लो भनिन्छ ।
प्रेम–गीत (मिक्की फुङ्वा साम्लो) गाउने गायिकालाई साम्लोदिवाहाङ्रमा र गायकलाई साम्लो दिवाहाङबा र प्रेम वार्ता अघि बढाउने केटीलाई पाःन्लोक खाङ्लाइङ्मा र त्यस्तो केटालाई पाःन्लोक खाङ्लाइङ्बा भनिन्छ । मुन्धुममा जीवनलाई फूल (नेत्तिफुङ) को रुपमा चर्चा गरिन्छ । फूल, परी र प्रेमभाव सम्बन्धी हाक्पारे साम्लो साह्रै विस्तीर्ण छ ।

२) फुङवा चाङमा हाक्पारे साम्लो: तङसिङ तक्मा मुन्धुममा फुङ्वा चाङमा (फूल जगाउने) खण्ड आउंछ जसमा एउटा चरणमा पुगे पछि फुङवा चाङमा हाक्पारे साम्लो गाउनु पर्दछ । यस मुन्धुममा तरुरी–तन्नेरीहरुको प्रतिष्ठा–स्थल एवं सिद्धिस्थल “चोःत्लुङ” वरिपरि खेल–मैदान, ठाउँठाउँमा तान बुन्ने ठाउँ सहितको बीचमा एउटा ठूलो चप्लेटी ढुंगा भएको सुन्दर फूलवारीको रुपमा वर्णित छ र त्यस चप्लेटी ढुंगा माथि बसेर तरुनी तन्नेरीहरु हाँस–खेल गर्छन, गीत गाउँछन् र माया पीर्ति लाउछन् । एक प्रकारले जीवन दर्शन प्रतिबिम्बित हुने फुङवा चाङमा मुन्धुममा अनेक प्रकारका, अनेक रंगका र अनेक बासनाका फूलहरु, सुन्दर फूलबारी, तिनको हेरचाह गर्ने सुन्दरी मालिनीहरु (परिहरु) र तिनमा लोभिने दम्भी राजाहरुको असफल प्रयासको रोचक चित्रण छन् । फुङवा चाङमा हाक्पारे साम्लोमा पनि जीवनको प्रतीक फूल (नेत्तिफुङ) कै गीत गाइन्छ र जीवनको सार्थकता, सरसता र दीर्घजीविताका लागि जीवन फूल जगमग बनाइराख्ने आह्वान गरिन्छ ।

३)मेक्खिम् फङवाना साम्लो: विहेमा गाइने हाक्पारे साम्लोलाई मेक्खिम् फङवाना साम्लो भनिन्छ । यो गीत गाउदा बेहुला बेहुलीको अगाडि फुलको कलस सजाएर राखिन्छ । रातभरिजसो गाइने यस गीतमा विवाह संस्कार जन्मनु पूर्वका तरुनी–तन्नेरीको यौन जीवन, सन्तानोत्पादन र सामाजिक व्यवस्थाको चर्चा गरिनुका साथै केटा–केटीको खोजी र रोजाइ, आमा–बाबुको चाहना, समुदायको सम्मति र सहयोग र विवाह संस्कारको विकास सम्बन्धी मार्मिक र रोचक चित्रण गर्ने गरिन्छ र आखिरमा गीतबाट नै दुलहा–दुलहीलाई आशिर्वाद दिइन्छ (हेर्नुहोस् रणध्वज श्रेङ चोङबाङको याक्थुङ मेक्खिम फुङनाम साम्लो, २०५०) । गायक–गायिका तथा अन्य सहभागीहरुलाई समय समयमा रक्सी मासु दिएर ताजा बनाइन्छ ।

४) साप्पोक–चोमेन् हाक्पारे साम्लो: यसै गरी गर्भ–पूजा (साप्पोक चोमेन) गर्दा उत्सवमय गर्भपूजा सकिए पछि पुजारी फेदाङमा, साम्बा र अन्य भद्रजनले हाक्पारे गाउने गर्दछन् । यस्तो गीतबाट गर्भस्थ शिशुको सुस्वास्थ्य, विर्विध्नतापूर्वक धर्तीमा आगमन एंव दीर्घ जीवन र जन्मदिन लागेको आमाको सुस्वास्थ्य तथा बिना व्यवधान जायजन्मको कामना गरिन्छ । यस्तो गीतलाई साप्पोक–चोमेन् हाक्पारे साम्लो भनिन्छ ।

५) सागपलिङबा हाकपारे साम्लो: त्यस्तै पितृदेव थेबा साम्माङको उत्सवपूर्ण पूजा पछि पनि हाक्पारे गीत गाइने गरिन्छ र त्यस्तो गीतलाई सागपलिङबा साम्लो भनिन्छ । पूजा–आजा समाप्ति पछि गाइने गीतका गायक–गायिकाहरुलाई सुंगुरको मासु र रक्सी चढाएर सम्मान गर्ने गरिन्छ ।

६) चेल्लेक्वा हाक्पारे साम्लो: बिहे, मेला–हाट, विशेष जमघटमा पनि ठट्टा रमाइलो गर्दै हाक्पारे गाउने चलन छ । यस्तो ठट््यौली हाक्पारे गीतलाई चेल्लेक्वा हाक्पारे साम्लो भनिन्छ ।

७)इनुफाताप् हाकपारे साम्लो: जीवन कालका विभिन्न अवसरहरुमा गाइने हाक्पारे गीत बाहेक मृत्यु संस्कारको अन्तिम संस्कार “खाउमा” को सम्पादन पछि आमन्त्रित पाहुनहरुको सहभागिता सहित हाक्पारे साम्लो गाइन्छ । यस्तो हाक्पारे गीतलाई इनुफाताप् साम्लो भनिन्छ । मुन्धुम अनुसार प्राचीन कालमा तेत्लारा लाभियोङमा (इरेरे इधुक्नामा) को अन्तिम मृत्यु संस्कार खाउमा पछि नावारा फियाम्लिङ्बा र नावारा फियाम् लिङमाले इनु फाताप् हाक्पारे साम्लो गाउने परम्परा बसाले । आज पनि अन्तिम मृत्यु संस्कार पछि यस्तो गीत रातभरि गाउने प्रचलन छ । हाक्पारे साम्लो गाइने सबै अवसरमा गायक–गायिकाहरुलाई सुंगुरको मासु र रक्सी चढाएर सम्मान गर्ने परम्परा आज पनि निर्वाह गर्ने गरिन्छ ।
हाक्पारे साम्लोः ज्ञान प्रसार एवं संचारण माध्यम
हाक्पारे साम्लोमा ठट्टा, रमाइलो, व्यंग, प्रेम, रोमान्सदेखि लिएर सुख–दुःख, असल–खराब, धर्म–पाप, थिति–रीति, देवी–देउता लगायत अनेक ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक तथा दार्शनिक विषयवस्तुहरु निरुपण गरिने हुँदा यो गीत ज्ञानको भण्डार पनि हो । यो मनोरञ्जनको साधन त हुँदै हो, त्यस बाहेक यो ज्ञान उत्पादन वा निर्माण, सञ्चय र प्रसारको विधि, प्रक्रिया र माध्यम पनि हो । हाक्पारे साम्लोको परम्पराले के देखाएको छ भने यो अन्तर–पुस्ता ज्ञान सञ्चारणको प्रभावकारी विशिष्ट प्रक्रिया र माध्यम हो । आजको जस्तो औपचारिक शैक्षिक संस्था नभएको युगमा यस्तो सहभागितामूलक, रोमाञ्चकारी गीतको माध्यमबाट शिक्षा–दीक्षा दिने, उपदेश दिने, मार्ग निर्देशन गर्ने एवं विभिन्न क्षेत्रका ज्ञान सञ्चारण गर्ने विलक्षण दुरगामी प्रभावको कार्य गरिन्थ्यो ।
केवा फुङबा र मेवारा फुङमाले स्थापित गरेको साम्लो (गीत) परम्परा एउटा सांस्कृतिक तथा शैक्षिक संस्थाकै रुपमा स्थापित एवं विकसित भएर आएको छ । हरेक पुस्ताका अवतरित केवा फुङबा र मेवारा फुङमाहरुले साम्लो परम्परालाई समृद्ध बनाइआएका छन् । अनेक कारणले क्षयीकरण हुँदै गए पनि हाक्पारे साम्लो अझै सुदूर लिम्बुवान क्षेत्रमा मनोरञ्जनका साथै ज्ञान भण्डारण, उत्पादन, निर्माण, प्रसारण एवं सञ्चारणको रोचक, रचनात्मक र मार्मिक विधि, प्रक्रिया र माध्यमको रुपमा जीवन्त छ ।